• होमपेज
  • समाचार
  • महन्थ ठाकुरले पाएनन् रेशम चौधरीको साथ

महन्थ ठाकुरले पाएनन् रेशम चौधरीको साथ

  • बिहिबार, भदौ १०, २०७८
महन्थ ठाकुरले पाएनन् रेशम चौधरीको साथ

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका महन्थ ठाकुरलाई अन्ततः जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको साथ मिलेन ।

लोसपाका नेताहरुले बुधबार रेशम चौधरीले आफूहरुको पक्षमा सनाखत गरेको दाबी गरे पनि निर्वाचन आयोगले त्यस कुराको इन्कार गरेको छ । आयोगले रेशम चौधरीको सनाखत नभएको बताएको छ । दल दर्ताका क्रममा सनाखत गर्नका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने व्यवस्था रहेकोमा रेशम चौधरी आयोगमा उपस्थित भएनन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘पार्टी दर्ताका लागि निवेदन दिएका सदस्यहरु आयोगमा उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने हुन्छ । लोकतान्त्रिक समाजवादी पार्टीमा रेशम चौधरीको सनाखत भएको छैन । उहाँहरुको १६ जना केन्द्रीय कार्यकारिणी सदस्य र १४ जना सांसदको सनाखत भएको छ । रेशम चौधरी अनुपस्थित हुनुभएको छ ।’

लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले भने रेशम चौधरीको सनाखत कारागारबाटै आएको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, कारागारका प्रमुखको उपस्थितिमा रेशम चौधरीले हस्ताक्षर गरेको पत्र निर्वाचन आयोगमा आइपुगेको छ, त्यसलाई आयोगले मान्यता दिएको छ ।’

रेशम चौधरी सांसदबाट निलम्बित भएको हुनाले उनको सनाखत सांसदको रुपमा नभएर कार्यकारिणी सदस्यमा भएको उनले दाबी गरे ।

लोसपाले १५ जना सांसदको नामावली पेस गर्दा त्यसमा रेशम चौधरीको नाम पनि समावेश गरेको थियो । त्यसपछि आयोगले संसद सचिवालयलाई रेशम चौधरीको बारेमा जानकारी माग गर्दा उनी निलम्बित सांसद रहेको जानकारी प्राप्त गरेको थियो । त्यसपछि लोसपाका १४ जना सांसद मात्र कायम भएका छन् ।

आयोगमा लोसपाको सनाखतको तयारी चलिरहँदा जसपाका दुईजना सांसद रेशम चौधरीलाई भेट्न कारागार गएका थिए । भेटमा रेशम चौधरीले आफू जसपामै रहेको बताएका थिए । एकदिन अगाडि लोसपाका अध्यक्ष महन्थ ठाकुर आफै हस्ताक्षरका लागि कारागार पुगेका थिए । तर, चौधरीले हस्ताक्षर गर्नका लागि इन्कार गरेका थिए । चौधरीले आफू जसपा लोकतान्त्रिकका सनाखत गर्न तयार थिए । तर, अब लोसपा भएका कारण आफू हस्ताक्षर नगर्ने भन्दै अध्यक्ष ठाकुरलाई कारागारबाट फर्काएको चौधरीलाई भेटेर फर्केका ती सांसदले  बताए ।

रेशम चौधरी जसपाको कार्यकारिणी सदस्य छन् । आधिकारिताका लागि भएको मतदानको समय रेशम चौधरी तटस्थ बसेका थिए । उपेन्द्र यादवले जसपाको आधिकारिता पाइसकेपछि रेशम चौधरीले आफू जसपामा रहेको बताएका थिए । त्यसपछि जसपाले उनलाई कार्यकारिणी सदस्यमा राखेको छ । महन्थ ठाकुर पक्षले लोसपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा चौधरीको नाम हालेर पनि दिएका थिए । तर, बुधबार चौधरीले लोसपाका लागि सनाखत गर्न इन्कार गरे ।राताेपाटीकाे सहयाेगमा

चर्चामा

सम्बन्धित समाचार