
बाजुरा—नेपाल कम्युनिस्ट पार्टी बाजुराले बाम्का बजारका आगलागी पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । पार्टीले आगलागी भएको क्षेत्र बाम्कामा पुगेर आर्थिक सहयोग गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी बाजुराका जिल्ला इन्चार्ज भुपेन्द्र सीले बाम्का बजारमा भएको भीषण आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै पार्टीले आर्थिक सहयोग गरेको बताए । उनले आगलागीबाट पीडितका लागि राहत स्वरुप २९ हजार रुपैयाँ सहयोग गरेको बताए । त्यस्तै उक्त रकम राहत संकलन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको जिल्ला इन्चार्ज सीले बताए ।
त्यस्तै बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट राहत संकलन भइरहेको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन पनि संरचना निर्माण कार्य समेत भइरहेको छ ।
२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट करिब २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
