शुक्रबार, असार २८, २०८१
  • होमपेज
  • देश
  • पक्राउ परेको ५ दिनमै किन छुटे कृष्णबहादुर महरा ?

पक्राउ परेको ५ दिनमै किन छुटे कृष्णबहादुर महरा ?

  • शनिबार, चैत्र १०, २०८०
पक्राउ परेको ५ दिनमै किन छुटे कृष्णबहादुर महरा ?

काठमाडौं– भेपमार्फत तस्करी भएको सुनमा संलग्नता रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा ५ दिनमै रिहा भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतले गरेको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतमा छाड्न स्वीकृति दिएको सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ बताउँछन् ।

‘अदालतले पनि स्वास्थ्यलाई कारण देखाउँदै उपचार गराउन आदेश दिएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘सीआईबीले हाजिरी जमानतमा छाड्न अनुमति मागेपछि स्वीकृति दिएका छौं ।’

प्रहरीले महरालाई ५ चैतमा कपिलवस्तुको सीमा क्षेत्र नजिक पकडीबाट पक्राउ गरेको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले १ चैतमा बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

सीआईबीले उन्मुक्ति दिएका महरालाई मुद्दा चलाउन १० वटा आधार रहेको प्रतिवेदनमा उल्लेख थियो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नयाँ टोलीले जाँच थालेको थियो ।

त्यस क्रममा निगरानीमा रहेका महरा रोल्पास्थित घर जाने भन्दै काठमाडौंबाट हिँडेका थिए । तर, ५ चैतमा आफूहरुलाई छाडेर महरा अर्कै गाडीमा गएको भन्दै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) ले प्रहरी हेडक्वार्टरमा खबर गरेका थिए ।

‘महरा अर्को गाडीमा चढेर हिँडेको झण्डै आधा घन्टापछि खबर आएको थियो’, यसबारे जानकार एक प्रहरी उच्च अधिकृत भन्छन्, ‘उनी कपिलवस्तुको सीमा क्षेत्र नजिक पुगिसकेका थिए, केहिवेर ढिला भएको भए भारत पुगिसक्ने थिए ।’

उनको दाबीमा, महराले भाग्ने प्रयास नगरेको भए तत्काल पक्राउ पर्ने थिएनन् । ‘उहाँले भागेरै जान खोज्नु भएपछि कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याउनु परेको हो’, ती अधिकृत भन्छन् ।

महरालाई छाड्न प्रहरीले लिएका आधार

महरालाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि अनुमति लिन उनलाई सीआईबीले अदालत उपस्थित गराएर ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । महराको बयान लगायतको अनुसन्धान कार्य गर्नुपर्ने भएको भन्दै उनलाई हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले उनको स्वास्थ्य स्थितिलाई देखाउँदै आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको थियो ।

महराले आफूलाई टिबी, युरिक एसिड र प्रोस्टेटको विरामी भएकाले नियमित औषधि सेवन गरिरहेको जिकिर गरेका थिए । यसपछि महरा नर्भिक अस्पताल भर्ना भएका थिए भने उनको सरकारी वकिलको कार्यालयमा बयान सुरु गरिएको थियो ।

बयानका क्रममा उनले आफूले चिनियाँ नागरिक दावाजिन वाङलाई फलफूल व्यवसायीका रुपमा मात्र चिनेको दाबी गरेका छन् । हाइड्रो पावर परियोजनाका कर्मचारीका लागि ल्याएको भेप जफत भएको भन्दै वाङले खबर गरेपछि आफूले तत्कालीन भन्सार प्रमुख प्रशासकलाई फोन गरेर बुझेको उनले बताएका छन् ।

‘कानून बमोजिम के गर्न मिल्छ, हेरिदिनु होला भनेर मात्र भनेको हो’, उनले भनेका छन्, ‘वाङसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गथ्र्यो, सुनबारे निजसँग कुरै कुराकानी भएको थिएन ।’ उनको प्रारम्भिक बयान सकिएको र थप बुझ्नुपर्ने कुरा नभएको सीआईबीका एसपी होविन्द्र बोगटी बताउँछन् ।

‘अदालतले पनि उपचार जरुरी भएको भन्ने हिसाबले आदेश गरेको थियो, बयान सकिएको र प्रमाण नष्ट गर्नसक्ने आधारहरु नभएकाले बाहिरै राखेर थप अनुसन्धान अघि बढाउने निर्णय भएको हो’, उनले भने, ‘अनुसन्धान अधिकृतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न मिल्ने अवस्थामा छाड्न सक्ने मुलुकी फौजदारी संहितामा व्यवस्था भएकैले यो सिफारिस गरेका थियौं ।’

