सोमवार, माघ १६, २०७९
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • विश्वभर ओमिक्रोनको पारिवारिक सञ्जाल फैलँदो !

विश्वभर ओमिक्रोनको पारिवारिक सञ्जाल फैलँदो !

  • शुक्रबार, पुस २२, २०७९
विश्वभर ओमिक्रोनको पारिवारिक सञ्जाल फैलँदो !

चीनको उहानमा कोरोना भाइरस देखिए यता नयाँ भेरिएन्ट देखिए लगत्तै नयाँ लहरले उचाइ लिने गरेको देखिन्थ्यो। तसर्थ विश्वमा कोरोनाको स्वरूप परिवर्तन प्रति सबैले विशेष चासो र सतर्कता अपनाउने गरेको थियो। र सो परिवर्तित कोरोनाले देखाउने हर्कतको आधारमा विश्व स्वास्थ्य संगठनले पनि ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ अथवा ’भेरिएन्ट अफ कन्सर्न’ को निर्धारण गर्ने गर्दथ्यो/गर्दछ। हाल लामो समय देखि कोरोनाको नयाँ नयाँ भेरिएन्ट देखिने गरेको त छैन तर ओमिक्रोन भेरिएन्टको हाँगाबिँगा विकसित हुने र फैलने क्रमले भने व्यापकता पाएको देखिन्छ। अर्को वाक्यमा भन्नु पर्दा ओमिक्रोन भेरिएन्टमा या त म्यूटेशन भएर वा दुई म्यूटेशन भएका ओमिक्रोन बीच सम्मिश्रण भएर (हाईब्रिड भएर) नयाँ स्वरूपको भाइरस देखिने क्रमले आजको मितिसम्म पनि निरन्तरता भने पाइरहेको देखिन्छ।अझ अर्को वाक्यमा भन्नु पर्दा ओमिक्रोनको पारिवारिक सञ्जाल फैलने क्रमले तीव्रता पाइरहेको छ।हालै ओमिक्रोन भेरिएन्टको नयाँ पुस्ता “बिएफ ७” र “एक्सबीबी १.५ ” विश्व तरङ्गित गरेको देखिन्छ।”बिएफ.७” र “एक्सबीबी १.५ ” ले क्रमशः चीन तथा अमेरिकामा व्यापक प्रभाव पारेको देखिन्छ।

हाल चीनमा विशेषत: ओमिक्रोन भेरिएन्टको नयाँ पुस्ता “बिएफ.७” ले व्यापक सङ्क्रमण र मानवीय क्षति पारिरहेको जानकारीहरू आइरहेका छन् । तर कुन उमेर समूह, खोप लगाए/नलगाएका, तथा कस्ता स्वास्थ्य समस्या भएकालाई बढी प्रभावित पारिरहेको हो भन्ने स्पष्ट जानकारी भने छैन । अन्तर्राष्ट्रिय समाचारहरूमा आइरहेका सीमित जानकारी तथा सामाजिक सञ्जालमा देखिने श्रव्य/दृश्यलाई आधार मान्ने हो भने ज्येष्ठ नागरिकहरू मुख्यतः अस्पतालहरूका शय्यामा पुगेका देखिन्छन्।र सम्भवतः उनीहरू मध्यकाहरुले नै कोभिड-१९ को जटिलताबाट मृत्युवरण गरिरहेको हुनु पर्दछ। खोप लगाएका ज्येष्ठ नागरिकहरूको प्रतिशत पनि अति न्यून रहेको तथ्याङ्क तथा जानकारीहरू सार्वजनिक भइरहेका छन्। ओमिक्रोन अघिल्लो भेरिएन्टहरु भन्दा अनुसन्धान र अनुभवको आधारमा हेर्दा कम घातक देखिएको र मानिन्छ। तर लेखकले तेस्रो लहरको समयमा मृतकको मेडिकल इतिहासलाई गहन अध्ययन र सूक्ष्म विश्लेषण गर्दा ओमिक्रोन भेरिएन्टले विशेषतः खोप नलगाएका वा पूर्ण २ मात्रा खोप नलगाएका तथा दीर्घ रोग भएका ज्येष्ठ नागरिकहरूमा मानवीय क्षति पुर्‍याएको देखेको थियो।

त्यस्तै हङकङमा पनि ओमिक्रोन भेरिएन्टले तीव्रता पाउँदा धेरै मानिसहरूको मृत्यु भएको थियो। ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित लेखका अनुसार एक लाख जनसङ्ख्यामा कम्तीमा २५ जना भन्दा बढीको मृत्यु ओमिक्रोन भेरिएन्टको लहरमा भएको थियो।सो जर्नलमा जनाइए अनुसार मृतक मध्ये ९० प्रतिशत भन्दा बढीले खोपको पूर्ण मात्रा नलगाएका र विशेषत: ज्येष्ठ नागरिकहरू थिए। लेखकले नेपालमा ओमिक्रोन लहरमा गरेको अध्ययन तथा विश्लेषण हङकङमा देखिएको नतिजासँग हदैसम्म मिल्दो जुल्दो देखिन्छ। विगतमा ओमिक्रोन लहरले प्रभाव पर्दाको अनुभव तथा विश्लेषणलाई आधार मान्दा हाल चीनमा पनि “बिएफ.७” ओमिक्रोनको कारणले मृत्यु हुनेहरूमा वृद्ध, दीर्घ रोगी तथा खोप नलगाएकाहरू नै बढी भएको अनुमान गर्न सकिन्छ।यद्यपि फेरि पनि त्यहाँबाट यथस्त जानकारी भने आउन बाँकी नै छ।

