शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • भू–स्वर्ग बडीमालिका : धार्मिक आस्था र प्राकृतिक सुन्दरताको अद्वितीय संगम (फोटो फिचर)

भू–स्वर्ग बडीमालिका : धार्मिक आस्था र प्राकृतिक सुन्दरताको अद्वितीय संगम (फोटो फिचर)

  • आइतवार, साउन २६, २०८२
भू–स्वर्ग बडीमालिका : धार्मिक आस्था र प्राकृतिक सुन्दरताको अद्वितीय संगम (फोटो फिचर)

पदमबहादुर सिंह / टेक बहादुर बुढा, बाजुरा २५ साउन— समुद्री सहतबाट ४ हजार २ सय मिटर उचाईमा अवस्थित बाजुराको बडीमालिका धार्मिक आस्था र प्राकृतिक सुन्दरताको अपूर्व संगम हो । प्रत्येक बर्ष साउने जनै पूर्णिमाको अघिल्लो दिन धार्मीक मेला र पूजापाठमा हजारौं भक्तजनको भीड लाग्छ । हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्लो केही बर्ष यता देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउने क्रम बढेको छ ।

प्रत्येक वर्ष साउने जनै पूर्णिमाको अघिल्लो दिन यहाँ विशेष धार्मीक मेला आयोजना हुन्छ । यस अवसरमा बाजुरा, अछाम, कालिकोट, डोटी, डडेलधुरा, हुम्ला, जुम्ला लगायत देश तथा विदेशबाट आएका हजारौं भक्तजनहरु बडीमालिका माताको दर्शन गर्न यहाँ पुग्छन् । विगतका बर्षहरुमा भक्तजनहरु धार्मिक विधि अनुसार पूजापाठ, प्रसाद ग्रहण र आशीर्वाद लिने क्रम बिहानै देखि बेलुकीसम्म चल्ने गर्थ्यो भने पछिल्लो समय भक्तजनहरुको संख्यामा वृद्धि हुदै गएकोले यो बर्ष अघिल्लै दिन देखि रात र दिनभर लाईनमा लागेर बडीमालिका देवीको पुजा गरे ।

नेपाली सेनाले यो वर्ष बडीमालिका माताको मन्दिर प्यागोडा शैलीको नयाँ निर्माण गरेकाले पनि विशेष आकर्षणको केन्द्र बनेको छ । भव्य ढाँचा, कलात्मक शिल्प र शान्त वातावरणका कारण भक्तजनहरू लामबद्ध भएर दर्शनका लागि प्रतीक्षा गरेका देखिन्थे । मन्दिर परिसरमा धामी–झाँक्रीको सांस्कृतिक प्रदर्शन, परम्परागत बाजागाजा र भक्तजनको उत्साहपूर्ण सहभागिताले माहोल अझै जीवन्त बनाएको थियो ।

बडीमालिकाको टुप्पोबाट देखिने अपूर्व हिमश्रृंखला यहाँको अर्को मुख्य विशेषता हो । सफा मौसममा अपि, सैपाल, र विभिन्न हिमशिखर स्पष्ट देखिन्छन् । प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रुपले बडीमालिका पर्यटक र भक्तजन दुवैका लागि अविस्मरणीय गन्तव्य बन्दै गएको छ ।
बाजुरा जिल्लाको बडीमालिका हिन्दु धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्र हो । श्रावण शुक्ल त्रयोदशी र चतुर्दशीमा लाग्ने मेलामा नेपालका विभिन्न जिल्ला र भारतको कुमाऊ–गढवाल क्षेत्रबाट समेत हजारौं भक्तजन यहाँ पुग्छन् ।

बडीमालिका पुग्न कठिन भए पनि त्यहाँको आध्यात्मिक शान्ति, हरियाली पाटन, हिमश्रृंखला र प्राकृतिक सौन्दर्यका अगाडी यात्रा कठिनाइ गौण हुन्छ । यहाँको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वासहरू प्रचलित छन् ।

बाईस पाटन मध्ये त्रिवेणी, खेतिबेति, लाटेको पाटन, हाटपाटा पाटन लगायतका पाटनहरु प्रसिद्ध छन् । खेतिबेति क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती पाइन्छ । यहाँ डाफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् ।

धार्मिक र पर्यटकीय दृष्टिले बडिमालिकाको महत्व अत्यन्त उच्च भए पनि सरकारी ध्यान अझै पुगेको छैन । पानी र शौचालयको अभाव, धर्मशाला र बासको कमी, बाटोमा संकेत चिह्न नहुँदा तिर्थालुहरूलाई कठिनाइ भइरहेको छ । पैदल मार्ग समेत बन्न नसकेका कारण बाटोमै चिप्लियर बर्षेनी लगेको मृत्यू हुने गरेको छन् । दुर्गन्ध र फोहोर व्यवस्थापनका चुनौती समाधान गर्न नसकिएकोले तत्काल संरक्षण र पूर्वाधार विकासमा राज्यको ध्यान आवश्यक छ ।
हेर्नुहोस् तस्विरहरु ।

  

चर्चामा

सम्बन्धित समाचार