शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • सभापती देउवालाइ दोष देखाएर मात्रै काँग्रेस बलियो बन्छ त ?

सभापती देउवालाइ दोष देखाएर मात्रै काँग्रेस बलियो बन्छ त ?

  • आइतवार, भदौ २८, २०७७
सभापती देउवालाइ दोष देखाएर मात्रै काँग्रेस बलियो बन्छ त ?

जतिजति नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको समय नजिकिदै गएको छ त्यति त्यति काँग्रेसभित्र संस्थापन र इतरपक्षका नेताकार्यकर्ताबिच आरोपप्रत्यारोपको श्रृङ्खला पनि बाग्लो हुँदै गएको छ । यद्यपि कोरोना सहज भएन भने महाधिवेशन फागुनमै हुन नसक्ने आशङ्का पनि गरिदैछ । जेहोस् केही ढिलो भएपनि महाधिवेशन हुने नै छ । त्यसैले आआफ्ना तयारीमा नेताकार्यकर्ताहरू जुटिसक्नु भएकोछ ।
पार्टीमा आरोप लगाउँनेहरूले सभापति शेरबहादुर देउवालाइ भिजन नै नभएका नेताका रूपमा चित्रण गर्दै आएका छन् । तर, आरोप लगाउँनेहरूले भने जस्तै देउवामा त्यो चरित्र भने भेटिदैन । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन र निर्देशनमा थुनामा रहेका बेला पनि जेलबाटै महामन्त्री विमलेन्द्र निधिलाई पार्टीको संगठनात्मक संरचनामा देशको जातीय र सांस्कृतिक विविधता समेट्ने गरी समावेशिताको नीति तयार गर्न लगाउनु भएको थियो । देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसले ११औं महाधिवेशनका समयमा लागु गरेको समावेशी नीति र सांगठनिक प्रक्रियालाई नै २०६४ साल आश्विन ७ गते भएको एकीकरणपछि नेपाली कांग्रेसले पूर्णतः अंगीकार गरेको हो । र, त्यही नीति र प्रक्रिया अहिलेसम्म पनि कांग्रेस संगठनको प्रमुख आधार रहिआएको छ । समावेशितालाइ व्यवहारिक रूपमै कार्यान्वयन प्रथम जननिर्वार्चित प्रधानमन्त्री वि.पी. कोइरालाले २०१५ सालमै आफ्नो मन्त्रिमण्डल विस्तार गरेर देखाइसक्नु भएको थियो । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि वि.पीको बाटो पछ्याउँदै पिछडिएको भूभाग, सीमान्तकृत, वर्ग, महिला, दलित, जनजाति, मधेस (कदमजम) को अवधारणा मात्रै ल्याउनु भएन, विशेष वर्ग एवम् समुदायको हितपोषण गर्ने र उत्थानका लागि राष्ट्रिय महिला आयोग, दलित आयोग, आदिवासी आयोग जस्ता विभिन्न आयोग र प्रतिष्ठान सिर्जना गर्नुका साथै कमैया मुक्तिको घोषणा गर्नुभएको थियो । अहिले नेपालका सबै राजनीति पार्टीको संगठनमा अनिवार्य र सरकार सञ्चालनमा कदमजमकै अवधारणालाइ अंगिकार गरेका छन् । सोहि अनुरूप देशको संविधान पनि निर्माण भएको छ । नेपालका लागि तत्कालिन भारतीय राजदूत केभी राजनले कोहलपुरदेखि वनबाँसासम्मको पूर्व पश्चिम राजमार्गमा भारतले बनाउने जिम्मा लिएको २२ वटा पुल निर्माण कार्यमा भइरहेको ढीलासुस्तीप्रति प्रधानमन्त्रीको पदबाट हटिसके पनि प्रत्येक पन्ध्र पन्ध्र दिनमा चासो राखेर आफै राजदूतलाई फोन गर्ने गरेको प्रसङ्ग आफ्नो वक्तव्यमा उल्लेख गर्दै देउवालाई विकासप्रति बढी चेतनशील र संवेदनशील पाएको कुरा पनि बताउँनु भएको छ ।

संघीयताको सीमा नर्धारण नगरी निर्वाचन गराउँन पाँइदैन भन्ने मधेशवादी दलहरूको चर्को असन्तुष्टी रहेका बेला चुनाव गर्नु फलामको च्युरा चपाउँन सरह थियो । लरतरो विषय थिएन । तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा वलिले स्थानिय चुनाव गराउँन राजनीति दलसँग सहमती गर्न नसकि राजिनामा दिनुभएको थियो । तरार्इमा चुनाव गराउँन सक्छन् भनेर कसैले कल्पनापनि गरेका थिएनन् । तर, देउवा प्रधानमन्त्री बनेपछि लचिलो र चाँडै निर्णय लिन सक्ने नेता भएकाले मधेशवादी दलहरूलार्इ सहमतिमा ल्याएर तीन चरणमा भएपनि संविधान कार्यान्वयन गर्ने र्एतिहाँसिक स्थानिय चुनाव गराउँनु सफल हुँनुभयो । काँग्रेस पराजित हुनुमा देउवाको कार्यशैली हो भनेर जुन आरोप लगाउँने गर्छन् त्यो त आफू उम्कने बाटो मात्रै हो । सभापतिको हैसियतले देउवाको थाप्लोमा दोष थुप्रिनु स्वभाविक भएपनि पार्टी पदाधिकारी शीर्ष नेताहरू सबैको दोष उत्तिकै देखिन्छ ।

राम्रो गर्ने प्रयास हुँदाहुँदै पनि व्यक्तिका कमिकमजोरी हुँने गर्दछन् । त्यसैलाइ सबै विषयसँग हेर्नु र दाँज्नु राम्रो मानिदैन । सार्वजनिक सभामा पार्टी हाँक्न नसकेको भनेर तत्कालिन सभापति सुशील कोइरालाको विरोध गर्नेहरू अहिले शेरबहादुर देउवाको विरोध गरिरहेका देखिन्छन् । जुन लोकतान्त्रिक पार्टीमा स्वभाविकै मानिन्छ । काम गरेको र नगरेको छिनोफानो त पार्टीको महाधिवेशनले गर्ने गर्दछ । व्यक्तिगत स्वार्थ, पदीय महत्वकांक्षाले जब गुटको निर्माण हुन्छ, गुटको प्रतिनिधित्व हुन्छ, बहस हुन थाल्छ तव प्रतिद्वन्द्वीता हुन्छ त्यसले पार्टीलाइ राम्रो दिशा निर्देश गर्दैन । व्यक्तिगत महत्वकाँक्षा रहनु स्वभाविक मानिन्छ तर त्यसैका राजनीतिमा व्यक्ति राजनीतिकरण गर्नु राम्रो होइन । विचार, नीति, कार्यक्रम, लक्ष्यका आधारमा सबैले एक आपसमा सहमति सहकार्य र एकता गर्नुपर्ने हुन्छ । पार्टीमा आफ्नो अनुकूलको मान्छे परेन भने चयन भएको मान्छे पार्टीकै मान्छे होइन जस्तो गरेर जुन भद्दा किसिमका अविव्यक्ति र सामाजिक सञ्जाल पोतिएर आउँछन् त्यो स्वयम् व्यक्ति र पार्टीकै लागि दुःखलाग्दो कुरा हो । पार्टी भनेको आफुपछी लागेको नेता वा त्यो गुटको मात्रै हो त्यसैले उसले जे बोल्छ त्यो नै पार्टीको कुरा हो ठान्नु सर्वर्था गलत सोचाइ हो । जो आएपनि कांग्रेस नै आउने हो । योग्यता, क्षमता, दक्षता र समावेशिताका आधारमा पार्टीलाइ अगाडी बनाउँनु पर्ने सबैको दायित्व हो । जिवन्त पार्टीमा हिजो कोही थिए आज अरू आए । पार्टी भित्रका सबै काँग्रेस हुन् पालो सबैको आउँछ । राम्रो गरे टिक्छन् राम्रो गर्न सकेनन् भने जनताको अदालतबाट सफाए पाउँछन् । यिनिहरूले पार्टी सक्काउन लागे पार्टी बनाउँने हामी मात्रै हाैँ भन्ने जस्ता मानसिकता बोकेपछि न पार्टीको न मुलूकको भलाइ हुन्छ, न त विपक्षसँग मुकाविला गर्न नै सकिन्छ । कांग्रेस व्यक्ति होइन पध्दति हो । घरभित्रका समस्या बाहिर छताछुल्ल हुने गरि पोख्न थालियो भने अरूलाइ विश्वासमा लिन पनि गाह्रो हुन्छ भन्ने कुराको ख्याल राख्नुपर्छ ।

देशका समस्या समाधानका लागि जुन पार्टीले बढी ध्यान केन्द्रित गर्छ र क्रियाशील रहन्छ त्यही पार्टीलाई निर्वाचमा जनताले मत दिन्छन् । भारतले अघोषित नाकाबन्दि गर्दा काँग्रेस बोलेन भनेर नै काँग्रेसका मतदाता रूष्ट भएका थिए । त्यसको परिणाम अहिले काँग्रेसले भोगिरहेको छ । चुनावपछि झण्डै दुइ तिहाइ नजिकको नेकपाको सरकारले काम कम उखान टुक्का बढी गरेकैले जनता वाक्क भए । स्वयम् सरकार र सरकारी निकायका उच्चपदस्थ व्यक्तिहरू नै अनेकोँ काण्डमा मुछिदै गए । संसारभर कोरोना फैलियो सबैतिरबाट असफल भएको नेकपा सरकार नेता नेता झगडिएको बाहाना बनाएर बिकराल अवस्थामा जनजिविकाका सवालमा उदासिन रहे । सडकमा जनता, नागरिक समाज, स्वतन्त्र संघसंगठन र सदनमा काँग्रेसले शुरूमै सचेत रहन बारम्बार कुरा उठाए तर सरकारका मन्त्री नै केहि हुँदैन भन्दै कोरोना फ्रि जोन घोषणा गरे वास्ता गरेनन् । त्यसपछिका परिणाम के के भए, हुँदै छन् मुलूकले भोगिरहेको छ । काँग्रेसले निरन्तर खबरदारी गरेर सुरूमै कोरोना राहात कोषको खातामा पचास लाख रूपैयाँ दिएर कोरोनाका विषयमा संवेदनशिल बन भनेर सरकारलाइ घच्घच्याइ रह्यो । स्वयम् कोरोना अनुगमन समिति बनाएर नागरिकका दैलोमा पुग्यो अहिले पनि जारि नै छ ।

वर्तमान समयमा राष्ट्रका अगाडी तमाम समस्याहरू छन् । तिनको समाधान गर्न पनि काँग्रेसको एकमत हुन अनिवार्य त देखिन्छ नै अरू पार्टीलाइ पनि मिलाएर लिनुपर्ने आवस्यकता देखिन्छ । जब गाउँदेखि केन्द्रसम्म एक हुँन सकिदैन, तबसम्म राष्ट्रका अगाडि आएका समस्या समाधान गर्नपनि सकिँदैन । मुलूकमा कुनै अफ्ठ्यारो पर्दा देशको माटो समाएर सोच्नु अन्तरमनले जे भन्छ त्यहि निर्णय लिनु भन्ने वि.पी. कोइरालाका अनुयायी हाैँ भन्नेहरू गुट, उपगुट र व्यक्तिगत स्वार्थका पछि लागेर आरोपप्रत्यारोपमा उत्रिने मात्रै हुँन् भने अहिलेका गहन जिम्मेवारी ओझेलमा पर्नेछन् र आगामी निर्वाचन पनि काँग्रेसका लागि सुखदायी नहुँन सक्छ ।

काँग्रेस नेतृ नेपाली जनसम्पर्क समिति समन्वय विभाग केन्द्रिय सदस्य हुनुहुन्छ ।

चर्चामा

सम्बन्धित समाचार