विगतको अनुभवले भारतमा कोरोना भाइरस उत्कर्षमा पुग्दा केही हप्ताको अन्तरालमा नेपाल पनि तरङ्गित हुने गरेको देखिएको थियो। ओमिक्रोन भेरिएन्टको नयाँ पुस्ता “एक्सबीबी १.५” र “बिएफ ७” दुवै भारतमा देखिसकेको भनिएको छ।
पछिल्लो समय ओमिक्रोन भेरिएन्टको अर्को उपप्रजाति “एक्सबीबी १.५” ले अमेरिकामा पनि व्यापक प्रभाव पार्दै गइरहेको जानकारीहरू आउने क्रम जारी छ।यो उपप्रजातिलाई हालसम्म कै तीव्र गतिमा फैलन सक्ने कोरोना भाइरसको रूपमा पनि लिएको छ।पछिल्लो समय अमेरिकामा परीक्षण गरिएका नमुना मध्यमा कम्तीमा ४० प्रतिशत “एक्सबीबी १.५” ओमिक्रोन भेरिएन्टको उपप्रजाति देखिएको भनिएको छ। र निरन्तर अघिल्लो ओमिक्रोनको प्रजाति/उपप्रजातिलाई तीव्र बिस्थापित गर्दै गइरहेको पनि छ।तर यसको तीव्र फैलावटको बाबजुद पनि त्यसैको अनुपातमा मृत्यु हुनेको सङ्ख्यामा उल्लेखनीय बढोत्तरी भने देखिँदैन।यसलाई सकारात्मक रूपमा लिन सकिन्छ। स्मरण रहोस्, कोभिड विरुद्धको खोप सङ्क्रमण नहुन होइन तर सङ्क्रमित भए जटिल अवस्थामा जान र मृत्यु हुने सम्भावनालाई कम गर्नु हो।कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत भन्ने हुँदैन।

 

विगतको अनुभवले भारतमा कोरोना भाइरस उत्कर्षमा पुग्दा केही हप्ताको अन्तरालमा नेपाल पनि तरङ्गित हुने गरेको देखिएको थियो। ओमिक्रोन भेरिएन्टको नयाँ पुस्ता “एक्सबीबी १.५” र “बिएफ ७” दुवै भारतमा देखिसकेको भनिएको छ। तसर्थ आगामी दिनमा “एक्सबीबी १.५” वा “बिएफ ७” ले भारतमा सिर्जना गर्ने अवस्थाले नेपालमा पनि कस्तो अवस्था सिर्जना हुनसक्छ भन्नेमा धेरै हदसम्म अनुमान गर्न सकिने छ।हाल भारतमा पनि नेपालमा जस्तै सार्वजनिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य छैन र बुस्टर खोप लगाएकाको प्रतिशत पनि भारत-नेपालको करिब करिब मिल्दो जुल्दो नै देखिन्छ।नेपालमा हाल “एक्सबीबी १.५” र “बिएफ ७” दुवै पुष्टि भैसकेको त छैन तर भारतमा निरन्तर बढ्दै गएमा ढिलो चाँडो नेपालमा नदेखिए भन्न भने सकिँदैन।

अन्त्यमा, ओमिक्रोन भेरिएन्टको दर्जनौँ प्रजाति तथा उपप्रजातिहरू विकसित भैसकेको र हुने क्रम जारी रहेको देखिन्छ । भाइरसमा निरन्तर स्वरूपमा परिवर्तन हुनु/देखिनु अस्वाभाविक पनि होइन। सबै विकसित नयाँ भाइरसले जोखिम वा जटिलता निम्त्याउँछ भन्ने अनिवार्य पनि हुँदैन। नेपालमा पनि ओमिक्रोन भेरिएन्टको कम्तीमा १७ विभिन्न प्रजाति/उपप्रजाति पुष्टि भैसकेको छ।तर कुन प्रजाति वा उपप्रजाति, के कारणले/किन, कति बेला र कहाँ (कुन देशमा) घातक भएर आउने छ वा हुन्छ भन्ने सटिक भविष्यवाणी भने कसैले गर्न सकेको वा सक्ने भन्ने हुँदैन।केही समयको अन्तरालमा चीनमा हाल देखिएको ओमिक्रोन भेरिएन्टको नयाँ पुस्ता “बीएफ ७” ले अस्वाभाविक परिस्थिति सिर्जना गर्दा विश्व आश्चर्य चकित तर सम्भावित जोखिमलाई लिएर झस्किएको समेत देखिन्छ।सम्भवतः हाल चीन तथा अमेरिकामा देखिएका “बिएफ ७” र “एक्सबीबी १.५” ले नेपालमा घातक लहर ल्याउने सम्भावना धेरै न्यून देखिन्छ।तर विगतको ओमिक्रोन अनुभवलाई आधार मान्ने हो भने आगामी दिनमा खोप नलगाएका तथा विशेषत: ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी विशेष गरेर हालै विकास गरेको “बाई-भेलेन्ट खोप” दिन सके सम्भावित कोभिड जटिलताको लहरलाई रोक्न भने सकिनेछ।

चर्चामा

सम्बन्धित समाचार