बाजुरा—डिभिजन वन कार्यालय बाजुराका प्रमुख वन अधिकृत सुरेश चन्द्र डिसीको एक युवती सँग बसेको अर्धनग्न तस्बिर सार्वजनिक भएको छ । वन अधिकृत डिसीले होटेलमा युवतीसँग बसेको अर्धनग्न तस्विर र अर्को घुस लिँदै गरेको जस्तो देखिने फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।
केही महिना अघि मात्रै डडेल्धुराबाट बाजुरा सरुवा भएर आएका डिभिजनल वन अधिकृत डिसी अर्धनग्न अवस्थामा युवतीसँग बसेको तस्बिरमा प्रष्ट देखिन्छ । अर्को तस्बिरमा एउटाले घुस दिनका लागि पैसा दिँदै गरेको जस्तो देखिएको छ ।
विवादित डिसीलाई यस अघि डोटीको लानाकेदारेश्वर सब डिभिजन वन कार्यालयका प्रमुख हुँदा काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिए बापत सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको थियो । डिसीले त्यस बेला स्थानीय सेवाग्राहीसँग ५ लाख ६० हजार घुस मागेको आरोप लागेको थियो । अख्तियारले उनको साथबाट नगद ३ लाख २६ हजार रकम बरामद गरेको बताइन्छ । डिसीलाई अख्तियारले ३ लाख ६० हजार माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी लामो समय निलम्बनमा परेका थिए । तर विशेष अदालतबाट सफाइ पाएपछि उनी अहिले फेरी शक्ति केन्द्रलाई रिझाएर विभिन्न मालदार कार्यालयको जिम्मेवारी पाईरहेको स्रोतको दावी छ ।
डोटीका स्थानीय भरत कुवँरले डिसीले काठको काम गरौ भन्दै दुई लाख ५० हजार घुस पनि खाएको र काम पनि नगर्दिेएको आरोप लगाएका छन् । उनले छुट पुर्जीमा गोलीयाको संख्या घटाई दिएको बताए । कुँवरले वन अधिकृत डिसीले आफु जुन सुकै केस पनि मिलाउने भन्दै धम्काउने गरेको आरोप समेत लगाएका छन् ।
यस विषयमा वन अधिकृत डिसीले आफुलाई फसाउन राष्ट्रिय सभा सदस्य जगत पार्कीले मान्छे परिचालन गरिएको दावि गरेका छन् । उनले आफुलाई पैसा कमाउन भनेर बाजुराको जिम्मेवारी दिएको र पैसा कमाउन नसकिने भन्दा विभिन्न प्रपञ्च गरेर फसाउन खोजेको आरोप लगाए । बाजुरा डिभिजन वन अधिकृत डिसीले राष्ट्रिय सभा सदस्य पार्कीले होटलमा खाने बेला पैसा नपुगेपछि आफ्नो फाँटको कर्मचारीबाट पैसा लिदै गर्दाको फोटो उनै पार्कीले खिचेकाे दावी गरेका छन् । त्यस्तै डिसीले सामाजिक सञ्जालमा भाईरल फोटोमा भएकी युवती पनि सांसद द्वोय पार्कीकै कार्यकर्ता रहेकी बताए । पार्की नेकपा माओवादी केन्द्रका नेता हुन् भने उनी अहिले सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य समेत छन् ।
त्यस्तै वन अधिकृत डिसी अर्धनग्न अवस्थामा युवतीसँग भएको तस्बिर वन निर्देशनालय धनगढीले समेत फेला पारेपछि ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरिएको छ । डिसीको एक युवतीसँग बसेको अर्धनग्न तस्बिर र घुस लिँदै गरेको जस्तो देखिने तस्बिर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले स्पष्टीकरण सोधेको जनाएको छ ।उक्त तस्बिरमा निजामती कर्मचारीको आचरण विपरीत प्रस्तुत भएको भन्दै ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरिएको बताइन्छ । निजामती सेवा ऐन, २०७९ को दफा १०१ तथा सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली २०८१ को नियम १३१ मा व्यवस्था भए बमोजिम डिसीलाई पत्र प्राप्त भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको जनाएको छ ।