
काठमाडौं —पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् ।
मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् ।
उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’
उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो- जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो- राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’
राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले थपिन्, ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ ।’
भण्डारीले एमालेमा पुनः जोडिएको घोषणा गर्दा सभागृहको हलमा ताली गुन्जिएको थियो ।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।
मदनपत्नी विद्याले भनिन्, ‘यस्तो महत्वपूर्ण दायित्व पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वाससमेत लिएको छु ।
