
बाजुरा—बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ बस्ने २३ बर्षका रमेश बुढाले कालिकोटको पलाता गाउँपालिका बस्ने २१ बर्षकी प्रिया बम (बुढा) सँग गत बैशाखमा भागि बिहे गरे । लामो प्रेम सम्बन्ध पछि उनीहरु गाउँबाट भागेर बिहे गरे । दुवै जना घरबाट भागेर भारत पुगे ।
भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा बसेर उनीहरुले ज्याला मजदुरीको काम गरिरहेका थिए । पैसा कमाएर मंसिर वा माघमा बाजुराको गाउँमा आएर धुमधाम बिहे गर्ने योजना थियो । दुवै जना काम गर्ने भएकाले कमाइ पनि राम्रै थियो । अचानक साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक बाढीपहिरो आयो । र दुवै जना पहिरोमा पुरिएर बेपत्ता भए ।
बिहे गरेको ४ महिना मात्र पुगेको थियो । पैसा कमाएर एकातिर धुमाधाम बिहे गर्ने योजना थियो, अर्कोतिर बृद्ध बुवा आमाको उपचार गर्ने योजना थियो, तर दैबको लिला दुवै जना सदाका लागि अस्ताए, स्थानिय पन्देवा बुढाले बताईन् । ठुलै सपना र योजना बोकेर काम गर्न भारत गए, उतै सदाका लागि बिदा भए पन्देवाले थपिन् ।
त्यो दिन धेरै पानी परेको थियो, काम नगएर कोठामै बसेका थिए । एकाएक बाढीसँगै आएको पहिरोले तिनीहरुलाई पुरेर बेपत्ता बनाएको स्थानिय जनक बुढाले बताए । अहिलेसम्म उनीहरुको शव फेला परेकाे छैन् । अब पाइने सम्भावना पनि न्युन रहेको छ ।
रमेशका बुवा मिमे बुढा, आमा पिउली बुढा दुबै जना दमको बिरामी छन् । छोरा बुहारी कमाएर पैसा पठाउला अनि उपचार गरौला भन्ने आसमा रहेका निराशामा परिणत भएका छन् । छोरा अब फिर्ता आउने आश छैन्, एकातिर बिरामी अर्कोतिर छोरा बुहारीको मृत्युले उनीहरुमा पिडा माथि पिडा थपिएको छ ।
उक्त बाढीपहिरोमा परी बाजुराको सोही पालिकाका २४ जना घाइते भएका छन् । घाइते हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका १ का ३६ बर्षका प्रकाश बुढा, २४ बर्षकी पछना बुढा, २७ बर्षका धन बुढा, २८ बर्षका महेन्द्र महतारा, जयन्द्र बुढा छन् । त्यस्तै वडा नम्बर २ का ४९ बर्षका पसे बुढा, २९ बर्षका दिनेश बुढा, ४२ बर्षका मान बहादुर बुढा, ३२ बर्षका रजबहादुर महतारा, जनेश बुढा, पछी महतारा, बिर बुढा, बर्षनी बुढा घाइते भएका छन् । त्यसैगरी, ७ महिने बालिका अपसरा बुढा, ३ बर्षका बादल बुढा, २९ बर्षका मादप महतारा, विपना बुढा, ३४ बर्षका दिपेन्द्र महतारा, ३० बर्षका मान बहादुर बुढा, विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा घाइते भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायालमे भने पालिका २ जनाले ज्यान गुमाए । धेरै जना घाइते छन् । राहत, घाइतेको उपचार र क्षतिपुर्तिका लागि नेपाल सरकार हुदै भारत सरकार सँग पहल भइरहेको बताएका छन् । काठमाडौ आएर परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय धाइरहेको अध्यक्ष रोकायाले भने ।
