शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • शिक्षा
  • विद्यालय शिक्षा विधेयक टुंग्याउन सांसदले खोजे सरकारको प्रतिबद्धता

विद्यालय शिक्षा विधेयक टुंग्याउन सांसदले खोजे सरकारको प्रतिबद्धता

  • शुक्रबार, जेष्ठ १०, २०८२
विद्यालय शिक्षा विधेयक टुंग्याउन सांसदले खोजे सरकारको प्रतिबद्धता

काठमाडौँ— प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूले विद्यालय शिक्षा विधेयकका विषयमा सरकारको धारणा माग गरेका छन् । सरकारले नेपाल शिक्षक महासंघसँग गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षामा राज्यले गर्न सक्ने लगानी, निजी विद्यालय र प्रारम्भिक बालविकास (ईसीडी) सञ्चालनको ढाँचाका विषयमा सांसदले धारणा माग गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदनमाथि बुधबार समितिको छलफलमा कांग्रेस सांसद धनराज गुरुङले शिक्षकसँग भएका सहमति के कति सम्बोधन गर्नुपर्ने हो भन्ने विषयमा शिक्षा मन्त्रालयले स्पष्ट पार्नुपर्ने बताए । शिक्षा मन्त्रालयको धारणाबिना विधेयकमाथि दफाबार छलफल गर्नुको औचित्य नहुने गुरुङले उल्लेख गरे ।

‘सरकार र शिक्षकबीच भएको सहमतिबाट उपसमितिको प्रतिवेदन विचलित भयो भन्ने गुनासो आएको छ । हुबहु नभए पनि सरकारले गरेका सहमति सम्बोधन गरिनुपर्छ,’ उनले भने, ‘शिक्षकसँग संवाद गरेर शिक्षा मन्त्रालयले चित्त बुझाउनुपर्छ । समितिमा दफाबार छलफल गर्नुअघि नै सरोकारवाला पक्षसँग बसेर के कति कुरा सम्बोधन गर्ने निष्कर्षमा पुग्नुपर्छ ।’

पूर्वशिक्षामन्त्री समेत रहेकी सांसद विद्या भट्टराईले उपसमितिको प्रतिवेदनका कतिपय विषय अस्पष्ट रहेको औंल्याइन् । निजी विद्यालय र ईसीडी सञ्चालनका विषयमा सरकार र सांसद स्पष्ट भएर त्यहीअनुसार विधेयकमा व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । उपसमितिले यी दुई विषय टुंगो लगाउन सकेको छैन । भट्टराई शिक्षामन्त्री हुँदा भएको छलफलमा ईसीडीलाई विद्यालय संरचनाभित्र राख्ने र दुई वर्षको बनाउने विषयमा सहमति जुटेको थियो । तर उनले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि ईसीडीका विषयमा भएको सहमति उल्टिएको थियो ।

ईसीडीलाई विद्यालय संरचनाभित्र राख्ने सहमतिबाट शिक्षा मन्त्रालय पछाडि हटेपछि यो विषय पेचिलो बन्दै गएको छ । विद्यालय संरचनामा राख्दा शिक्षकको दायित्व थपिएर खर्च बढ्ने भन्दै शिक्षा मन्त्रालयले असहमति जनाएको छ । ईसीडीलाई दुई वर्षको बनाउँदा सामुदायिक र निजी विद्यालयमा समान व्यवस्था गरिनुपर्ने भट्टराईको भनाइ छ । ‘अहिले ईसीडी १ वर्षे हुने व्यवस्था अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा छ । तर यो कुरा निजी विद्यालयका हकमा कहिल्यै कार्यान्वयन भएन । अब कार्यान्वयन हुने गरी ऐन बनाउनुपर्छ,’ उनले थपिन्, ‘२ वर्षे ईसीडी बनाउने कि नबनाउने ? ईसीडी शिक्षकलाई शिक्षकका रूपमा मान्ने कि नमान्ने ? अहिल्यै स्पष्ट हुनुपर्छ ।’ सामुदायिक विद्यालयमा १ वर्षे र निजीमा ४ वर्षसम्म ईसीडी कक्षाको पठनपाठन हुँदै आएको छ । सरकारले ईसीडीमा कार्यरतलाई शिक्षकभन्दा पनि बालविकास सहयोगी कार्यकर्ताको मान्यता दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड र शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण स्वायत्तता बनाउने, शिक्षकलाई राजनीतिक दलमा आबद्ध हुन नदिने, निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति लागू गर्ने, शिक्षक/कर्मचारीको मागको सम्बोधन गर्ने विषयमा स्पष्ट भएर मात्र दफाबार छलफल थालिनुपर्नेमा भट्टराईले जोड दिइन् । ‘शिक्षक राजनीतिक दलमा आबद्ध नहुने भनियो । शिक्षक संगठन हुने कि नहुने ? शिक्षक/कर्मचारीको माग सम्बोधन गर्ने विषयमा पनि प्रतिवेदन स्पष्ट छैन । निजीले दिने १० प्रतिशत छात्रवृत्तिको कार्यान्वयन स्थानीय तहले गर्नुपर्छ,’ उनले भनिन् ।

