
बाजुरा—बाजुराको बडीमालिका नगरपालिकाका सीमान्तकृत बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ । बिहीवार युरोपियन युनियन र युनिसेफको आर्थिक सहयोग, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल र निड्स नेपालको सहकार्य तथा नगरपालिकासँगको समन्वयमा आर्थिक सहयोग गरिएको हो ।
बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले सबै वडाबाट छनौट गरेर १८ जना विपन्न तथा असहाय बालबालिकाहरुलाई नगद प्रदान गरिएको बताएकी छन् ।
त्यस्तै, निड्स नेपाल जिल्ला फिल्ड अफिसर रामदेवि कटुवालले पछाडि परेका सीमान्तकृत बालबालिकालाई बाल संरक्षण गतिविधि अन्तर्गत आर्थिक सहयोग गरेको जानकारी दिइन् । उनले विषेश गरी उनीहरुको शिक्षाका सानो सहयोग होस् भन्ने उदेश्यका साथ आर्थिक सहयोग गरिएको बताइन् । त्यस्तै ९ वटै वडाबाट २/२ गरी १८ जना बालबालिकाहरुलाई प्रतिव्यक्ति ५ हजारका दरले नगद हस्तान्तरण गरिएको बताएकी छन् । उनकाअनुसार ग र घ अपांगता श्रेणीमा भएका, आमाबुवा नभएका, जटिल स्वास्थ्य समस्या, बेसहारा आदि मापदण्डका आधारमा छनौट गरिएको थियो ।
आज पालिकामा एक कार्यक्रमविच बालबालिकाका अभिभावकहरुलाई बोलाएर नगर उपप्रमुख नन्दा थापा, प्रमुख प्रशासकीय अधिकृत पदम माझी, वडा अध्यक्ष, कर्मचारी लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ ।
