मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • समाचार
  • नेपालमा पहिलो पटक शिशुको कलेजो प्रत्यारोपणको अन्तरकथा

नेपालमा पहिलो पटक शिशुको कलेजो प्रत्यारोपणको अन्तरकथा

  • सोमवार, बैशाख ६, २०७८
नेपालमा पहिलो पटक शिशुको कलेजो प्रत्यारोपणको अन्तरकथा

५ वैशाख, काठमाडौं — ‘छोरालाई घर लैजाँदैछौं । अब ढुक्क भयो भनेर धेरै खुसी छौं ।’

सन्तोष पहरी प्रफुल्ल मुद्रामा आफन्तलाई फोनमा भन्दै थिए । ३४ दिन अस्पताल बसेका उनीहरू चैत २५ गते घर जाने तयारीमा थिए ।

छोरालाई फर्काउन सकिंदैन कि भन्ने भयले फागुन २१ गते घरबाट अस्पताल लैजान पाइलै सरेको थिएन पहरी दम्पतीको । नियमित अस्पताल धाइरहेका उनीहरूको गोडा त्यो दिन हिंड्नै मानेको थिएन । किनभने, ११ महिने छोराको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको थियो । त्यो नै नेपालमा शिशुको पहिलो कलेजो प्रत्यारोपण थियो । एक त जटिल प्रत्यारोपण, त्यसमाथि यसअघि नेपालमा नभएको अप्रेसन । छोराको कलेजो प्रत्यारोपण डाक्टरी प्रयोग मात्र बन्ने हो कि भन्ने आशंकाले त्रसित थिए, पहरी दम्पती ।

डकर्मी काम गर्ने सन्तोष र सानो किराना पसल चलाउने रन्जिता पहरीको लागि आफ्नै खर्चले छोरामा कलेजो प्रत्यारोपण गराउनु सम्भव थिएन । त्यो अवसर उनीहरूको संघर्ष, दाताको सहयोग र डाक्टरहरूको आँटले जुराउँदै थियो ।

र पनि, ‘नेपालमा पहिलोपटक’ भन्ने वाक्यले रन्जिता र सन्तोषलाई हच्काइरह्यो । हाम्रो छोरोमाथि प्रयोग मात्र हुने हो कि भन्ने डरले निर्णय लिन सकस परेको सन्तोष बताउँछन् । ‘शुरुमा म नै मानिरहेको थिइनँ’ उनी भन्छन्, ‘तर, डाक्टरहरूको परामर्शले आँट दियो ।’
पहरी दम्पतीको दोस्रो सन्तानको रूपमा वैशाख ४ गते नेपाल मेडिकल कलेजमा सिरसको जन्म भएको थियो । जन्मँदै हल्का पहेंलो देखिएपछि रञ्जिताले डाक्टरसँग जिज्ञासा राख्दा ‘सामान्य जन्डिस छ, केही दिन घाममा सेकाउँदा ठीक हुन्छ’ भन्ने जवाफ पाएकी थिइन् ।

‘तर, हरेक बिहानको घाममा सेकाउँदा पहेंलोपन बढ्दै गयो’ रञ्जिताले भनिन्, ‘खोप लगाएको ४५ दिनपछि त छोराको आँखा बेसार जस्तै पहेंलो भएर आयो, हात पनि सुन्नियो ।’ त्यसबीचमा उनीहरूलाई जन्डिस हटाउन जडिबुटी प्रयोग गर्न धेरैले सुझाए । त्यसअनुसार, रञ्जिताले पहेंलो लहरा खाइन् । त्यसपछि आमाको दूध खाएका सिरस पटक–पटक बेहोस हुन थाले ।

उनलाई अस्पताल लैजाने क्रम चलिरहेकै थियो । पाँच महीनामा कलेजोमा समस्या भएको बताउँदै डाक्टरले नयाँ औषधि लेखिदिए । त्यसले काम नगरे कलेजो प्रत्यारोपण गर्नुुपर्ने अवस्था आउनसक्ने डाक्टरले बताएका थिए । त्यो औषधि खुवाउन थालेपछि सिरसमा जन्डिसको मात्रा घटबढ भइरह्यो । दुई महीनापछि डाक्टरले अब कलेजो प्रत्यारोपण बाहेक अर्को उपाय नरहेको जनाउँदै त्यसका लागि मोटामोटी ६० लाख रुपैयाँ खर्च लाग्ने पनि बताए ।

‘दुःखले गुजारा चलाइरहेका हामी त्यत्रो रकम कुनै हालतमा जुटाउन सक्ने थिएनौं,’ सन्तोष भन्छन्, ‘फेरि, अंग प्रत्यारोपण गर्दा चाहिने १२ केजी तौल पनि छोरामा थिएन ।’ त्यहीबीचमा उनी त्रिवि शिक्षण अस्पतालका डा. पवनराज चालिसेको घरमा काम गर्न पुगे, जुन सिरसलाई नयाँ जीवन दिने संयोग बन्यो । ‘चालिसे डाक्टरसापको माध्यमबाट डा. रमेश सिंह भण्डारीसम्म पुगें,’ सन्तोष भन्छन्, ‘सिंह डाक्टरसापले हाम्रो छोराको अप्रेसन गर्न सकिने बताउनुभयो ।’

डा. सिंहको टीमले भारतमा लाग्नेभन्दा आधा कम खर्चमा नेपालमा कलेजो प्रत्यारोपण गर्न सकिने कुरा सुनायो, तर पहरी दम्पतीसँग त्यत्ति रकम पनि थिएन । पहरी दम्पतीलाई छोरो बचाउने रकम कसरी जुटाउने भन्ने सकसले नराम्ररी थिचिरहेको बेला सामाजिक सञ्जालमा सहयोगको अपिल गर्ने जुक्ति निस्क्यो । त्यो जुक्तिले काम पनि गर्‍यो । सिरसलाई बचाउन देश–विदेशबाट सहयोग रकम आउन थाल्यो । आमाले कलेजो दिन ‘बोसिय तत्व’का कारण मिलेन, बुवाको ठ्याक्क मिल्यो ।

र पनि, ‘नेपालमा पहिलोपटक’ भन्ने वाक्यले रन्जिता र सन्तोषलाई हच्काइरह्यो । हाम्रो छोरोमाथि प्रयोग मात्र हुने हो कि भन्ने डरले निर्णय लिन सकस परेको सन्तोष बताउँछन् । ‘शुरुमा म नै मानिरहेको थिइनँ’ उनी भन्छन्, ‘तर, डाक्टरहरूको परामर्शले आँट दियो ।’

त्यसपछि आवश्यक सम्पूर्ण जाँच भयो । सबै रिपोर्ट सकारात्मक आएपछि छोरालाई कलेजो दिन तयार भए सन्तोष । फागुन ७ गते प्रत्यारोपण गर्ने तयारी भएकोमा शिशुलाई नियमित खोप लगाउन समस्या भएर २९ गतेको मिति तय भयो । त्यसका लागि सिरसलाई नौ दिनअघि नै अस्पताल भर्ना गरियो ।

छोरालाई अस्पताल भर्ना गरेपछिका रातहरू अनिंदो बिते । हप्ता, दिन, घण्टा गर्दै फागुन २९ गते आयो । सन्तोष भन्छन्, ‘कलेजोको टुक्रा निकाल्न मलाई अप्रेसन थिएटरमा लैजाँदा चाहिं अब छोरालाई बचाउन सक्ने भएँ भन्ने आत्मविश्वासमा थिएँ ।’ रन्जिता भने सन्तोषलाई भित्र लगेपछिको डर र बेचैनीले अत्याएको बताउँछिन् । दुई घन्टापछि सिरसलाई पनि भित्र लगियो । ‘त्यसपछिको समय सम्झँदा अहिले पनि आतेश लाग्छ’, उनी भन्छिन् ।

अपरान्ह तीनबजे अप्रेसन थिएटरमा पसेका सन्तोषको होश नौ बजे खुल्यो । त्यसपछिको तीन दिन आईसीयू र चार दिन वार्डमा बसेका उनी अहिले एकदम स्वस्थ र खुसी छन् । ‘डाक्टरहरूले एकाध महीनापछि नियमित काम गर्न मिल्ने भन्नुभएको छ’ उनी भन्छन्, ‘यसका निम्ति म डाक्टरहरूसँगै उपचारको लागि आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइ–दिदीबहिनीलाई नमन गर्छु ।’

तीन हप्ता आईसीयू र १६ दिन वार्डमा राखेर डिस्चार्ज गरिएका सिरसको अवस्था पनि सन्तोषजनक छ । केही समयसम्म उनको विशेष ख्याल राख्नुपर्नेछ । ‘सहयोगी मनहरूको साथ र डाक्टरहरूको प्रयासले मेरो बाबुले नयाँ जीवन पायो’ रन्जिता भन्छिन्, ‘अरूका नानीबाबु पनि मेरो बाबुजस्तै भाग्यमानी हुन् ।’ यसो भनिरहँदा उनको गला अवरुद्ध भयो । ‘सफलताको एउटा कोसेढुंगा’

सिरसको केसले शिशुहरूमा अंग प्रत्यारोपण गर्न नेपाल सक्षम रहेको सन्देश दिएको प्रत्यारोपणमा संलग्न प्रा.डा. रमेशसिंह भण्डारी बताउँछन् । शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण शुरु गरेका उनका अनुसार, शिक्षणमा यो पाँचौं प्रत्यारोपण हो । आप्mनो टीमप्रति सिरसका अभिभावकले विश्वास गर्दा नेपालमा शिशुमा पनि कलेजो प्रत्यारोपण सम्भव भएको प्रा.डा. भण्डारी बताउँछन् । ‘उहाँहरूले हामीलाई विश्वास नगरेको भए नेपालमा शिशुहरूको अंग प्रत्यारोपणको बाटो खुल्ने थिएन’ उनी भन्छन्, ‘कलेजो प्रत्यारोपणका लागि अझै कति वर्ष भारत नै धाइरहनुपथ्र्यो ।’

पहिलो कलेजो प्रत्यारोपणमा शिशुको अभिभावकलाई जस्तै डर प्रा. डा. भण्डारीको टीमलाई पनि थियो । असम्भव त होइन, तर पहिलो केसमा केही गडबडी भए नेपालमा यो किसिमको प्रत्यारोपण अहिले सम्भव छैन भन्ने हुन्थ्यो । ‘यही मनस्थितिमा सिरसको कलेजो प्रत्यारोपण गर्ने तयारी गरेका थियौं’ प्रा.डा. भण्डारी सम्झन्छन्, ‘अन्ततः हामी चाहेकै परिणाम निकाल्न सफल भयौं । यसलाई नेपालको स्वास्थ्य क्षेत्रको सफलताको एउटा कोसेढुंगा मान्न सकिन्छ ।’

चर्चामा

सम्बन्धित समाचार