बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ मुसीगाउँका १४ बर्षीय नवराज रावतको उपचार गर्ने पैसा नहुँदा समस्या भएको छ । लामो समयदेखि खुट्टाको समस्या भोगि रहेका नवराजको उपचार गर्ने पैसा नहुँदा अपांग जीवन जीउन बाध्य भएका छन् ।
उनको ५ बर्ष अगाडि लडेर बायाँ खुट्टामा गम्भिर चोट लागेपछि अहिले हिड्डुल गर्न समेत समस्या भइरहेको छ । लडेर खुट्टामा चोट लाग्ने बित्तिकै उपचारका लागि परिवारले अछामको बयालापाटा अस्पतालमा लिएको र अस्पतालले सामान्य औषधि दिएर घर पठाएको थियो । तर त्यसको ठिक एक बर्षपछि फेरी खुट्टामा समस्या आएपछि थप उपचारका लागि काठमाडौं लगायत भारतको दिल्लीमा पुगाएका थिए ।
त्याँहा नवराजको खुट्टाको सम्पूर्ण उपचार गर्न पैसा नपुगेपछि अधुरै उपचार गरेर घर फर्किएको र अहिले थप समस्या भइरहेको उनकी आमा बुद्धि रावतले बताइन् । अहिले उक्त खट्टाको समस्या झन बल्झिदै गएपनि उपचार गर्ने पैसा नहुँदा समस्या भएको उनले बताएकी छन् ।
नवराजको खुट्टाको उपचार गर्ने विषय त टाढाको कुरा हो, उपचारका लागि काठमाडौंसम्म जान र खानबस्न पनि पैसा नहुँदा तीन बर्षदेखि घरमै थला परेका परिवारले जनाएको छ ।
नवराज पशुपति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्छन् । उपचार अभावमा खुट्टाको समस्या भोगि रहेका नवराज विद्यालय आउनजान दैनिक करिब ५ घण्टा समय खर्च गरी रहेका छन् । उनका बुवा नन्द रावत ज्याला मजदुरी गर्न छिमेकी मुुलुक भारतमा गएका छन् । यतिखेर नवराजकी आमाले छोराको उपचारका लागि सबैलाई हारगुहार गरी रहेकी छन् ।