काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारका सचिवहरूलाई निर्धक्क काम गर्न निर्देशन दिएका छन् । मंगलबार संघीय सरकारका सचिवहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
जनतालाई सकेसम्म उपयुक्त ढङ्गले सेवा दिन, विकास, समृद्धि र सुशासनका लागि काम गर्न यो सरकार बनेको उनले स्पष्ट पारे । त्यसैले ढुक्क भएर काम गर्न उनले सचिवहरूलाई आग्रह गरेका छन् ।
देशको लागि केही गरौँ भन्ने प्रतिविद्धताको साथ सरकार बनेकोले आफू कसैप्रति पूर्वाग्रही नहुने ओलीले बताए । कामको आधारमा सरकारले सचिवहरूको मूल्याङ्कन गर्ने उनले प्रष्ट पारे ।
‘हस्ताक्षर गर्नेबित्तिकै फसिन्छ कि भन्ने चिन्तामा नपरी काम गर्नुस्’, उनले सचिवहरूलाई आग्रहसहित भने, ‘राम्रो काम गर्दा कुनै प्रकारको समस्या आएमा त्यसको जिम्मेवारी सरकारले लिने छ ।’
काम गर्दा गन्तव्य के हो भन्ने कुरा बुझ्न आवश्यक रहेको ओलीले बताए । गन्तव्य नतोकी हिँड्यो भने टुङ्गोमा नपुगिने उनको भनाइ छ ।
गरिबिको रेखामुनिका जनतालाई माथि ल्याउन सरकारको ध्यान केन्द्रित हुने ओलीले बताए । ‘यो पीडादायक स्थितिको अन्त्यको लागि योजना बनाएर काम गर्नुस्’, उनले भने, ‘हामीलाई नेपाललाई समृद्ध बनाउनु छ, नेपाली जनतालाई सुखी बनाउनु छ ।’
नेपाललाई हतियार होइन, युद्ध र अशान्ति होइन शान्ति चाहिएको ओलीले बताए । ‘नेपाली जनताई खुसी र सुखी बनाउन ध्यान केन्द्रित हुनु पर्छ’, उनले अगाडि भने, ‘यसका लागि हरेक क्षेत्रमा योजना बनाएर अघि बढ्नु पर्छ ।’ ओलीले उत्पादनमा जोड दिनुपर्ने बताए । ‘आयात गर्दा पनि उत्पादनको लागि गर्नुपर्छ’, उनले भने, ‘हरेक क्षेत्रमा योजना बनाउँदा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी योजना बनाउनु आवश्यक छ ।’