बिहिबार, कार्तिक १३, २०७७
  • होमपेज
  • बाजुरा बिशेष
  • राजनीति इमान्दारिताका प्रतिमूर्ति स्व.राजेन्द्र बहादुर शाही

राजनीति इमान्दारिताका प्रतिमूर्ति स्व.राजेन्द्र बहादुर शाही

  • बुधबार, अशोज ७, २०७७
राजनीति इमान्दारिताका प्रतिमूर्ति स्व.राजेन्द्र बहादुर शाही

जन्मेपछि मृत्यु हुन्छ, शास्वत कुरा हो । जन्मेपछि नमरुन्जेलसम्म मानिसले अनेक कार्य गर्दछन् । त्यही कार्यको आधारमा मान्छेको गुण र दोषको मूल्याङ्कन हुने गर्दछ । मृत्यु पश्चात ढिलो चाँडो व्यक्ति स्मृतिबाट हराएर जान्छ जुन स्वभाविक मानिन्छ । तर कतिपय यस्ता व्यक्तिहरु हुन्छन् खासखास समय या बेला मौकामा स्मृतिमा ताजा भएर आइरहन्छन् । केवल भूगोल, परिवेश र काम फरक हुनसक्छ । त्यस्तै मध्येका एक स्वर्गीय राजेन्द्र बहादुर शाहीको जन्म वि. स. २०१५ साल असोज ७ गतेका दिन पिता नरबहादुर शाही र माता रुपकला शाहीका जेष्ठ सुपूत्रका रुपमा बाजुराको बाँधु गाउँमा भएको थियो ।

वि.सं. २०३४ साल बझाङ्को भोजपुरमा अवस्थित सत्यवादी हाइस्कूलबाट एस.एल.सी. उत्तीणर् गर्नुभएका शाही इलाहावाद विश्वविद्यालय भारतबाट आइ.ए र त्रिभूवन विश्वविद्यालयमा बि.ए सम्मको अध्ययन गर्नुभएको थियो । वि.सं. २०३५ सालमा तत्कालिन कालीकोट र हाल बाजुराको स्वामिकार्तिक उमावि वाईमा प्रा.वि स्थायी शिक्षकका रुपमा काम गर्नुभयो । दूई वर्षपछि निमाविमा बढुवा भई प्रधानाध्यापकका रुपमा रहनुभयो । त्यसपछि कैलाश मा.वि. महतीमा पनि प्रधानाध्यापककै जिम्मेवारीमा हुँनुहुन्थ्यो । तत्कालिन पञ्चायत प्रशासनमा कर्मचारीले पञ्चायतलाई खुसीपार्नु पथ्र्यो । तर, विद्यार्थी कालदेखि नै नेपाली काँग्रेसको राजनीतिमा संलग्न हुँनुभएकोले पञ्चायतको ताबेदारी गर्न मान्नुभएन । बहुदलको पक्षमा काम गरेको र तत्कालिन प्रशासकको ताबेदारी गर्न नमान्दा पञ्चायत प्रशासनसँग मनमुटाव र दबाब बढेपछि वि.सं. २०४२ सालमा प्रध्यानाध्यापकबाट राजिनामा दिएर सक्रिय राजनीतिमा होमिनुभयो । वि.सं.२०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा बहुदलको पक्षमा उभिनु भएका शाही वि.सं. २०४३ सालमा भएको स्थानिय पञ्चायत चुनावमा प्रजातान्त्रिक उम्मेदारका रूपमा झिनो (३६) मतले ‘बाँधु गाउँ पञ्चायत’ प्रधानपञ्चमा पराजित हुनुभयो । वि.सं. २०४६ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिनुभएका शाही सोही सालको जनआन्दोलनमा सक्रिय रुपमा सहभागी हुँनुभएको थियो । नेपाली काँग्रेस बाजुराको गठन विधिवत रुपमा वि.सं. २०४७ साल जेष्ठ २७ गते भयो । जिल्लामा प्रजातन्त्रप्रति आस्थावान व्यक्तिहरुको भेला भएर जिल्ला नागरिक सुरक्षा समिति र सल्लाहाकार समिति गठन भयो । सोहि भेलाको निणर्य बमोजिम नेपाली काँग्रेस जिल्ला तदर्थ समिति गठन भयो । तदर्थ समिति सदस्यका रुपमा रहनुभएका शाही वि.सं २०४७ पौष ७ मा भएको प्रथम र त्यसपछिको दोस्रो जिल्ला अधिवेशनमा पार्टीको सहसचि, तेस्रो जिल्ला अधिवेशन उपसभापती नवौँ, दशौँ र एघारौँ महाधिवेशन प्रतिनीधि, वि.स. २०५२ मा ‘केन्द्रीय दुर्गम क्षेत्र विकास समिति सदस्य’ र वि.स. २०५४ को स्थानिय चुनावमा जिल्ला सभापतीमा प्रतिस्प्रधी शाही वि.सं. २०६७ मा नेपाली कांग्रेस जिल्ला कार्य समितिको उप सभापति र वि.सं. २०६८ मा शान्ति समिति जिल्ला संयोजक हँुनुहुन्थ्यो ।

