स्थानीय तह संञ्चालन भएयता बाजुरामा बर्षमा एक वा एक भन्दा बढी महोत्सव स्थानीय तह आयोजक वा सहआयोजक भएर धार्मिक, पर्यटकिय, जल, र साँस्कृतिक महोत्सव संञ्चालन भइरहेका छन्।महोत्सवबाट जनताको जीवनस्तरमा के कति सुधार आयो र विकास निर्माणमा के कस्तो प्रभाव पर्यो भनेर जनप्रतिनिधिले कतै लेखेको बोलेको सुनिदैन।महोत्सव संञ्चालनताका आयोजक र सह आयोजकका प्रमुख अतिथि देखि बक्ताहरुले जनताको जीवनस्तरमा कायाँपलट हुनुका साथै प्रचार प्रसार नभएर बाजुरा पछाडी परेको र महोत्सवका माध्यमबाट अलजजिरा र बिविसि जस्ता संञ्चार माध्यम सम्म प्रचारप्रसार हुनेखालका बक्तव्य दिएपनि महोत्सव महोत्सवमै सिमित भएका उदाहरण छन्।
दुई बर्ष अघि हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको आयोजनामा जल महोत्सव संञ्चालन गरिएको थियो।उक्त महोत्सवमा देशका विभिन्न ठाँउबाट जल बिज्ञ देखि विभिन्न क्षेत्रका विज्ञको सहभागितामा जिल्लाको विकासका लागि खाका सहितको कार्यपत्र प्रस्तुती गरिएको थियो।महोत्सव उदघाटनमा आयोजक र प्रमुख अतिथिले बोलेको भिडियोहरु अहिले पनि सुरक्षित छन्।
एउटामात्र प्रसंग उल्लेख गर्न चाहन्छु जल पर्यटनले गर्दा यस क्षेत्रको भोकमरीको अन्त्य हुने, रोजगारी सृजना हुने र कर्णाली नदीमा बाहैमास बोट संञ्चालन हुने र आन्तरिक र बाह्य पर्यटकले थेगिनसक्ने अवस्था हुनसक्छ भन्नु भएको थियो।तर बिडम्बना त्यो भन्दा पछि कर्णाली नदीमा आकस्मिक उद्धारका काममा बाहेक बोट चलेको देखिदैन।बिज्ञले प्रस्तुत गरेका कार्यपत्रले स्थानीय, प्रदेश र संघिय सरकारको नीति निर्माण, योजना र बजेट विनियोजनमा खासै प्रभाव परेको देखिएन। हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकाका सर्वसाधारण जनताको नाममा आएको लाखौ पैंशा जल पर्यटनको नाममा सिमित होटल, पत्रकार, जीप व्यवसायी र बिज्ञको नाममा पुँजि पलायन भयो।यदि महोत्सव नगरेको भए कुनै गाउँको खानेपानी योजना बन्थ्यो होला।
त्यो महोत्सवबाट अन्य स्थानीय तहले सिकाइको रुपमा लिएर अगाडी बढ्नुको साँटो अघिल्लो बर्ष बुढीगंगा नगरपालिकाले सबै क्षेत्रका बिज्ञको सहभागितामा महोत्सवको आयोजना गरेको थियो।यस बर्ष बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका सहआयोजकको भुमिकामा रहेर कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संञ्चालन गरिरहेका छन् भने त्रिबेणीमा धार्मीक महोत्सव चलिरेहको छ।
मिति २०८२ बैशाख ५ गतेबाट बुढीनन्दा नगरपालिका वडा नं १, मा माननीय पुर्व स्वास्थ्य मन्त्री पदम गिरीले समुदघाटन गर्नु भएको कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजक मालाश्री स्टडियो र सह आयोजकमा बुढीनन्दा नगरपालिका रहेको उदघाटन शत्रमा उपस्थित हुने अवसर जुरेको थियो।उदघाटन शत्रमा मालाश्री स्टडियोका संञ्चालक विनोद बाजुरेलीले आफु यहि माटोमा हुर्किए र आजको अवस्था सम्म पुर्याउनमा बाजुराको समाज, प्रकृति र सहयोगीहरुको ऋण तिर्नका लागि घाटामा महोत्सव संञ्चालन गर्न लागेको बताउनु भएको थियो।त्यसका लागि मेरो व्यक्तिगत तर्फबाट बिनोद बाजुरेलीलाई कोटी कोटी नमन गर्न चाहन्छु।
मैले थाहापाए सम्म बिनोद बाजुरेली गित संगित क्षेत्रमा प्रबेश गरेपश्चात बाजुरा लगायत सूदुरपश्चिम र कर्णालीमा धेरैजना कलाकार र संगितकार उत्पादन गर्नु भएको, गित रेकडिङ्गमा सहजता हुनुका साथै आर्थिक रुपमा कडिकडाई नगरेको धेरै जनाले बताउनु भएको थियो।
