शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • यौन सन्तुष्टि र सन्तान भएन, के गर्ने ?

यौन सन्तुष्टि र सन्तान भएन, के गर्ने ?

  • मङ्लबार, मंसिर २, २०७७
यौन सन्तुष्टि र सन्तान भएन, के गर्ने ?
करुणा कुँवर

करुणा दिदी, तपाईंले धेरैजनाको समस्या समस्या समाधान गर्दै आउनुभएको हुँदा मलाई केही उपाय दिनु हुने आशा गरेकी छु ।

म अहिले २७ वर्ष पुगेँ । मागी विवाह भएको ३ वर्ष भयो । हामीले तत्काल सन्तान नजन्माउने सल्लाह गरेका छौं । तर, म यौन समागममा सन्तुष्टिको अनुभूति गर्न सकिरहेकी छैन । श्रीमान् पनि त्यही बताउनुहुन्छ । यौन सन्तुष्टिको अभावमा हामी दुवैको जीवन निरस हुन थालेको छ ।

तपाईंका लेखहरुले यौन सन्तुष्टिका लागि फोर प्ले आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको पाइन्छ । तर मेरा श्रीमान यसमा रुची राख्नुहुन्न । यसरी असन्तुष्ट रहँदा यौन सम्पर्कपछि हामी दुवैलाई दुखाइको अनुभव हुन्छ । र, केही दिनसम्म यौन सम्बन्ध रहँदैन । यस्तो समस्याको कुनै हल छ ?

जवाफः तपाईंको जस्तो समस्या लिएर मकहाँ थुप्रै आउँछन् । कतिपय महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुन्छ । तीमध्ये कतिले कहिल्यै चरम यौन सन्तुष्टि नपाएको गुनासो गर्ने गरेका छन ।

कतिपय मानिस किन चरम यौन आनन्दमा पुग्न सक्तैनन् भनेर विभिन्न अनुसन्धान भएका छन् । ४२ प्रतिशत महिला कहिलेकाहीँ चरम सन्तुष्टिमा पुग्न नसक्ने एउटा अनुसन्धानले देखाएको छ । त्यसमा १० प्रतिशत महिलाले जीवनकालमा एकपटक पनि चरम सन्तुष्टि नपाएको उल्लेख छ । यी दुवैखाले महिलालाई मनोचिकित्सकको सल्लाह आवश्यक हुन्छ । त्यसको मनोवैज्ञानिक पक्षहरु पत्ता लगाएर उपचार गर्नुपर्ने हुन्छ ।

अव तपाईंले भोगिरहेको समस्याबारे छोटो चर्चा गरौं । महिलामा हुने यस्तो समस्यालाई एनोरगाज्मिया भनिन्छ । मनोवैज्ञानिक, सामाजिक र जैविक कारणले एनोरगाज्मिया हुन्छ । जैविक कारणमा कुनै औषधि वा रासायनिक पदार्थको भूमिका हुन सक्छ । मनोवैज्ञानिक कारणमा दिक्दारिपन, चिन्ता, यौन रोग, गर्भ रहने डर जस्ता पक्षहरु हुन्छन् । यौन हिसा भएको छ भने पनि एनोरगाज्मिया हुन सक्छ ।

सामाजिक कारणमा पार्टनरसँग कम कुराकानी हुने वा हुँदै नहुने, झगडा भइरहने अवस्था जिम्मेवार हुन्छ । महिलाले यौनेच्छा प्रकट गर्न नहुने भन्ने धार्मिक–सांस्कृतिक दृष्टिकोण पनि यसमा जिम्मेवार हुनसक्छ । चरम यौन सन्तुष्टि नहुनुमा यीमध्ये एक वा यी सबैको मिश्रण भएको पाइएको छ ।

तपाईं श्रीमान्–श्रीमतीको सम्बन्ध सुमधुर नै छ भन्ने बुझिन्छ र आफैं पनि यौन सन्तुष्टिका लागि प्रयास गर्दै हुनुहुन्छ । तपाईंहरुले यौनबारे एक अर्कामा खुलेर कुरा गर्नु र मनोचिकित्सकको परामर्श लिनु आवश्यक छ ।

चर्चामा

सम्बन्धित समाचार