मङ्लबार, मंसिर २०, २०७९
  • होमपेज
  • देश
  • कस्तो पोषणयुक्त खाना खाने ?

कस्तो पोषणयुक्त खाना खाने ?

  • शनिबार, असार ३२, २०७९
कस्तो पोषणयुक्त खाना खाने ?

संसारमा ४ दशमलव ३ प्रतिशत मानिसमा मात्र कुनै स्वास्थ्य समस्या नभएको र एक तिहाइ अर्थात् २ अर्ब ३० करोड मानिसमा पाँचभन्दा बढी रोग भएको कुरा सन् २०१३ को लान्सेटमा प्रकाशित ग्लोबल बर्डन अफ डिजिज स्टडिजको अध्ययनले देखाएको छ । १८८ देशमा अनुसन्धानकर्ताहरूले गरेको २०० रोगहरूको अवस्था तथा २३ सय रोगले ल्याएको परिणामबारे विश्लेषण गरेका थिए । यसमा धेरै रोग जीवनशैलीसँग सम्बन्धित छन् ।

धेरैजसो मानिस आफ्नो जीवनशैली परिवर्तन गर्न चाहँदैनन् तर सबै मानिसलाई जीवनशैली परिवर्तन स्वास्थ्यका लागि प्रभावकारी छ भन्ने जानकारी भने दिनुपर्छ ।

प्रायः मानिसलाई आफूले अँगालिरहेको जीवनशैली श्रेयष्कर लाग्छ । बिरामी नपरी, विज्ञले सुझाव नदिई या कुनै मेडिकल घटना नभई धेरै मानिस जीवनशैली बदल्न चाहँदैनन् । विभिन्न व्यापारिक कारणले पोषणबारेको भ्रामक जानकारीले गर्दा सही जीवनशैली अङ्गीकार गर्न अन्योल परेको केही मानिसलाई देख्न पनि सकिन्छ ।

खानाको उत्पादन तथा उपभोगमा पश्चिमी मुलुकहरूले अख्तियार गरेको नीति तथा प्रविधिको विकासले प्रायः विश्वभरि नै प्रभाव परेको छ । पश्चिमी मुलुकको खाना भनेको ठूलो मात्रामा उत्पादन हुने प्रशोधित खाना, रातो मासु, धेरै चिल्लो, दूध तथा यसका परिकार, उच्च चिनीयुक्त खाना, प्याकेटमा रहेको तयारी खाना भनेर चिनिन्छ । यसलाई स्ट्यान्डर्ड अमेरिकन डाइट भनेर पनि चिनिन्छ । यस्तो खानाको लहर संसारभरि फैलने क्रमजारी छ । यस्तो खानाले कार्डियोभास्कुलर (मुटु तथा सञ्चार रोग जस्तै स्ट्रोक), मधुमेह, क्यान्सर, डिमेन्सिया जस्ता रोगहरू लाग्ने मात्र नभएर ठूलो सङ्ख्यामा मानिसहरू डिप्रेसनको सिकार भइरहेका छन् । पश्चिमी फास्ट फुड रेस्टुराहरू खुल्ने क्रम जारी रहेको छ । यस्ता फास्ट फुड या जङ्क फुड मानिसको स्वाद मिल्दो बनाइएको हुन्छ । यो नसादार हुन्छ । यस्तो खानाको बानी परेपछि बच्चादेखि वृद्धसम्म धेरैलाई यो खानालाई छोड्न निकै कठिनाइ हुन्छ । पोषणसम्बन्धी मानिसमा यकिन जानकारीको पनि कमी रहेको छ ।

संसारभर दीर्घ रोगले ग्रसित हुने क्रम द्रुत गतिमा बढिरहेको छ । यसको खास कारण खोतल्न पोषणको इतिहासतर्फ फर्कन जरुरी छ । वर्तमानसम्मको खानाको विकास केलाउने हो भने यस्ता रोगहरूको आगमन कसरी भयो भनेर बुझ्न सजिलो हुन्छ ।

