
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबाका पक्षमा फैसला गर्ने सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता हुँदैछ । पीडित पक्ष हिजै अपरान्ह न्याय परिषद् पुगेका थिए । तर, समय अभाव र प्रकृयाका कारण आज उजुरी दर्ता हुन लागेको हो ।
न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठले आफूले हिजो पीडितका कुरा सुनेर नोटिस समेत गरेको रातोपाटीलाई बताए । भने, ‘पीडित पक्ष न्याय परिषद्मा उजुरी दर्ता गर्ने तयारीमा थिए । सायद प्रक्रियामै होला ।’
न्याय परिषद्का सचिव देबेन्द्रराज ढकालको सचिवालयमा कार्यरत अधिकृत रमेश आचार्यका अनुसार उजुरी दर्ता हुनु अघि एक पटक त्यसको प्रकृया मिलेको छ कि छैन ? सचिवले हेर्ने चलन छ । त्यसैले उनलाई सचिवले हेरेको जानकारी छैन । भन्छन् ‘सायद दर्ता हुने प्रकृयामा होला ।’ न्याय परिषद्मा कार्यरत एक उपसचिवका अनुसार पीडितको उजुरी दर्ता प्रकृयामा छ र आज दर्ता हुनेछ ।
न्याय परिषद् सदस्य श्रेष्ठका अनुसार न्यायाधीश कोइरालाले गरेको फैसला मगाइएको छ । त्यो फैसला पढेपछि मात्र न्यायाधीशले गलत मनसायले फैसला गरेको हो/होइन भन्न सकिन्छ ।
‘समाचार आएपछि यस्तो फैसला कसरी गरे होलान भनरे सुरुमा हामी पनि अचम्म परेका थियौं । बुझ्दै जा“दा समाचारमा आए जस्तो होइन रहेछ’, श्रेष्ठ भन्छन् ‘कन्टिन्युस हियरिङ भन्ने हुन्छ । कन्टिन्युस हियरिङबाट फैसला भएको रहेछ । त्यसैले फैसला नहेरी अहिले नै न्यायाधीश गलत भनेर ठहर गरेर भन्न मिल्दैन ।’