उदघाटन शत्रमा आयोजक भन्दा सह आयोजकले धेरै भुमिका निर्वाह गरेको देख्दा महोत्सव साच्चै नारा अनुसारको नै हुन्छ होला भन्ने आशा पलाएको थियो।मिति २०८२ बैशाख ९ गते महोत्सव स्थलमा जाँदा न कृषिको स्टल, न पर्यटन स्टल देखियो नत सो संग सम्बन्धित मञ्चमा कार्यक्रम, बिशुद्ध साँगितिक कार्यक्रम बाहेक केहि थिएन।यदि साँस्कृतिक महोत्सव गर्नु नै थियो भने त्यहि राम्रो नाराको आवश्यकता नै थिएन।यदि नारा अनुसारको काम गर्ने हो भने पुर्व तयारीका साथ महोत्सव स्थलमा स्थानीय किसानका लागि आवश्यक उत्पादन सहित स्टलको व्यवस्था र बुढीनन्दा नगरपालिका क्षेत्रमा रहेका धार्मिक, पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागि लिफलेट र ब्रोसर तयार गरी नगरपालिकाको छुट्टै स्टल राखेर आगन्तुकलाई वितरण गरेको भए आगन्तुकहरुले जानकारी पाउँनुका साथै सोको बारेमा अध्ययन गर्थे होला।
महोत्सव स्थलमा पर्यटकिय क्षेत्रको प्रचार प्रशारका लागि केहि स्थानको फोटोहरु फ्लास पिन्ट्रमा पिन्ट्र गरेर टाँगिएको थियो।ति फोटोहरुमा कुनै सूचना मुलक जानकारी देखिदैनन।नारामा कृषि जोडिएको भएपनि महोत्सव क्षेत्रमा दाङ्, कैलाली, गुल्मी लगायत विभिन्न जिल्लाबाट खुद्रा पशल, कपडा, जुत्ता, चप्पल, सिरक, डस्ना, फेन्सी कपडा, कष्मेटिक समान, नेवारी खाजा लगायत होटल पशलका स्टलहरु संञ्चालन गरेको देखेपछि जुन उत्साहका साथ महोत्सव स्थलमा पुगेको थिए त्यो उत्साह कायम रहेन।
जनताको हक, हित र अधिकारको सुरक्षाको निम्ति जनताले छानेको नेतालाई जनप्रतिनिधि भनिन्छ।जनप्रतिनिधिले जहिलेपनि जनतालाई केन्द्र बिन्दुमा राखेर योजना र कार्यक्रमहरु संञ्चालन गर्नुपर्ने हुन्छ।जनप्रतिनिधि सरकार र जनताको सेतु भएकोले जनतामा बढी भन्दा बढी सेवासुविधा कसरी पुर्याउने भन्ने उद्धेश्यमा केन्द्रित हुनुपर्नेमा पछिल्लो समय निश्चित स्वार्थ समुहको भुमरीमा परेर योजना र कार्यक्रमहरु बनाउन थालेको देखियो।बाजुरेली जनताको अहिलेको आवश्यकता भनेको महोत्सव स्थलमा गएर टिकट किनेर मनोरन्जन लिने भन्दा पनि बिरामी परेको समयमा सहज रुपमा स्वास्थ्य चौकीमा गएर सिटामोल पाइयोस भन्ने हो।महोत्सव हेर्नेमा अधिकाँश महिला र स्कुल विदा भएका कारण वालवालिकाको संख्या उल्लेख्य रुमा देखिन्छ।औषतमा दैनिक ५०० देखि ८०० जनाले टिकट किन्ने गरेको महोत्सव आयोजकका सदस्यले बताउनु भयो।
संघिय सरकार र प्रदेश सरकारले स्थानीय तहमा बजेट घटाएका कारण गाउँमा विकास निर्माणका काम न्यून भएकोले गाउँमा पैशा न्यून रुपमा जाने गरेको छ।गाउँघरमा रोजगारी नभएका कारण बेरोजगार युवायुवती रोजीरोटीको लागि भारत, कतार, मलेसिया, साउदी अरब, दुबई लगायतका देशमा पसिना बगाएर कमाएको पैंशा र सामाजिक सुरक्षाको पैंशाले गाउँघर चलिरहेका छन्।त्यहि पैंशा लिएर हिजोआज महिला र वालवालिका महोत्सवमा मनोरन्जन लिइरहेका छन्।
स्थानीय तहमा गुणस्तरीय शिक्षा र स्वास्थ्य नहुँदा पछिल्लो समय शिक्षा र स्वास्थ्यका लागि डरलाग्दो अवस्थामा पुँजि पलायन भइरहेको समयमा पर्यटन प्रवर्द्धनका नाममा विभिन्न खालका महोत्सव गरेर बचेखुचेको पुँजि पलाएन हुनु राम्रो कुरा होइन।महोत्सव हुनु आफैमा नराम्रो कुरा होइन तर उत्पादन विनाको महोत्सवको के अर्थ महोत्सव गर्नुको साटो स्थानीय तहले उत्पादनमा लगानी गरौ।महोत्सवले निश्चित होटल व्यवसायी, यातायात व्यवसायी, कलाकार र आयोजकलाई मात्र फाइदा पुगेको देखिन्छ।त्यसैले आगामी दिनमा महोत्सव गर्ने हो भने जुकोट र पाण्डुसैनमा स्याउ महोत्सव ढम्कने र कुरुमा आलु महोत्सव गरौ जसले गर्दा बाहिर जिल्लाको पुँजि हाम्रो किसानको हातमा पुग्छ।
जसका कारण प्रचार प्रसार हुनुका साथै किसानहरु उत्पादन गर्नतिर लाग्छन।जस्तै पोखरा महानगरपालिका वडा नं २५, को हेम्जा गाउँले १३ औ पटक आलु महोत्सव गरिसक्यो। हामी नाचगानमै रमाउने हो त ?