जीवनशैली: पोषणको महत्त्व (भाग–१)
खानाको केही उलेख्य विकासक्रम

संसारका हरेक प्राणीले खानुपर्छ । सबै जीवहरूको खानाको आआफ्नो विशेषता रहेको छ । मानव विकासको क्रमसँगै जङ्गली तथा सिकारी युगबाट करिब १०, १२ हजार वर्षअघिदेखि कृषि पेसा अपनाउन थाले । सिकारी युगमा पशुको सिकार गर्न सजिलो थिएन । औसतमा १९ पल्टको कोसिसमा मात्र एउटा सिकार गर्न सक्थे । त्यसैले मासुभन्दा पनि वनस्पति, फलफूल, फूल, बोक्रा, कीरा, फट्याङ्ग्रा आदि धरै खान्थे । करिब २५ लाख वर्षको मानव विकास क्रममा लामो समयसम्म अहिले भएका हाम्रो नजिकको वंशाणु (डीएनए) सम्बन्ध रहेको चिम्पान्जी तथा गोरिल्लाको जीवनशैलीसँग मिल्दोजुल्दो रहेको थियो । कृषिको विकाससँगै माटोसँगको सम्बन्ध गहिरो बन्न पुग्यो र उत्पादन बढ्न थाल्यो । कृषिले गर्दा सामाजिक सम्बन्ध विस्तार हुन थाल्यो । यस्तै अवस्था झन्डै अठारौँ शताब्दीको औद्योगिक क्रान्तिसम्म चल्यो । औद्योगिक क्रान्तिले ठूला स्टिल मिलको स्थापना भई खाद्यान्न पिन्न निकै सरल बनायो । यस्ता प्रविधिको विकासले होलग्रेनको बदलामा पीठो पिसेर चिनी तथा तेल मिसाएर अनेक परिकार बनाई खाने प्रचलनको निकै वृद्धि हुन थाल्यो । औद्योगिक क्रान्तिले सहरीकरण बढायो । औद्योगिक क्रान्तिले माटो, पशु तथा प्रकृतिको शोषण गर्न सुरु ग¥यो । रेल, मोटरकार, फ्रिजको आविष्कार भई यातायातको आधुनिक रूप ल्यायो । मासु तथा दूध टाढा दूरीसम्म पनि ढुवानी गर्न सकिने भयो । खेतीका लागि ठूला व्यापारिक केन्द्रको सुरुवात भई व्यावसायिक खाना बनाउने कम्पनीहरू अगाडि बढे र खानाको प्याकेज गर्न सुरु गरियो । सन् १८७० मा ठूलो क्यान फुडको फ्याक्ट्री खोलियो र पाश्चराइजेसन (स्टरलाइजेसन गरी खानालाई सुरक्षित तथा गुणस्तर बढाउन) गर्ने कामको सुरुवात भयो । यसपछि प्रोसेस खानाको आगमन भयो र खानाको बजारीकरण तेजले बढ्न थाल्यो । सन् १९३८ मा अमेरिकी सरकारले दूध, सुँगुर, कुखुरा, गहुँ, मकै, कपास उत्पादन गर्ने किसानलाई निर्धारित मूल्य तोकी सुरक्षा प्रदान गर्न एग्रिकल्चरल ऐडजन्मेन्ट एक्ट ल्यायो । यसले उत्पादन बढाउन ठूलो मद्दत गर्याे । पहिलो विश्वयुद्धपछि खानाको संस्कार परिवर्तन गरायो । यस युद्धमा लड्न जाने सिपाहीको खाना पर्याप्त मापनको लागि क्यालोरीको सुरुवात गरियो । दोस्रो विश्वयुद्धको समयमा न्युयोर्क टाइम्स पत्रिकाको मुख्य खबर “यो युद्ध भनेको यस भूमिको जुनसुकै दोकानमा गए पनि आफूले चाहेको सामान किन्न सक्ने हो, प्रत्येक ताप्केमा मासु हुनु हो” भन्ने थियो ।

सन् १९४० को दशकमा व्यापारिक पशुपालन युद्धको अगाडि करिब ७ करोडबाट बढेर १४ करोड पुगेको थियो र वर्तमानमा संसारमा करिब ७० अर्ब पशुपन्छी खपत हुन्छ । यस अवधिमा मकैको दानाको प्रारम्भ गरी पशुलाई खुवाउन सुरुवात गरियो । दानाले गर्दा पशुको पाचन शक्तिमा परिवर्तन भएकाले यसलाई सहयोग गर्न पशुलाई एन्टिबायोटिक दिन थालियो । दाना खाने पशुको मासु या दूधमा घाँस खाएको जस्तो पौष्टिकता हुँदैन । सन् १९४८ मा मेसिनद्वारा दूध दुहुने प्रविधिको आविष्कार भयो । यसै वर्ष झिँगा मार्नका लागि डीडीटीको प्रयोग गरियो । यसको आविष्कार गर्नेलाई नोबेल पुरस्कार दिइयो । फास्ट फुडको साथै ठूलो खाना बनाउने मेसिनहरूको विकास भयो ।

