
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा रोकिएको छ । अबधि नपुगेको भन्दै उनको सरुवा थमौती गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
भर्खरै बढुवा भएका डीआईजी ओम बहादुर रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ । यसअघि रानालाई अख्तियारमा पदस्थापन गरेर श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको पत्र बाहिरिएको थियो ।
प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालय टंगाल र रानालाई रानीपोखरीमा कामकाज गर्नेगरी खटाउने निर्णय गरिएको जानकारी दिए ।
श्रेष्ठ ६ महिनादेखि अख्तियारमा कार्यरत छन् । बढुवा समितिको सिफारिसको आधारमा जेठ १३ मा राना सहित ११ जनालाई गृहमन्त्री रमेश लेखकले डीआईजीमा बढुवा गर्ने निर्णय गरेका थिए ।
यससँगै हिमालय कुमार श्रेष्ठलाई रानीपोखरीमा सरुवा गरेपछि भिटिज भिसा प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा सरुवा गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
आलोचना बढेपछि गृहमन्त्री रमेश लेखकले पुनः अर्को निर्णय गरेर श्रेष्ठलाई थमौती गरेको बताइएको छ ।
_arEqoN7y8v.jpg)