सांसद रेखा शर्माले उपसमितिले टुंगो लगाउन बाँकी रहेका विषयमा स्पष्ट भएपछि मात्रै समितिले विधेयक टुंगोमा पुर्‍याउन सकिने बताइन् । ‘शिक्षकसँग गरेको सहमति विधेयकमा समावेश गर्ने कि नगर्ने हो ? शिक्षा मन्त्रालयले यसको खाका बनाओस्,’ उनले भनिन् । उपसमितिमा सहमति कायम भएका कतिपय विषय सरकारको प्रतिबद्धता अभावले उल्टिएको उनले औंल्याइन् । विधेयकले सामुदायिक विद्यालय सुधार, विद्यार्थी, अभिभावकलाई मुख्य ध्यान दिनुपर्ने सांसद शर्माले बताइन् ।

पूर्वशिक्षामन्त्री समेत रहेकी सांसद सुमना श्रेष्ठले पनि निजी विद्यालय, ईसीडी र शिक्षकसँगका सहमतिका विषयमा शिक्षा मन्त्रालयले स्पष्ट पार्नुपर्ने बताइन् । ‘आन्दोलनको दबाबमा ऐन बन्दैन । सडक प्रदर्शनले मुद्दा मात्र स्थापित हुने हो,’ शिक्षक आन्दोलततर्फ संकेत गर्दै उनले भनिन्, ‘समयसीमा तोकेर विधेयक पारित गर्नु हुँदैन । दबाबमा काम हुँदैन । मिहिन ढंगले छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्छ ।’

निजी विद्यालय सञ्चालनका विषयमा गलत भाष्य बनाइएको भन्दै श्रेष्ठले असन्तुष्टि जनाइन् । ‘निजी विद्यालयलाई निषेध गरौं भनेको होइन, शिक्षाबाट मुनाफा कमाउन हुँदैन मात्र भनिएको हो,’ उनले भनिन्, ‘निजीलाई राष्ट्रियकरण गर्न खोजेको भए पो राज्यले धान्छ, धान्दैन भन्ने कुरा हुन्छ । निजी स्कुललाई गैरनाफामूलक बनाउन राज्यको ६ खर्ब चाहिँदैन ।’

सांसद डिगबहादुर लिम्बूले सरकारले शिक्षामा कति लगानी गर्न सक्छ भन्नेमा स्पष्ट धारणा आउनुपर्ने बताए । ‘शिक्षकसँग भएको सहमति कसरी कार्यान्वयन गर्ने हो, सरकारले स्पष्ट भनिदिनुपर्छ । विधेयकमाथि छलफल हुँदा सरकार तयारी गरेर आउनुपर्छ,’ उनले भने, ‘सरकार पानीमाथिको उभानो बन्ने, दोष सांसदलाई लगाउने गर्न मिल्दैन ।’

चर्चामा

सम्बन्धित समाचार