शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • जसको पसलको खाजा बिक्दैन

जसको पसलको खाजा बिक्दैन

  • शुक्रबार, जेष्ठ २३, २०७७
जसको पसलको खाजा बिक्दैन

दाङ — नाम सोध्दा सहजै जितबहादुर भनेका उनी त्यसपछि एकछिन अड्किए, अनि अलि दबेको स्वरमा भने, ‘विक हो ।’ शिरमा ढाकाटोपी, मोटो चस्मा, तिलचामले दाह्रीजुंगा अनि सर्ट–पाइन्टमा सजिएका उनको लमही–७, खुटीमा एक नास्ता पसल छ । अहिले लकडाउनमा त सुनसान हुने भइहाल्यो, अरू बेला पनि ग्राहकको खडेरी हुन्छ, वरपरका पसलमा भने घुइँचो । त्यसको कारण एउटै हो, उनको जात ।

‘म कामी हुँ भन्ने थाहा पाएका कति मान्छेहरू आउँदै–आउँदैनन्, कति यहाँ आइसकेपछि पनि फर्कन्छन्,’ थर लुकाउनुको व्यथाबारे जितबहादुरले सुनाए, ‘त्यसैले सकेसम्म मेरो जात भन्दिनँ । व्यापार भएन भने मैले कसरी परिवार पाल्नु ?’

उनले पसलको होर्डिङ बोर्डमा पनि ‘प्रो. जितबहादुर’ मात्र छ, पसलको जानकारी रहेको भिजिटिङ कार्डमा भने ‘जितबहादुर बस्नेत’ । ‘हामी बस्नेतबाट खसेर विक भएका हौं,’ उनले थप प्रस्ट्याउँदै भने, ‘मेरो सुसुरालीचाहिँ ठकुरीबाट विक भएका हुन् ।’ उनका पितापुर्खा कहिले बस्नेतबाट विक भए, उनलाई पत्तो छैन तर विक हुनुको अपमान, तिरस्कार र दुव्र्यवहार भने पाइलैपिच्छे भोगिरहेका छन् । आफ्नो बाँकी जीवन त जसोतसो काटिएला, छोराछोरी र नातिनातिनाले भेदभाव भोग्नु नपरोस् भन्ने चाहन्छन् उनी । तर, उनलाई विश्वास छैन, त्यो चाहना पूरा हुन्छ भन्ने । ‘समाजले अझै समान व्यवहार गर्दैन, खोइ के भनुम्,’ जितबहादुर बोल्दाबोल्दै रोकिए । नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १४ वर्ष पुगेको भोलिपल्ट जितबहादुरले अपमानको आफ्नै कथा सुनाउँदै थिए ।

समाज परिवर्तन भयो भनियो तर दलित भएकै कारण जितबहादुरहरूले भोगेका अथाह पीडाले कहिल्यै राज्य सञ्चालन गर्नेहरूलाई छोएन, न मर्दापर्दा काम लाग्ने भनिएका छिमेकीले नै कहिल्यै सम्मानको अनुभूति र आभास दिलाए । त्यस्तो हुन्थ्यो भने पश्चिम रुकुममा नवराज विक र उनका पाँच साथीको हत्या हुँदैन्थ्यो । यो घटनाले उनको मन पनि खुब रोएको छ । ‘मैले जीवनभर भेदभाव सहें । अब त मान्छेले मान्छेलाई प्रेम गर्दा हत्यासमेत गर्न थालियो । के भनुम्, के भनुम् हुन्छ मलाई,’ जितबहादुरको गला अवरुद्ध भयो ।

रुकुम पश्चिमको घटनाले उनलाई मात्रै होइन, समाजका हरेक तह र तप्कालाई झस्काएको छ, सरकारको उपल्लो तहले पनि ध्यान दिएजस्तो गरेको छ । तर, पाइला–पाइलामा जितबहादुरहरूले भोग्नुपर्ने भेदभाव र अपमानले धेरैलाई छुँदैन । कथित तल्लो जात भएकै कारण जितबहादुरहरूले भोगेका पीडाहरू बाहिर आउँदैनन्, आए पनि सबैलाई सामान्य लाग्न थालेको छ । उनी आफैं पनि भन्छन्, ‘म आफू कसैलाई भेदभाव गर्दिनँ, अरूले गर्छन् भने केही छैन ।’ कम्तीमा ‘मार्न आएका छैनन्, भेदभाव त गरेका हुन्’ भनेर चित्त बुझाउनुपर्ने बेला आएको उनले बताए ।