खानालाई लामो समयसम्म खपत होस् भनी प्रिजरभेटिभ तथा खानालाई स्वाद बढाउनका लागि अजिनोमोटो अर्थात् मोनोसोडियम ग्लुकोमेट (एमएसजी) खानामा हाल्न थालियो । नाइट्रोजन मलको (रासायनिक) प्रयोग भएपछि कृषिमा उत्पादन धेरै बढ्यो । यस मलले गर्दामा बिरुवाहरू कमजोर हुन पुगेपछि कीराहरूले नोक्सान गर्ने थाले । यी कीराहरू मार्न हर्बिसाइड र पेस्टासाइडको प्रयोग गर्न सुरुवात भयो । हर्बिसाइडसँग सामना गर्ने गरी हाइब्रिड वनस्पतिको विकास गरियो ।

युद्ध कोशको प्रयोग गरी अमेरिकाका ११ ठूला औषधि बनाउने कम्पनीहरूलाइ औषधि बनाउने जिम्मा दिइयो । यस बखत भिटामिनका चक्कीहरूको सुरुबाट भयो । यस्ता चक्कीहरूले मानिसलाई गलत सन्देश दियो । उदाहरणका लागि फोलिक एसिडको चक्कीलाई लिन सकिन्छ । शरीरका लागि अति आवश्यक फोलिक एसिडको स्रोत भनेको साग, ब्रोकाउली जस्ता सागसब्जी, गेडागुडी, सूर्यमुखी बियाँ आदि हुन् । तर यस्तो खाना खान छोडेर मानिसहरू फोलिक चक्कीको भर पर्दा नवजात शिशुदेखि सबैको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

बढ्दो मुटुरोग, स्ट्रोक, क्यान्सर, मधुमेह आदि रोगरूलाई मध्यनजर गर्दै सन् १९७७ मा अमेरिकामा म्यकगोभरन कमिटीले मासु तथा दूध (डेरी प्रडक्ट) लाई कम खान सल्लाह दियो र पोषणको बारे चर्चाको भयो । सन् १९८२ मा अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सले पोषण भाषाको परिचय गरायो । कोलेस्ट्रोल, फाइबर, फ्याट, प्रोटिन, कार्बाेहाइड्रेट, एन्टिअक्सिडेन्ट जस्ता शब्दहरूको प्रयोगले धेरैमा अरू भ्रम सिर्जना गर्याे ।

अमेरिकी कृषि मन्त्रालयले सन् १९०० देखि २००० बीचको सय वर्षको अवधिमा प्रतिव्यक्ति अमेरिकीले उपभोग गरेको औसत खानाको तथ्याङ्क उपलब्ध गराएको छ । जसमा चिनीको उपभोग २८ गुणा वृद्धि भएको छ । सन् १९०० मा दुई दशमलव ३ किलो चिनी प्रत्येक व्यक्तिले वार्षिक उपभोग गर्थे भने सन् २००० मा ६४ किलो रहेको छ । त्यसै तेल या चिल्लो २ किलोबाट बढेर ३४ किलो सफ्ट ड्रिक्स शून्यबाट सय वर्षको अन्तरालमा प्रतिव्यक्ति औसत २०० लिटर वर्षको पुगेको छ । यति धेरै क्यालोरी उपभोगले मोटोपन तथा दीर्घरोग बढाउने प्रमुख कारक हो ।

खानाको विकासक्रमले दिएको सन्देश

यसरी हेर्दा औद्योगिक क्रान्तिपछि सुरुवात गरिएको आधुनिक खानाको आविष्कारले खानाको पोषणमा ह्रास गराएको छ । उत्पादन हुने माटोमा अनेक रासायनिक मल तथा विषादीको प्रयोगले खानाको गुणस्तरमा भारी प्रभाव पारेको छ । सन् १९५० को एउटा स्याउ खाँदा पाइने आइरन अहिले पाउन २६ वटा स्याउ खानुपर्छ । जेनेटिक मोडीफाइड गरिएको, माटोको गुणह्रास, पेस्टासाइटको उपयोगले खानाको पोषणमा कमी आउनुको साथै टक्सिक (विषाक्त) भएको छ ।

कृषि युगमा प्रवेश हुनुअगाडि करिब दुई लाख पुस्ताहरू जङ्गली युगमा नै रहेका थिए । कृषिको विकास गरेको पुस्ता वर्तमानसँग हेर्दा करिब ६०० हुनपुग्छ । औद्योगिक क्रान्तिपछिको पुस्ता भए जम्मा १० मात्रै छ । यसरी मानव विकासको क्रमलाई २४ घण्टा समयको कसीमा राखेर हेर्दा कृषि युगबाट वर्तमानमा आइपुगेको ४ मिनेट तथा औद्योगिक क्रान्तिबाट एक मिलिसेकेन्ड मात्र हुन्छ । यति छोटो अवधिमा हाम्रो वंशाणु (जिनेटिक्स) ले विकासको क्रममा अगाडि बढ्न पर्याप्त समय पाएको छैन । वर्तमानमा विकास गरिएको प्रशोधित खानाले मानव खानाका लागि प्राकृतिक रूपले ग्रहण गर्न अर्काे एक लाख पुस्ताले उपभोग गरेपछि मात्र हाम्रो शरीरको लागि उपयुक्त हुनसक्ने जिकिर गर्न सकिन्छ । जिनेटिक्स वातावरणसँग समानान्तर रूपले अगाडि नबढेकाले यस्तो धेरै क्यालोरीयुक्त खाना हाम्रो शरीरले थेग्न नसकेर नै मुटुरोग, क्यान्सर, मधुमेह जस्ता दीर्घरोगबाट मानिसहरू पीडित हुने क्रम जारी छ । हामीले हाम्रो खाना, वातावरण तथा जीवनशैली यति चाँडै बदली हाम्रो जिनेटिक्सले सम्हालन सक्छ भन्नु नै गलत हो ।

कस्तो पोषणयुक्त खाना खाने ?

जस्तो प्रकृतिले दिएको छ त्यही अनुरूप वनस्पतिप्रधान खाना खानुपर्छ । सागसब्जी, हालग्रेन अन्नहरू, बेरिहरू (स्ट्रबेरी, काफल, जामुन) नट्स बियाँहरू, गेडागुडी जस्ता खानाका उदारहण हुन् । मासुमा हुने स्याचुरेटेट फ्याट तथा मासु प्रोटिनले बढाउने हार्माेन इन्सुलिन लाइक ग्रोथ फ्याक्टर (आईजीएफ–१) रोगको जोखिम बढाउने कुरा प्रमाणित भइ नै सकेको छ । उत्तम स्वास्थ्यका लागि साकाहारी आहार श्रेयकर हुने कुराको यथार्थ बुझ्न जरूरी छ । तर तेल र नुनलाई भने बर्जित गर्नुपर्छ ।

दीर्घ रोगको जोखिमका खास चालकहरूको गति कम गर्नका लागि वनस्पति प्रधान खानाको प्रभावकारिता रहेको छ । खास दीर्घ रोगको जोखिम भनेको निम्न छन् ।

–आन्तरिक सुनिनु (इनफ्लमेसन)– निम्न श्रेणीको दीर्घ आन्तरिक सुनिने कारणले हुने जोखिम कार्डियोभास्कुलर (मुटु तथा सञ्चार) रोग हो । इनफ्लमेसनले नलीभित्र बोसो जम्मा हुने प्रक्रियालाई रोक्ने (फाइब्रोस क्याप) लाई कमजोर बनाउँछ, जसले गर्दा बोसो जम्मा भई रक्त नलीमा रगत आपूर्ति गर्नलाई व्यवधान गर्छ अनि हृदयाघात तथा स्ट्रोकको जोखिम बढ्छ । यसबाट नली फुट्ने सम्भावना पनि बढ्छ । इनफ्लमेसनले इन्सुलिनले दिमागलाई सङ्केतलाई हस्तक्षेप गर्नुको साथै इन्सुलिन प्रतिरोध बनाई मधुमेहको जोखिम बढ्छ । इनफ्लमेसनले ट्युमर बढाउन उत्साहित गर्नुको साथै डीएनएको मर्मत गर्ने प्रोटिनलाई नोक्सान पार्छ ।

–अक्सिडेटिभ स्ट्रेस : यसले प्रोटिन, डीएनए, सेल मेम्ब्रेनलाई नोक्सान गर्नलाई उत्प्रेरित गर्छ । जसले गर्दा दीर्घ रोगको विकासको साथै यसको जटिलतालाई अरू बढाउँछ । विभिन्न अनुसन्धानले लगातार शाकाहारी (भिगन) मानिसमा एन्टिअक्सिडेन्टको अवस्था मासु खानेको भन्दा निकै बढी देखाएको छ ।

