शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • “राखभित्र बोल्दैछ बाम्का”

“राखभित्र बोल्दैछ बाम्का”

  • शनिबार, असार ७, २०८२
“राखभित्र बोल्दैछ बाम्का”

एकदिन…
त्यो सामान्यजस्तै लाग्ने दिन थियो।
बिहानी हावा अलिकति थकित थियो, बजार अलिकति सुस्त।
चिया पसलमा कप ठोक्किएर बज्ने आवाजहरू, पसल खोल्ने खनखन, अनि बालबालिकाको कक्षा जान हिँड्ने पाइलाहरूले त्यो दिनलाई सामान्यजस्तै बनाइरहेका थिए।

तर समय कहिले कति निर्मम बन्छ भन्ने कसलाई थाहा?
साँझ नपुग्दै, बाम्काको आकाश रातो भयो।
हावा धुवाँले भरियो।
हजारौँ सपना जले, सयौँ पसल खरानी बने, अनि एउटा बजार, जुन केवल व्यापारको केन्द्र थिएन, त्यो एउटा आत्मा थियो — त्यो भत्कियो।

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ मा अवस्थित बाम्का बजार, जहाँ मैले मेरा बचपनका पाइलाहरू छाडेको थिएँ। जहाँ मैले चकलेट किन्ने बहानामा जीवनका थुप्रै कुरा बुझेको थिएँ। जहाँ मेरा हरेक पाना सुरु हुन्थे।

तर त्यो माटो एक दिन जल्यो।

जब आगो केवल आगो हुँदैन
त्यो केवल एक दुर्घटना थियो
त्यो एक संस्कृतिको क्षति थियो।
त्यो एक थलोको विघटन थियो।
त्यो चुल्होहरूमा पाकिरहेको खाना होइन, त्यहाँ बस्नेहरूको जीवन नै डढेको थियो।
हाम्रो बजारको शरीर जल्यो, आत्मा भने अझै बाँच्छ — हामी भित्र।

अनि त्यो आत्मालाई बचाउने, सम्झाउने, बोलाउने प्रयास हो – “प्रिय बाम्का ”।

कतिपय शब्दहरू पीडाबाट जन्मिन्छन्।
कतिपय कविता धुवाँबाट।
र कतिपय गद्य – एक टुक्रा राखमा बाँकी बचेको आशाबाट।
बोल्न सक्ने कुनै शब्द थिएनन्।
बोल्दा खरानी उड्थ्यो, चिच्याहट आउँथ्यो।

तर मौनता सधैँ रहन्न।
शब्दहरू आफैँ बोल्न थाल्छन्।
म भित्रको बाम्का बोल्न थाल्यो –
“लेख, मलाई। सम्झ, मलाई। फेरि बाँच्न दे।”

त्यहीबाट सुरु भयो यो यात्रा — कागज र कलमको सहायतामा एउटा बजार पुनर्जीवित गर्ने।
बाम्का – केवल भौगोलिक स्थान होइन
बाम्का केवल बजार थिएन।
त्यहाँका गल्लीहरू भावनाले बनिएका थिए।
त्यहाँ पसलहरूमा केवल सामान मात्र बेचिन्थेन, स्मृतिहरू किनिन्थे।
एक डोको सागको भाउ साटासाट हुँदा आमा-छोरीको माया झल्किन्थ्यो।
पसलमा राखिएको रेडियोबाट बज्ने पुराना गीतहरू तिनै थिए, जसमा मेरो बाल्यकाल झन्झन्किन्थ्यो।

र अब… ती सबै वस्तुहरू राख भएका छन्।

तर त्यस राखमाथिबाट फुत्त उठेको एउटा प्रकाशपङ्क्ति नै हो यो लेख।

चर्चामा

सम्बन्धित समाचार