बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुधन गुरुङलाई छानबिन समितिले भन्यो, ‘जुनसुकै बेला बयानमा बोलाउँछौँ’

सुधन गुरुङलाई छानबिन समितिले भन्यो, ‘जुनसुकै बेला बयानमा बोलाउँछौँ’

  • बुधबार, जेष्ठ १३, २०८३
सेयर गर्नुहोस् :
सुधन गुरुङलाई छानबिन समितिले भन्यो, ‘जुनसुकै बेला बयानमा बोलाउँछौँ’

पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले उनलाई बयानमा बोलाउने तयारी गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा प्रश्न उठेपछि उनले मन्त्रीबाट राजीनामा दिएका थिए ।

रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सापटी लिएर सेयर किनेको दाबी गरेका छन् । भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ ।

त्यसबारे छानबिन गर्न मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले गुरुङलाई बयान आउनेबारे सूचना दिएको छ । समितिका एक जना सदस्य भन्छन्, ‘उहाँलाई जुनसुकै बेला बोलाउन सक्छौँ भनेर जानकारी गराइसकेका छौँ ।’ गुरुङलाई बुधबार र बिहीबार मध्ये एक दिन बयान लिइने ती सदस्यले बताए ।

समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीले आफूहरू प्रमाण सङ्कलनमै रहेको  बताए । उनले भने, ‘एकपछि अर्को प्रमाण आउँदै छ, हामी प्रमाण सङ्कलनकै क्रममा छौँ ।’

प्रमाण सङ्कलन सकेपछि बयान लिएर प्रतिवेदन तयार गरिने भण्डारीले बताए । बैंक, स्टक एक्स्चेनज र पत्रिकामा प्रकाशित समाचारहरूको आधारमा समितिले छानबिन गरिरहेको छ । गुरुङसँग बयान लिनेबारे अध्यक्ष भण्डारी भन्छन्, ‘एक/दुई दिनमा लिन्छौँ ।’

समितिले छानबिन थालेको १० दिन भएको छ । समितिलाई मन्त्रिपरिषद्ले १५ दिनमा प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ। छानबिन समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य छन् । गुरुङले वैशाख ९ मा राजीनामा बुझाएका थिए। राताेपाटीबाट 

चर्चामा

सम्बन्धित समाचार