६७ वर्षका जितबहादुरले जीवनका ४५ वर्ष भारतमा बिताए । त्यहाँ चौकिदारी, भारी बोक्ने, भाँडा माझ्ने र सामान बेच्ने काम गरे । त्यहाँ हुँदा भेदभाव सहनुपर्थेन । नेपालबाटै गएका गैरदलित दौंतरीले पनि सँगै खान्थे तर जब नेपाल आए, प्यूठानमा बाल्यकाल बिताउँदाको झैं भेदभाव दोहोरियो । सानो हुँदा आफूले छोएको अरूले नखाएको, कथित उपल्लो जात भनिएकाको घरमा छिर्न नपाएको, आफूले छोएको सामान सुनपानी छर्केर घरभित्र लगेकोजस्ता तीता यादहरू उनले अझै बिर्सेका छैनन् ।

‘अहिले पनि लगभग त्यस्तै छ, नयाँ पुस्ताले त खासै भेदभाव गर्दैनन्, पुराना मान्छेहरूको सोच र व्यवहार फेरिएको छैन,’ उनले आफ्नो भोगाइ सुनाए । उनका सन्तान भारतमै हुर्किए, त्यहाँ कहिल्यै तल्लोस्तरको व्यवहार उनीहरूले भोग्नुपरेन, तर नेपाल आएपछि छिमेकीले नै तर्कने, छोएको खान नमान्ने गरे । ‘हामी तल्लो जातका हौं भनेर छोराछोरीलाई बुझाउनैं गाह्रो, कति नराम्रो मान्थे तर म एक्लैले के पो गर्न सक्छु र,’ उनी भन्छन्, ‘बुबा यहीं मरे, मेरो शरीर पनि यहीं मरोस् जस्तो लाग्यो । त्यसैले अपमान सहेर भए पनि बसुँला भनेर नेपाल आएँ ।’ आफ्ना दुई भदैनीले कुमार र चौधरीसँग विवाह गर्दा तिरस्कार सहनुपरेको सुनाउँदासम्म उनका आँखा रसाइसकेका थिए ।

नास्ता पसलको नजिकै मासु पसल छ । पकाएको खाजा खान त वरपरका मान्छे आउँदैनन् नै, काँचो मासु लिन पनि आउँदैनन् । गाउँका ठालु र बुद्धिजीवी भनिएकाहरू पनि बोलीमा भेदभाव नभएझैं गर्छन्, तर व्यवहारमा त्यो देखिन्न । खाजा खाने र मासु लिने बेला अरूकै पसलमा जान्छन् । त्यतिबेला जितबहादुरको मन दुख्छ, यद्यपि कहिल्यै केही भन्दैनन् । ‘मासु लिन पनि सबै हाम्रा जातका मात्र आउँछन्, अरू आउँदैनन् । ठीकै छ, आउनेलाई स्वागत गरिहाल्छु,’ उनले लामो सु्स्केरा हाले । कतिसम्म भने लकडाउनमा अलपत्र परेकालाई नि:शुल्क खाना खुवाउने उनको योजनामा अवरोध सिर्जना गरियो । भन्छन्, ‘बाटोमा अलपत्र परेकाहरूलाई खाना खुवाउन खोज्दा पनि मलाई लौरो लिएर खेद्न आए ।’

संविधानसभाको दोस्रो निर्वाचनमा जितबहादुर यस क्षेत्रबाट उम्मेदवार बनेका थिए । चुनावमा उठेपछि छिमेकीले हाक्काहाक्की हेप्न सकेनन् । व्यवहार बदलियो । ‘पहिले त धेरै भेदभाव गर्थे, टिकट पाएपछि कम भयो,’ उनको मुहार उजेलियो । यो क्षेत्रमा दलित समुदायको बसोबास न्यून छ । उनले जम्माजम्मी २ सय भोट पाए । भन्छन्, ‘त्यसपछि फेरि हेप्न थालिहाले । उनीहरूको दृष्टिकोणमा ‘यो कामी हो’ भन्ने हटेन ।’ नागरिकतामा उनको नाम जीबे कामी छ ।

नेपाल छुवाछूतमुक्त घोषणा भएको, संविधानको प्रस्तावनामै जातीय भेदभाव गर्न नपाइने उल्लेख गरिएको, जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ आएको जितबहादुरलाई थाहा छ । सँगै के पनि थाहा छ भने कानुन त बनाइयो तर त्यसको कार्यान्वयनमा राज्यले चासो देखाएन, दलितमाथि अन्याय भइरह्यो, दोषीले छुटकारा पाइरहे । उनको पसलमा नास्ता गरेपछि उनलाई सोधियो, ‘तपाईं त नेता पनि हुनुहुँदो रहेछ । छुवाछूत कसरी अन्त्य होला ?’ एकछिनको मौनतापछि जितबहादुरले दिएको जवाफ यस्तो थियो, ‘मान्छेले मान्छेलाई प्रेम गर्न सिकाउनुपर्छ, भेदभाव आफैं हराएर जान्छ ।’ #कान्तिपुर

चर्चामा

सम्बन्धित समाचार