शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • १५ सडक अलपत्र पार्ने कांग्रेस सांसद ‘कान्छाराम’को कम्पनीमाथि कारबाही, ठेक्का खारेज

१५ सडक अलपत्र पार्ने कांग्रेस सांसद ‘कान्छाराम’को कम्पनीमाथि कारबाही, ठेक्का खारेज

  • मङ्लबार, साउन २१, २०८२
१५ सडक अलपत्र पार्ने कांग्रेस सांसद ‘कान्छाराम’को कम्पनीमाथि कारबाही, ठेक्का खारेज

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको भीआईपी क्षेत्रका सडक निर्माणमा चरम लापरबाही गरेको भन्दै कर्णाली प्रदेश सरकारले नेपाली कांग्रेसका सांसद एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनीलाई कारबाही गरेको छ ।  त्यसका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसुचीमा राख्न सिफारिस गरिसकेको छ । कालोसूचीमा परेपछि यो कम्पनीले उक्त अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैन ।

निर्देशनालयका निमित्त निर्देशक सुर्यबहादुर शाहीले सोमबार ठेक्का सम्झौता अन्त्य गरिएको पत्र लेखेका छन् । वीरेन्द्रनगरका महत्त्वपूर्ण सरकारी कार्यालय, मन्त्रालय र विशिष्ट व्यक्तिहरूको बसोबास रहेको क्षेत्रका १५ वटा सडक कालोपत्रे गर्ने जिम्मा पाएको कम्पनीले सम्झौताको झण्डै तीन वर्ष बितिसक्दा र दुई पटक म्याद गुज्रिसक्दा पनि ४१ प्रतिशत मात्रै भौतिक प्रगति गरेपछि सरकारले यो कडा कदम चालेको हो ।
कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर सहरी प्लानिङ क्षेत्रअन्तर्गत पर्ने वडा नम्बर ७, ८ र १० का १५ वटा सडक कालोपत्रे गर्न ‘प्रदेश राजधानी वीरेन्द्रनगर योजना क्षेत्र सहरी सडक स्तरोन्नति (प्याकेज–१) सुर्खेत’ नामक परियोजना अघि बढाएको थियो । कुल ५ हजार १४ मिटर सडक कालोपत्रे सहित स्तरोन्नति गर्न कान्छाराम कन्स्ट्रक्सनले १२ करोड ९४ लाख ३७ हजार ४६२ रुपैयाँमा २०७८ भदौ १७ गते ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार कम्पनीले २०७९ फागुन २८ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, तोकिएको समयमा काम सम्पन्न नभएपछि आयोजनाको म्याद थपियो । पछिल्लो पटक थपिएको म्याद २०८१ मंसिर २० गते समाप्त हुँदै थियो, तर कामको गति निराशाजनक भएपछि निर्देशनालयले सम्झौता नै रद्द गर्ने निर्णय लिएको निर्देशनालयका निमित्त निर्देशक सुर्यबहादुर शाहीले बताए ।

निर्देशनालयले कान्छाराम कन्स्ट्रक्सनलाई पठाएका पत्रहरूले कम्पनीको गैरजिम्मेवारीपनलाई स्पष्ट पार्छन् । निर्देशनालयले पटक–पटक कामको प्रगति सन्तोषजनक नभएको भन्दै ध्यानाकर्षण गराएको थियो । काममा तीव्रता ल्याउन र सम्झौता बमोजिम कार्य सम्पन्न गर्न लिखित तथा मौखिक रूपमा ताकेता गर्दा पनि कम्पनीले बेवास्ता गरेको निर्देशनालयको ठहर छ ।

निर्देशनालयले कम्पनीलाई पठाएको पत्रअनुसार, ठेक्का तोड्नुअघि अन्तिम स्पष्टीकरणका लागि पत्र पठाई छलफलका लागि बोलाइएको थियो । तर, उक्त बैठकमा कम्पनीका आधिकारिक प्रतिनिधि उपस्थित नभएपछि निर्देशनालय ठेक्का तोड्ने र कारबाही गर्ने निष्कर्षमा पुगेको हो ।

पत्रमा भनिएको छ, ‘सम्झौता बमोजिमको कार्य सम्पादन गर्न/गराउनतर्फ आवश्यक अग्रसरता नदेखाएको, स्पष्टीकरणको चित्तबुझ्दो जवाफ पेश गर्न नसकेको र अन्तिम छलफलमा समेत अनुपस्थित भई चरम लापरबाही गरेकाले सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली बमोजिम ठेक्का सम्झौता अन्त्य गरिएको छ ।’

पत्रमा भनिए अनुसार कम्पनीले हालसम्म गरेको कामको बाँकी भुक्तानी पनि रोक्का गरिएको छ भने अन्तिम हिसाब फरफारकका लागि १५ दिनभित्र निर्देशनालयमा सम्पर्क गर्न भनिएको छ ।  यस्तै धरौटी जफत तथा ठेक्काको बाँकी काम सम्पन्न गर्न लाग्ने थप खर्च, काम अलपत्र पर्दा राज्यलाई भएको नोक्सानी, पेश्कीबापत लगेको रकमको ब्याज र अन्य जरिवाना समेत कम्पनीबाटै असुलउपर गरिने पत्रमा उल्लेख छ ।

भीआईपीहरूको आवतजावत हुने, प्रदेशका मुख्य प्रशासनिक केन्द्रहरू रहेको क्षेत्रको सडक अलपत्र हुँदा नागरिकले सास्ती भोग्नुका साथै प्रदेश सरकारको विकास मोडेलमाथि नै प्रश्न उठेको छ ।

कम्पनीलाई लेखेको पत्र

1

2

3

चर्चामा

सम्बन्धित समाचार