पार्टीकै कामको सिलसिलामा संयोग नै मान्नुपर्छ सम्पूणर् बाजुरेली जनताका मन मुटुमा बसेकै कारणले होला तल्लो बाजुरा र माथिल्लो बाजुराको सिमाना रजातोली दुदुली गाउँमा रहेका बेला अकस्मातको बिमारले कहिल्यै नफर्कने गरि वि.सं. २०६८ साल माघ २१ गते बिहान ४ बजे निष्ठूर दैवले खोसेर लग्यो । जुन ठाउँ बाजुराको माथिल्लो भेग हाल प्रदेश ‘क’ र हुम्ला मुगुलाई सडक सञ्जालमा जोड्ने मुख्य सडकमार्ग हो । यी ठाउँलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मनको धोको मनमै राखेर जानुभयो । स्मरणिय रहोस् मार्तडीदेखि कोल्टीसम्मको ट्रयाक खोल्नका लागि ‘दबाब अभियान’ नै चलाउँनु भएको थियो । अहिले जेजति सडक सञ्चालनमा आएको छ यस कार्यमा शाहीको योगदान अतुलनीय छ, समाज र इतिहाँसले बिर्सने छैन ।

लाभको पदमा मरिहत्ते नगर्ने व्यक्ति पार्टीको पदमा रहे पनि नरहे पनि लो प्रोफाइलमै रहेर काम गर्नुभयो । जनतालाई पिर मर्का पर्दा कुनै औपचारिक निम्तो आउँनु पर्दैनथ्यो, कुनै कार्यक्रम चाहिँदैनथ्यो । असार या मङिसरको खेतिपाती होस् अथवा जेष्ठ वैसाखको घाम, साउने झरि या भदौको भेल, हिउँद या वर्षा होस् कुनै कुराको प्रवाह नगरि बाह्रबिसदेखि बिच्छ्याँ गुम्बासम्मका जनतालाई समस्या पर्दा हरबखत अभिभावकीय भूमिका निर्वाह गर्न तल्लिन हुँनुहुन्थ्यो । अझ प्रायः भोकमरी भइरहने क्षेत्र माथिल्लो बाजुराको संकट व्यवस्थापन गर्न सम्बन्धित निकायलाई झक्झक्याउने काम उहाँबाट नै सुरु हुन्थ्यो । कार्यकर्ता र जनताका सुख, दुःख बुझ्न घर आँगनमै पुग्ने हँुनाले तत्कालिन एघार गाविसका जनताले भरपर्दो एक अभिभावकका रुपमा लिन्थे ।

जिल्लाकै एक अभिभावकका रुपमा रहनुभएका शाहीले त्याग र इमान्दारी नै राजनीतिको आधारभूत मूल्य ठान्ने सत्यको बाटो डोर्‍याइरहने हँुनाले लाभदायी पदका लागि कहिल्यै मरिहत्ते गर्नुभएन । त्यसको उदाहरण वि.सं. २०५४ को स्थानिय चुनावमा नेपाली कांग्रेसले जिल्ला सभापतिमा हार्ने निश्चित भएकैले पार्टीको तर्फबाट कसैले उम्मेदारी दिन चाहेनन् । तर, लोकतान्त्रिक पद्धतिको रक्षार्थ र कार्यकर्ताको मनोबल उच्च बनाइ राख्न विपक्षको तमाम धम्कीका बाबजुद पनि जिल्ला सभापतिको प्रतिस्पर्धामा उत्रनुभयो । लाभको पद लिन जस्तोसुकै कार्यपनि गर्ने, नेतृत्व लिन हानथाप गर्ने, र त्यसपछि काठमाण्डौँ, नेपालगञ्ज, धनगढीमै रमाउने प्रवृतिको विरोधी हुँनुहुन्थ्यो । जनताको माझमा भन्दा नेताका पछि लागेर नेता बन्ने प्रवृतिको बिरोध गर्नुहुन्थ्यो । लाभको पद लिन नेताहरु तँछाड्मछाड् गर्ने, एकआपसमा बरु सहकर्मीबाट असहयोग हुँदा पार्टी नै परित्याग गर्ने प्रवृति देखिन्छ । तर, पटकपटक पार्टीभित्रै सहकर्मीबाट असहयोग हुँदा पनि विचलित हुँनुभएन । पार्टी र कार्यकर्तालाई निरास हुने काम कहिल्यै गर्नुभएन । राजनीतिलाई व्यक्तिगत लाभ हानीको विषय नबनाई, जनताको माझमै रहेर ‘राजनीति जनताको सेवा हो, पद होइन’ भन्ने कुरा मुखले बोलेर होइन व्यवहारमै देखिएकोले राजनीति जीवन विवादित भएन । काँग्रेसको नेता भएपनि सामाजिक मामिलामा पक्षविपक्ष नभनि निरपेक्ष ढङ्गले ठीकलाई ठीक, बेठीकलाई बेठीक भन्ने, सत्यको पक्षमा उभिने, प्रष्ट कुरा राख्ने हँुनाले इतर पक्षकाले पनि उत्तिकै भरपर्दो व्यक्तिका रुपमा लिन्थे, आश भरोषा गर्थे । पार्टी भित्र र बाहिर उतारचढावका बिचमा पनि लाभदायी पदको लोभ, लालचबाट पर रहि जनताप्रतिको कर्तव्य, राजनीतिकप्रति इमानदारिता देखिएकोले बाजुरेली जनताले साँच्चिकै जनताको सेवा गर्न भनि हिँडेको व्यक्ति भनेर चिनेका थिए । विरलै नेतामा देखिने राजनीतिक गुणहरु हुँनाले उहाँप्रति जनताले आशा अपेक्षा अलि बढी नै राखेका थिए ।

विभिन्न संघसस्थामा रही राजनैतिक, सामाजिक, शैक्षिक विकासका थुप्रै कार्यमा प्रत्यक्ष संलग्न हँुनुहुन्थ्यो । सामाजिक न्याय र समानताप्रति गहिरो आस्था भएकैले ॅग्रामिण समाज उत्थान केन्द्र’ नामक संस्था स्थापना गरि जिल्लामा दलित, एकल महिला, अपाङ्ग, समाजमा पछि परेका परिवारलाई विशेष कार्यक्रम (आर्थिक आयआर्जन,उपार्जन हुने ) संञ्चालन गर्नुभएको थियो । सिङ्गो जिल्लाले भरपर्दो व्यक्ति गुमाउँदै गर्दा बाँधु गाउँले एक असल अभिभावक नै गुमायो । जिल्लाका कुनै ठाउँमा बत्ती नभएको बेला (सरकारको लगानीमा मार्तडीमा २०४६ र घट्टेपाटा जलविद्युत आयोजना जुकोटमा २०५० थियो ) गाउँलेलाई उज्यालोमा राख्नुपर्छ भन्ने मनसायले पाँच किलो वाटको सामुदायीक जलविद्युत आयोजना बनाउँन पहल थाल्नुभयो । वि.सं. २०५४ साल फागुनमै गाउँमा बत्ती बल्यो । उहाँकै अग्रसरतामा स्थापित ‘साना किसान बैँक’ तत्कालिन माओवादीका कारण विस्थापित भएदेखि अझैँ पुनस्र्थापित हँुन सकेको छैन ।

राज्य पुनसंरचनामा पञ्चायतकाल देखि बाँधु केन्द्र रहँदै आएको गाविस टुक्रिन पुग्यो । साविक बाँधु गाविसका वडा नं. १, २, ३, ४, ५ रुगिन बिच्छ्याँतिर अनि ८ र ९ कोल्टी तिर गाभिने कुरा चल्यो । तर ६ र ७ बाँधु गाउँलाई कुन पालिकासँग गाब्ने भन्नेमा जिल्लामा राजनीतिक दलहरुका बिचमा कुरा बाँझि रहँदा गाउँमा भरपर्दो विश्वाशिलो व्यक्ति नभएकाले इष्टमित्र, नातागोता र राजनीति आस्थाकै भरमा कोल्टी, जगनाथ र रुगिन बिच्छ्याँतिर भन्नेमै रुमलियो ठोस निणर्य गर्न सकेन । (जुन बेला पंत्तिकार गाउँमै हँुने सौभाग्य मिलेकोले गाउँको हितभन्दा आफ्नो स्वार्थमा रहेर कसले के भने र भित्र कस्तो भूमिकामा रहे प्रतक्ष्य देखेको स्वयम् दौडधुप गरेको अनुभव हँुनाले राजनीति दामासाही फट्याँइ गर्ने र लाभ लिनेहरुको मनोदशा उपयुक्त मौकामा बाहिर आउने नै छ ) गाउँलेले राजनीति गर्ने भरपर्दा, विश्वाशिला, विवेकशिल व्यक्ति गाउँमा नभएपछि कस्ताकस्ता समस्या आइपर्दा रहेछन् भन्ने कुराको साहेद पहिलो पटक अनुभव गरेका थिए र आजसम्म पनि गरिरहेकै छन् । बाँधुले भरपर्दो, विश्वाशिलो र निश्पक्ष सेवा गर्न तल्लिन रहने राजनीति व्यक्ति शाहीको अवशानपछि पाउँन सकेको छैन । र त बाँधु पहिलेको जस्तो बाँधु छैन, जोश जाँगर हराएर निरस बनेकोछ । कुनै बेला जिल्लामै भरपर्दो र बलियो उपस्थिती जनाइसकेको, आफ्नै आँगन चौतारीमा छरछिमेकका भद्र भलादमीलाई बोलाइ आफ्नो विवेक प्रयोग गर्ने, न्यानो आतिथ्य प्रदान गर्ने गाउँ आज अर्कैको वैशाखीमा उभिएर निरिह हुँदै चुपचाप ताली बजाउँन बाध्य भएको छ ।

कमल बुढा अध्यक्ष रहेको तत्कालिन ने.वि.संघ बाजुरा काठमाण्डौँ सम्पर्क समितिले शाहीको स्मृतिमा वार्षिक क्यालेन्डर प्रकाशित गरेको थियो । उहाँको आदर्शलाई न अँगाले तापनि कर्मकाण्डै रुपमा भएपनि त्यसपश्चात जन्मस्मृति/वार्षिक स्मृतिको अवसरमा न जिल्ला कार्य समिति न त कुनै भातृ/शुभेच्छुक संघसङगठनले नै सम्झने गरेका छन् । जिल्लाका नेता बाँधु गाउँमा पुग्दा शाहीको राजनीति ईमान्दारिता र जनताप्रतिको कर्तव्यनिष्ठतालाई हृदयदेखि नै प्रशंसा गर्छन् । गोहीका आँशु चुहाउँन पनि पछि पर्दैनन् । हुँदाखाँदाको स्थाई जागिर छोडेर केका लागि राजनीति गर्नुभयो त्यसको वास्ता नगर्नेहरु नै शाहीको नाम भजाएर राजनीति फाइदा/लाभ लिन लागिपरेका देखिन्छन् । यस्तै आचरण हावि हुनाले स्वर्गीय शाही जस्ता निष्ठावान व्यक्तिहरु नेपाली राजनीतिमा उपेक्षित हुँदै आएकाछन्

चर्चामा

सम्बन्धित समाचार