–लाइपोटक्सिसिटी : तन्तुबाहेक शरीरका ठूला अङ्गहरू जस्तै मुटु, कलेजो, प्यानक्रियाज, मांसपेशी आदिमा बोसो जम्मा हुनु हो । खासमा स्याचुरेटेट तथा ट्रायन्स फ्याट तथा प्रशोधित कार्बाेहाइड्रेटको बढी उपभोगले मोटपन बढ्ने हुन्छ । प्रशोधित कार्बाेहाइड्रेटमा पनि अझ फ्रुकटोजसहितको चिनीले ग्लुकोजले भन्दा बढी बोसो बढाउँछ । भिगन जीवनशैली अनुसरण गर्ने मानिसको समूह सबैभन्दा कम मोटो हुनुको साथै स्याचुरेटेट फ्याट उपभोगको दर पनि न्यून रहेको छ ।

–डिस्बिओसिस : पेटमा उचित किसिमको ब्याक्टेरिया नभएमा यसले स्वास्थ्यमा अनेक समस्याहरू निम्त्याउँछ । खराब ब्याक्टेरियाले जरूरी पोषणको आपूर्ति कम गर्छ । शरीरको प्रतिरक्षा कार्यलाई कमजोर बनाउँछ । इनफ्लमेसन, अक्सिडेटिभ स्ट्रेस, अति मोटोपन तथा दीर्घरोगहरूलाई बढाउँछ ।

सबैभन्दा प्रभावकारी पोषणको आदर्श भनेको सुरक्षित पोषणका तत्त्वहरू भएको खाना बढी खाने हो । यसको अर्थ फाइबर, फाइटोकेमिकलहरू, वनस्पति इन्जायम, स्टेरोल्स प्लान्ट, प्रि तथा प्रोबायोटिक्स जस्ता माइक्रोन्युट्रियन्सहरू बढी उपभोग गर्नु हो । यसको विपरीत स्याचुरेटेट ट्रान्स फ्याट, प्रशोधित कार्बाेहाइड्रेट, नुन, एनईयू ५ जीसी, टीएमएओ, धेरै तापक्रममा पकाइएको, प्रो अक्सिडेन्ट जस्ता खाना एकदम कम गर्नुपर्छ । फाइटोकेमिकल्स वनस्पति खानामा पाइने अर्गानिक तत्त्वहरू हो जसले रोग प्रतिरोध गर्नको साथै समग्र स्वास्थ्यका लागि फाइदा पु¥याउँछ । यसले भविष्यमा हुनसक्ने क्यान्सरको जोखिम रोक्न सहयोग गर्छ । फाइटोकेमिकल्सको उदारहणहरू फ्लाभोनोइड्स, फिनोलिक एसिड, इसोफ्लाभोनेस, कर्कुमिन, आइसोथाइओसाइओनेट्स र कयारोटिनोइड्स आदि हुन् । एन्टिअक्सिडेन्टहरूले कोषहरूलाई नोक्सान गर्ने मलिक्युल (फ्री ¥याडिकल्स) बाट बचाउँछ । एन्टिअक्सिडेन्ट र फ्री ¥याडिकल्सबीच सन्तुलन राख्नु हाम्रो स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ ।

होलग्रेन अन्नमा फाइबर युक्त ब्रान भन्ने बाहिर, एन्डोस्पर्म तथा जर्म भन्ने पोषणयुक्त तत्त्व हुन्छ भने प्रोसेस गरिएको सेतो अन्नमा एन्डोस्पर्म भन्ने बीचको माग मात्र रहन्छ । प्रशोधित गर्दामा करिब ९० प्रतिशत फाइबर, ८० प्रतिशत मिनरल्स, ९५ प्रतिशत फाइटोकेमिकलहरूको नोक्सान हुन्छ । सबै होलग्रेन बराबर होइन । फापर, जौ, ओट, कोदो आदि अग्रणी होलग्रेन अन्नहरू हुन् । साधारण प्रशोधित कार्बाेहाइड्रेटको उदारहण चिनी, सिरप, जाम, जेली, क्यान्डी आदि हुन भने मिश्रित प्रशोधित कार्बाेहाइड्रेटमा सेतो पीठोको परिकार, सेतो भात, पास्ता आदि पर्छ ।

प्रशोधित कार्बाेहाइड्रेटको धेरै उपभोगले आन्तरिक सुनिने बनाउँछ । साथै मोटोपन, कलेजोमा बोसो हुने रोग, इन्सुलिन प्रतिरोध मधुमेह, उच्च ट्राइग्लिसराड तथा मुटुरोग लाग्ने प्रबल जोखिम हुन्छ ।

उमारिएको गेडागुडी अझ स्वास्थ्यकर हुन्छ । जब गेडागुडी अङ्कुरित हुन्छ तब पोषण विरोधी तत्त्व टुट्छ र स्टोर गरिएको पोषण गेडागुडीको वृद्धिको लागि उपलब्ध हुन्छ । प्रोबायोटिक्स भनेको एकदमै सूक्ष्मजीवाणुहरू हुन जुन खानाको माध्यमबाट पेटमा बस्छ र स्वास्थ्यलाई सकारात्मक असर पर्छ । त्यस्तै प्रिबायोटिक्स भनेको पेटमा बस्ने ब्याक्टेरियाका लागि खाने खाना हो । फर्मेन्टेसन गरिएका सब्जीहरू जस्तै किम्ची, टेम्फे, मिसो आदि खाना प्रिबायोटिक्सका उदाहरण हुन् । गोलभँेडामा पाइने लाइकोपिनले पयानक्रियाज, कोलोरेक्टर, स्तन, फोक्सोको क्यान्सरको जोखिमलाई कम गर्छ । गेडागुडीमा इनोसिटोल पेन्टकिस्फोस्फेट (आईपी–५), प्याजमा एलिनेग (ताप अनुरूप हुने इन्जायम), सल्फाइड, फ्लाभोनोइड्स, च्रओमियम, क्युरेटिन, फ्रुक्टोओलीगोसअचारिड्स अनि च्याउमा एन्जियोजेनिसिस प्रतिरोध, एरोमेटेज प्रतिरोध क्यान्सर हुन नदिने अति लाभदायी पोषणका तत्त्वहरू पाइन्छ । यसको अलावा शरीरलाई चाहिने भिटामिन डी, बी–१२, आयोडिन, ओमेगा–३ जस्ता भिटामिन तथा मिनरल्सको पूर्णता हुनुपर्छ ।

जीवनशैली परिवर्तन भनेको पहिलो आफ्नो बारेमा परिवर्तन आई दिमागमा अठोट गरेपछि गर्न सकिने कुरा हो । स्वयं सुधारिने तथा निरन्तर ज्ञान लिई आत्मबल उच्च राखी दीर्घकालीन रूपमा जीवनशैली परिवर्तन गर्न सकिन्छ । खाना खाएर मात्र आनन्द आउने भनेको उद्देश्यबिनाको जीवन हुन पुग्छ । यसमा पनि झन् भावनात्मक खाने बानीले मनोविकार अरू बढाउँछ । क्षणिक आवेशमा आएर छोटो अवधिका लागि गरिने डाइटिङको कुनै फाइदा हुँदैन । जीवनशैलीमा सधैँ ढाल्न नसकिने अल्पकालीन डाइटिङको समाप्तिपछि फेरि पुरानै बानीमा फर्कंदा शरीरको भिस्सेरियल फ्याट अरू बढ्न जान्छ जुन फ्याट पेटको गहिराइमा हुन्छ, जहाँ शरीरका मुख्य अङ्गहरू रहेका छन् ।राताेपाटीकाे सहयाेगमा

स्वस्थ्यकर जीवनशैलीको लागि निम्न तरिकाहरू अपनाऔँ

१. वनस्पति प्रधान होलग्रेनलाई आफ्नो खानाको आधार मानौ : सलाद, सागसब्जी बढी खाऔँ । गेडागुडी, प्याज, च्याउ, होलग्रेन अन्न, ४० ग्राम नट्स तथा बियाँहरू नियमित खाऔँ । मसालाको प्रयोग गरौँ ।

२. प्रोटिनका लागि जनावरबाट पाइनेभन्दा बनस्पतिलाई रोजौँ ।

३. खराब चिल्लोको बदलामा स्वास्थ्यकर छानौँ । नुन, तेल र चिनीलाई लगाम लगाऔँ ।

४. पोषणका सुरक्षित तत्त्वहरू बढी खाऔँ ।

५. प्रदूषित तत्त्वहरू जस्तै किटनासक औषधि अरू विषादी हालिएको खानाको सट्टा अर्गानिक खाऔँ ।

६. शरीर पातलो, तन्दुरुस्त राखौँ ।

७. आफ्नो स्वास्थ्यमा जागरुक होऔँ ।

 

चर्चामा

सम्बन्धित समाचार