
बाजुरा—बाजुराको गौमुल गाउँपालिकाले दोहोरो सुविधा लिनेको लगत कट्टा गर्न सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अध्यावधिकका लागि टोलटोलमा गएर अभियान चलाएको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अध्यावधिक गर्न तथा कागजात नपुगेका र लागत कट्टा नगरेका नागरिकको सेवाका लागि टोलटोलमै पुगेर अध्यावधिक र नविकरण अभियान संचालन गरेको हो ।
दुर्गम गाउँ र आवतजावतमा समस्या भएकोले गाउँपालिकाले दोहोरो सुविधा लिनेलाई सामाजिक सुरक्षाबाट लगत कट्टा गर्नुका साथै लाभग्राहीको सहजताका लागि गाउँमै पुगेर लाभग्राही अध्यावधीक तथा नविकरण गरेको गौमुल गाउँपालिका अध्यक्ष हरी रोकायाले बताएका छन् । गाउँपालिका सबै वडाका टोल टोलमा कर्मचारी परिचालन गरी अध्यावधीक गर्ने कामको अन्तिम चरणमा पुगेको अध्यक्ष रोकायाले बताए । वृद्ववृद्वा, एकल महिला बालबालिका तथा अपाङ्गहरुलाई पालिकामा पुग्न कठिन हुने र वडा कार्यालयमा पनि असहज हुने भन्दै लाभग्राहीको घर घरमै पुगेर तथ्याकं अध्यावधिक गर्ने अभियान संचालन गरिएको उनले बताए ।
गाउँपालिकाबाट विगतमा सामाजिक सुरक्षा भत्तामा समेटिएकाहरुका नाम र उमेर मात्र रहेकोले उनीहरुका नागरिकता राष्ट्रिय परिचय पत्र लगायत आवश्यक कागजात पजिंकरण बिभागको नियम अनुसार संकलन गर्नुपर्ने भएकोले असाय अशक्तहरुले गाउँपालिका र वडा कार्यालय पुग्न कठिनाई हुने भएकोले कर्मचारी गाउँमै पठाएर अध्यावधिक गरिएको गौमुल गाउँपालिका पञ्जिकरण शाखाका प्रमुख बहादुरसिहं बोहराले बताए ।
कागजात नपुगेकाहरुका कागजात सङ्कलन र विवरण अध्यावधिक गर्न थालेका छौँ, भत्ता लिने लाभग्राहीलाई नविकरणका लागि अनिवार्य सहभागी गराउन सो अभियान संचालन गरेको उनले भने । गाउँपालिकाले एक बर्षमा करिव ४ करोड भन्दा बढी रकम सामाजिक सुरक्षा कोषमा खर्च गर्दै आएको छ । राज्यले दिने सेवा सुविधाबाट कोही नछुटुन र कोही नदोहोरीउन भन्ने उदेश्यका साथ सो अभियान संचालन गरिएको उनले बताए ।
यो अभियानले लामो समयदेखि भत्ता प्राप्त गरिरहेकाको विवरण सही आउने र गलत तवरले सेवा लिनेहरुको लगत कट्टा गर्नम सहयोग पुग्ने उनले बताए । गलत कागजात वा दोहोरो सेवा लिनेहरु आउनेछैनन्’’, उनले भने, ‘‘ यसअघिका कतिपय लगतहरुमा तीन पुस्ते कायम नगरिएको, दोहोरो दर्ता भएका, मृत्यु पश्चात लगत कट्टा नभएका लगायतका समस्यालाई समाधान गर्न यो अभियानले सहयोग पुगेको छ ।’’
लाभग्राहीलाई आवतजावतमा सहज होस् भनि गाउँपालिकाले गाउँ गाउँमा कर्मचारीसहित शिविर गरिरहेका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद भट्टले बताए । गाउँमै नविकरण तथा नपुगेका कागजात अध्यावधिक गर्न पाएपछि स्थानीयबासीहरु समेत खुसी छन् ।