महरामाथिको आरोप

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यायले २९ माघ २०७९ मा २ वटा सुटकेशभित्र आएको ७३० वटा विद्युतीय सिगरेट (भेप) बरामद गरेको थियो । बरामद भेप लिलामी गरिदिन भन्दै पूर्वसभामुख महराले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई दुई पटक फोन गरेका थिए ।

उनले आफ्नो छोरा राहुल त्यसबारे कुरा गर्न आउने बताएका थिए । राहुलले भन्सारका कर्मचारीहरुलाई भेटेर पटकपटक ताकेता गरेका थिए । त्यसक्रममा शंका लागेर गोदाममा रहेको सामान हेर्दा भेप साटफेर भइसकेको खुलेको थियो ।

‘केही लाखको भेपमा महरा पुत्र राहुलले निरन्तर ताकेता गरेपछि भन्सारका कर्मचारीहरुलाई शंका लागेको रहेछ, फेरि उनीहरुले अरु भेपले नहुने त्यही चाहिने भनेर भनेका रहेछन्’, सीआईबीका एक अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसपछि भन्सारले आन्तरिक छानबिन गर्दा गोदामबाट भेप नै साटेको पाइएको थियो ।’

भन्सारले प्रारम्भिक सोधपुछपछि गोदाममा खटिएका नायब सुब्बा रेवन्त खड्काकै यसमा मिलेमतो रहेको देखिएको थियो । त्यसपछि थप अनुसन्धानका लागि भन्सारका तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेलले सीआईबीमा किटानी जाहेरी दिएका थिए ।

यसक्रममा सीआईबीले अनुसन्धान गरेर खड्कासहित दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, साहेब राव पाण्डुरङ मरगले, अमृत कार्की, निर्मलकुमार विक, दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापालाई प्रतिवादी बनाएर आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधको कसूरमा मुद्दा चलाएको थियो ।

त्यसबेला महरा र उनका छोरा राहुलविरुद्ध सीआईबीले अनुसन्धान नै गरेन । तर, सीआईबीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा महरा र राहुलको चिनियाँ तस्करसँग सम्बन्ध भएको कल डिटेल रेकर्ड (सीडीआर) को विवरण उल्लेख भएको थियो ।

सीडीआरको विवरणबाहिर आएपछि महरा बाबुछोरामाथि अनुसन्धान गर्न प्रहरीमाथि दबाब बढेको थियो । तीव्र दबाबपछि सीआईबीले राहुललाई पक्राउ गरेर मुद्दा दर्ता गरेको थियो भने महरालाई बयान कागज मात्र गराएर छाडिएको थियो ।

२ साउनमा ६० किलो सुन बरामद भएपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको थियो । त्यसक्रममा गठित पूर्वन्यायाधीश आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगले जाँच गर्ने क्रममा कारागारमा रहेका प्रतिवादी साहेब राव पाण्डुरङसँग बयान लिएको थियो । त्यसक्रममा उनले सुन तस्करीमा महरा र फरार चिनियाँहरुको लगानी रहेको दाबी गरेका थिए ।

स्रोतका अनुसार, महराले छोरा निर्मलको नाममा दर्ता भएको मोबाइल नम्बरबाट फेसबुकमा खाता खोलेका थिए । त्यसमार्फत चिनियाँ तस्कर गिरोहसँग सम्पर्क गरेको समेत भेटिएका थियो । आयोगको जाँचका क्रममा चिनियाँ नागरिक दावाजिन वाङले पूर्वउपराष्ट्रपतिका सल्लाहकार जीवन गुरुङको नाममा रहेको डस्टर गाडी प्रयोग गर्ने गरेको खुलेको थियो ।

गुरुङले महरालाई ‘तपाईंको नाममा गाडी राख्नुस्, केही हुँदैन’ भनेपछि आफ्नो नाममा गाडी दर्ता गरिदिएको आयोगसमक्ष भनेको स्रोतको भनाइ छ । महराले आयोगसँग बाहिर प्रचार भएजस्तो घनिष्ठ सम्बन्ध नभएको दाबी गरेपनि गुरुङले वाङको कोठामा महरासहित पारिवारिक भेटघाट भइराख्ने बताएको स्रोतको भनाइ छ ।

महराले अमेरिकी दूतावासमा काम गरिसकेका एक जना व्यक्तिलाई छोरालाई छुटाइदिन भन्दै शंकास्पद म्यासेज लेखेको समेत स्रोतको दाबी छ । आफूलाई प्रहरीले नछुने बताउँदै उनले छोरा राहुललाई छुटाउन सहयोग गर्न भनेका थिए ।

चर्चामा

सम्बन्धित समाचार