• होमपेज
  • समाचार
  • एक वर्षमा चोरी शिकारीबाट चितवन राष्ट्रिय निकुञ्जमा ४ वटा गैंडाको मृत्यु

एक वर्षमा चोरी शिकारीबाट चितवन राष्ट्रिय निकुञ्जमा ४ वटा गैंडाको मृत्यु

  • आइतवार, साउन ३१, २०७८
एक वर्षमा चोरी शिकारीबाट चितवन राष्ट्रिय निकुञ्जमा ४ वटा गैंडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीका कारण मृत्यु हुने गैंडाको संख्यामा वृद्धि आएको छ । विगतको आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा चोरी शिकारी तथा तस्करीका कारण मृत्यु हने गैंडाको संख्या बढेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ४ वटा गैंडको चोरी शिकारीका कारण मुत्यु भएको छ ।

निकुञ्जमा गत आर्थिक वर्षको विभिन्न समयमा मृत्यु भएको कुल ३२ वटा गैंडा मध्ये ४ वटा चोरी शिकारीका कारण मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

चोरी शिकारीका घटनामा संलग्न रहेको आरोपमा निकुञ्जले २७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए ।

सुरुमा गैंडा मृत अवस्थामा फेला पर्ने गरेको र पछि अनुसन्धानमा चोरी शिकारी भएको तथ्य खुल्ने गरेको अधिकारी बताउँछन् ।

कोरोना संक्रमणको जोखिमका कारण देश पूर्ण रुपमा लकडाउन र निषेधाज्ञामा निकुञ्ज भित्र चोरी शिकारीका क्रियाकलाप बढी हुँदा घटना बढ्न गएको उनले बताए ।

चोरी शिकारीका घटना न्यूनीकरणका लागि निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेनाको टोलीलाई थप सशक्त रुपमा निरीक्षण, गस्ती र विषेश अपरेशनहरु संचालन गरेको अधिकारीको भनाइ छ ।

विभिन्न समयमा चोरी शिकारीका घटनामा संलग्न भएकाहरु सजाय काटेर फर्किएलगत्तै सोही कार्यमा लाग्न नदिन निकुञ्जले उनीहरुमाथि थप निगरानी बढाएको उनको भनाइ छ ।

६ वर्षमा १ सय ६६ वटा गैंडाको मृत्यु

विगतका ६ वटा आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा १ सय ६६ वटा गैंडा मरेका छन् ।

विगतका ६ वटा आर्थिक वर्षमा प्राकृतिक कारणबाट १ सय ५६ वटा, चोरी शिकारीका कारण ४ वटा र विद्युतिय धरापमा परेर ६ वटा गैंडाहरु मरेको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार विगतको ६ वटा आर्थिक वर्षहरु मध्ये २०७५/०७६ मा सबैभन्दा बढी गैंडाको मृत्यु भएको छ ।

सो आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ४३ वटा गैंडाहरु मरेका छन् । ती सबै गैंडाहरु प्राकृतिक कारणबाट मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै आर्थिक वर्ष २०७२/०७३ मो प्राकृतिक कारणबाट १२ वटा र करेन्ट लागेर २ वटा गरी कुल १४ वटा गैंडाहरु मरेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा प्राकृतिक कारणबाट २३ वटा र करेन्ट लागेर २ वटा गरी कुल २५ वटा गैंडाहरु मरेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ र २०७६/०७७ मा प्राकृतिक कारण र विद्युतिय धरापमा परेर २६/२६ वटा गैंडाहरु मरेका छन् । २०७४/०७५ मा सबै गैंडाहरु प्रकृतिक कारणबाट मरेका छन् भने २०७६/०७७ मा भने २४ वटा प्राकृतिक कारण र २ वटा विद्युतिय धरापमा परेर मरेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा मरेका ३२ वटा गैंडा मध्ये २८ वटा प्राकृतिक र ४ वटा चोरी शिकारीका कारण मरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८/०७९ को साउन महिनामा मात्र ६ वटा गैंडाहरु मरेका छन् ।

गत चैत ९ गतेदेखि २८ गतेसम्म गरिएको गणना अनुसार निकुञ्जमा हाल ६ सय ९४ वटा गैंडा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार