
टेक बहादुर बुढा/ बाजुरा– संघिय मन्त्रालयबाट बाजुराका स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरु हालसम्म पनि आएका छैनन् । मन्त्रालयले सरुवा गरेर पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको करिब एक महिनासम्म पनि आइपुगेका छैनन् ।
भदौ दोस्रो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाका ६ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । जसमा मन्त्रालयले बडीमालिका नगरपालिकामा लोकराज जोशी, त्रिवेणी नगरपालिकामा सत्यराज जोशी, बुढीनन्दा नगरपालिकामा भोजराज भट्ट, खप्तड छेडेदह गाउँपालिकामा घनश्याम अर्याल, जगन्नाथ गाउँपालिकामा दिलिप सुवेदी र गौमुल गाउँपालिकामा नविन पोख्रेललाई खटाएको थियो । मन्त्रालयले खटाएका कर्मचारी बाजुरामा आईपुगेका छैनन् । कतिपय प्रमुख प्रशासकिय अधिकृत स्थानिय तहको सर्म्पकमा नरहेको पाईएको छ । जिल्लाको बुढीगंगा नगरपालिका, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकामा भने यस अघि नै दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न खटाउन सक्ने छ भन्ने उल्लेख छ । नगरपालिकाको हकमा उपसचिव प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकाको हकमा अधिकृत स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने प्रावधान रहेको छ ।
मन्त्रालयले दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाएसँगै यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्ध भएको थियो । तर मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएका कर्मचारीहरु नआएपछि पालिकाले निमित्तैबाट कामकाज सञ्चालन गर्न थालेका छन् ।
मन्त्रालयले जिम्मेवारीमा खटाएको महिनौ बितिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर नभएपछि स्थानीय तहमा आर्थिक कामकाज पूर्ण रुपमा ठप्प छन् । तर केही पालिकामा भने पुरानै निमित्तलाई मन्त्रालयले अधिकार दिएर पुनः कामकाज सुरु गरिसकेको जनाएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर नभएपछि फेरि निमित्तलाई आर्थिक तथा प्रशासनिक अधिकार दिएर कामकाज सुरु गर्न थालेको बताइएको छ । खटाएका प्रमुख प्रशासकीय अधिकृतहरु नआएपछि स्थानीय तहहरु फेरि पुरानै अवस्था र कार्यशैलीमा नै सञ्चालनहुन थालेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तका भरमा चलिरहेका कुनै न कुनै पालिकामा बर्षेनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएपनि कोही आउँदैनन् त कोही हाजिर भएको केही दिनमै सरुवा मागेर जान्छन् । हुनत मन्त्रालयले यसअघि पनि मन्त्रालयले पटकपटक स्थानीय तहमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत नपठाएको होइन, खटाए पनि नआउने समस्या व्याप्त छ । दुर्गम क्षेत्रमा काम गर्न नआउने सरकारी कर्मचारीको दूषित मानसिकताको सिकार स्थानीय तह, त्यहाँको विकास निर्माण, दैनिक प्रशासन सञ्चालन, सुशासन र सेवा प्रवाहसम्ममा परेको देखिन्छ ।
दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहहरुमा सेवा प्रवाह, विकास निर्माणसँगै कार्यसम्पादन व्यवस्थित नभएर समस्या भइरहेको पालिकाकै कर्मचारीहरु बताउँछन् । स्थानीय तहमा चर्किने गरेको राजनीतिक विवाद, अनुचित कामका लागि स्वार्थ समूहबाट आउने दबाब लगायतका कारण पनि स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृतहरु टिकाउन समस्या पर्ने गरेको कर्मचारीहरु बताउँछन् ।
स्थानीय तहहरुले रोजी–रोजी प्रमुख प्रशासकीय अधिकृत लैजाने र अनुकूलका व्यक्ति नपाए गाउँपालिकाका कनिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिलाउने क्रम समेत बढ्दै आएको पाइएको छ । जिल्लाका स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरवन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाए पनि दुर्गममा कर्मचारी आउँन नमान्दा निमित्तका भरमा चल्दै आएका थिए । केही पालिकामा सरुवा भएर आएपनि छोटो समयमा अन्त सरुवा मागेर जाने प्रवृत्ति बढ्दो छ ।
त्यस्तै, यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता काली प्रसाद पराजुलीले सरुवा भएका कर्मचारीहरुलाई तत्काल सम्बन्धित स्थानीय तहमा हाजिर हुन परिपत्र गरिएको बताएका छन् । उनले केही स्थानीय तहहरुले हालसम्म पनि प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको भन्दै गुनासो गर्न थालेपछि मन्त्रालयले तत्काल ती कर्मचारीहरुलाई रमाना दिन पत्राचार गरेको बताए ।
