शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • लागूऔषध कारोबारीको अड्डामा प्रहरीको छापा : हतियार लुट्ने ८ जना पक्राउ

लागूऔषध कारोबारीको अड्डामा प्रहरीको छापा : हतियार लुट्ने ८ जना पक्राउ

  • आइतवार, अशोज २६, २०८२
लागूऔषध कारोबारीको अड्डामा प्रहरीको छापा : हतियार लुट्ने ८ जना पक्राउ

झापामा प्रहरीको हतियार लुट्ने र हिरासतबाट भागेका दुईसहित ८ जना लागूऔषधसहित पक्राउ गरेको छ । शनिबार साझ दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ हट नं. ३५३ मा छापा मारेको प्रहरीले जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने र इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट भागेका थुनुवासहित आठ जनालाई ७ ग्राम ८०० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो।

लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेकाे थियो । घरधनी दमक–३ वेलडाँगी भुटानी शरणार्थी शिविरका साजन थापा (२७), इलाम चुलाचुली–३ का दिपेश तामाङ (३२) र सनम राई (३२), दमक–३ का आदित्य लिम्बू (१८), पविन विश्वकर्मा (१९) र सुचन दर्जी (२५), वेलडाँगी भुटानी शिविरका बिजय माझी (२५) र मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेकामध्ये आदित्य लिम्बू ‘जेनजी आन्दोलन’का क्रममा २४ भदौमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय झापका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट फरार रहेका व्यक्ति हुन्। त्यसबेला उनी लागूऔषध मुद्दाकाे अनुसन्धानका लागि हिरासतमा थिए ।

घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।बरामद लागुऔषध र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार