आइतबार, असार २१, २०७७
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बेसारमै हामी परनिर्भर

बेसारमै हामी परनिर्भर

  • बिहीबार, असार ११, २०७७
बेसारमै हामी परनिर्भर

नेपालीले दाल–सब्जी पकाउँदा प्रायः छाकपिच्छे प्रयोग गर्छन्, बेसार। औषधीय गुण भएको त्यही बेसारमा पनि नेपाल आत्मनिर्भर छैन। हुन त यसको आयात परिमाण सानो देखिन्छ। तर, त्यसबापत बाहिरिने नेपाली रुपैयाँ भने ठूलै छ।

बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुन्छ। मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरूपमा बेसारलाई ल्याउने गरिन्छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा म्यानमार र भारतबाट २७ करोड ९५ लाख ११ हजार रुपैयाँको बेसार ल्याइएको छ। त्यसको परिमाण भनेको २१ लाख ७९ हजार ८ सय ५७ किलो (२ हजार १ सय ७९ टन) हो। योे अवधिमा नेपालबाट ११ सय २९ किलो मात्र निर्यात भएको छ। त्यो भनेको ३० हजार रुपैयाँबराबरको हो। यो वर्ष नेपालमा ९ हजार ७ सय ९५ हेक्टरबाट ९९ हजार ९ सय ७ टन बेसार उत्पादन भएको छ।

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९)को उपचारमा बेसार महत्वपूर्ण रहेको बताउँदै आएका छन्। उनले गत बिहीबार राष्ट्रियसभा बैठकमा बेसारपानी पिउँदा कोरोना ठीक हुने बताएका थिए। बेसार कसरी र किन खाने ? यसको सेवन गर्दा के फाइदा हुन्छ ? यस्ता विषयमा ओलीले लामो अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा ९८ लाख १० हजार रुपैयाँको १ लाख ५ हजार २९ किलो (१०५ टन) ताजा बेसार आयात गरियो। ३ करोड ७१ लाख ९८ हजार रुपैयाँको २ लाख २५ हजार ७ सय ४१ किलो (२२५ टन) धुलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँको १८ लाख ४९ हजार ८७ किलो (१ हजार ८ सय ४९ टन) अन्य प्रकारको बेसार आयात भएको हो।

२०७५÷७६ मा २६ करोड १९ लाख ७० हजार रुपैयाँको ताजा, धुलो र अन्य प्रकारको बेसार आयात गरिएको थियो। त्यसको परिमाण भनेको २० लाख १२ हजार ६ सय ९६ किलो (२ हजार १२ टन) हो। त्यसमध्ये अन्य प्रकारको बेसार २० करोड ६८ लाख ९३ हजार रुपैयाँको १६ लाख १९ हजार ७ सय ६९ किलो (१ हजार ६ सय १९ टन) थियो। यस्तै, ३ करोड २० लाख ५० हजार रुपैयाँको २ लाख १ हजार ८ सय ३ किलो (२०१ टन) धुलो र २ करोड ३० लाख २७ हजार रुपैयाँको १ लाख ९१ हजार १ सय २४ किलो (१९१ टन) ताजा बेसार आयात भएको थियो। गत आवमा १० हजार १ सय ६० हेक्टरमा ९८ हजार ९ सय ४ टन बेसार नेपालमा उत्पादन भएको थियो।

भान्छामा खपत हुने बेसारको माग कति छ भनेर सरकार अनभिज्ञ देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार स्वदेशमा उत्पादन र बाहिरी मुलुकबाट आयात परिमाणलाई जोडेर निस्किने योगफल नै माग हो।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को अदुवा बाली अनुसन्धान कार्यक्रम सल्यानका संयोजक तथा वरिष्ठ वैज्ञानिक डा. समिद अहमदले नेपालमा मुख्य गरी कपुरकोट हलेदो १ र कपुरकोट हलेदो २ जातको बेसारको खेती हुने बताए। ‘हामीहाँ बेसारको व्यावसायिक खेती हुन्न’, उनले भने, ‘लगानी अभावमा बेसारमा हामी आत्मनिर्भर हुन सकेनौं।’ नेपालका तराई र मध्य पहाडी जिल्लामा यसको खेती हुन्छ।

उनका अनुसार कपुरकोट हलेदो २ को तुलनामा कुरक्युमिन (पहेंलो रङ)को मात्रा कपुरकोट हलेदो १ मा अत्यधिक भएकाले हलेदो बढी रुचाइएको छ। बेसारको अंग्रेजी नाम टर्मरिक र वैज्ञानिक नाम करक्युमा लन्गा हो। नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरका अनुसार बजारमा प्रतिकिलो ३ सय रुपैयाँ हाराहारीमा बेसार बिक्री हुन्छ।

औषधीय गुण

आयुर्वेद चिकित्सकले बेसार, अदुवा, मरीच, मेथीलगायतमा औषधीय तत्व हुने बताएका छन्। वरिष्ठ कायाचिकित्सक एवं आयुर्वेद शिक्षण अस्पतालका पूर्वनिर्देशक प्रा. डा. देवबहादुर रोकाले बेसारमा एन्टिसेप्टिक (किटाणुनाशक), एन्टिटक्सिक (विषनाशक) र एपिटाइजर (खाना रुचि गराउने) तत्व रहेको बताए। ‘खाद्य पदार्थमा बेसार प्रयोग गर्दा रोगप्रतिरोधी क्षमता बढाउँछ’, उनले भने, ‘यो बहुगुणी छ।’ भाइरस, ब्याक्टेरिया, प्यारासाइट्स, फंगसलगायतको संक्रमण रोक्न बेसार उपयोगी हुने डा. रोकाको भनाइ छ।

बेसारका साथै अदुवा, मेथी, मरीचलगायत मसलाको प्रयोगले संक्रमण वरुद्ध प्रतिरोधी क्षमता बढाउने आयुर्वेद चिकित्सकको भनाइ छ। यसबारे चरक संहितामा उल्लेख गरिएको डा. रोकाले बताए।

आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष प्रा. डा. धनिकलाल भरखेरले शास्त्रीय एवं अनुभवजन्य कुराबाट बेसार, अदुवा, मरीच, मेथी फाइदाजनक रहेको पुष्टि हुँदै आएको बताए। ‘साइड इफेक्ट गर्ने र हानिकारक भएको भए त प्रयोगमै आउँदैन थिए नि’, उनले भने, ‘वर्षौंदेखि भान्छामा प्रयोग हुँदै आएको छ’, उनले भने।

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले रुघाखोकी लागेको बेला अदुवा, बेसार, मरिचको प्रयोगले शरीरलाई फाइदा गर्ने बताए। ‘बेसारको गुणलाई बढाउन मरीचको भूमिका झन् उपयोगी हुन्छ। जथाभावी होइन, चिकित्सकको सल्लाहमा मात्रा मिलाएर सेवन गर्दा फाइदा हुन्छ’, उनले भने। अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार