
काठमाडौं– बिहीबार एकै दिन पार्टी प्रवेशका दुई दृश्य सामाजिक सञ्जालमा भाइरल भए। एउटा थियो मधेसी नेता देवेन्द्र यादवको नेपाली कांग्रेसमा प्रवेश, अर्को थियो, पूर्वडीआईजी र पूर्वकर्णेलसहितको टोली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश । एउटा कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपास्थित सभापति शेरबहादुर देउवाको कार्यकक्षामा भएको थियो । अर्को कार्यक्रम रवि लामिछाने सभापति रहेको रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा आयोजना गरिएको थियो ।
यी पार्टी प्रवेश कार्यक्रममा दुवै दलका उच्च तहका नेताहरू सहभागी थिए । सानेपामा कांग्रेस सहभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा र सह-महामन्त्री महेन्द्र यादवसहितका नेताहरू देखिन्थे । त्यसैगरि महोत्तरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत पनि त्यहाँ थिए ।
उता घण्टीघरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झा र सांसद गणेश पराजुली देखिन्थे । सानेपास्थित देउवाकै कार्यकक्षमा आयोजित कार्यक्रममा कांग्रेस नेताहरू बडो उत्साहित देखिन्थे । सभापति देउवाले सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादवलाई पार्टी सदस्यता दिँदै स्वागत गरेका थिए ।
