
बाजुरा– कर्णाली राजमार्ग अन्तर्गतको कर्णाली करिडोरको १३ बर्षमा २२ प्रतिशत भौतिक प्रगति भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औं बार्षिक प्रतिवेदन अनुसार १३ बर्षमा कर्णाली करिडोरको प्रगति २२ दशमलव ६० प्रतिशत रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय गौरवको आयोजना कर्णाली राजमार्गको खुलालुदेखि सिमीकोट हुदैँ हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्ने उत्तर दक्षिण लोकमार्ग आर्थिक बर्ष २०६९। ७० मा सुरु भएको उल्लेख छ । त्यस्तै बार्षिक प्रतिवेदन अनुसार सो राजमार्गको निर्माण कार्य २०७९।८० मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा आर्थिक बर्ष २०८४।८५ सम्म अवधि थप भएको जनाएको छ । सो क्षेत्रको सडक निर्माण गर्न सुरुमा १६ अर्ब १० करोड रहेकोमा हाल संशोधित लागत अनुमान १८ अर्ब ६६ करोड पुगेको छ ।

त्यस्तै महालेखा परीक्षकको बार्षिक प्रतिवेदनअनुसार सो आयोजनाको कुल लम्बाई २ सय ६९ किलोमिटरमध्ये २ सय ६८.२ किलोमिटर ट्रयाक निर्माण कार्य भई भौतिक प्रगति २२ प्रतिशत भएको औल्याएको छ । त्यस्तै यो बर्ष ७१ करोड रुपैयाँ समेत यस योजनामा हालसम्म २ अर्ब ५२ करोड खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, कर्णाली करिडोरको अधिकांश भागको ट्रयाक खोलेसँगै अहिले स्थानीय उत्पादनको बजारीकरणसँगै यातायातमा समेत सहजता आउन थालेको छ । कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आर्थिक गतिविधिहरू पनि बढ्न थालेका छन् । दैलेख, कालीकोट, बाजुरा र हुम्लाका दर्जनौं ठाउँहरू मुख्य बजारका रूपमा विस्तार भएका छन् । निर्माण सामग्रीको सहज आपूर्ति र मेसिनहरूको प्रयोगले अन्य विकासका गतिविधिहरू समेत बढ्न थालेका छन् । यस करिडोरलाई अपेक्षित लक्ष्यअनुरूप निर्माण गर्न सकियो भने कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक विकासको मुख्य आधार बन्ने देखिन्छ ।
