बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • क्वारेन्टाइन बनाउने निर्णय भएपछि शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय

क्वारेन्टाइन बनाउने निर्णय भएपछि शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय

  • शनिबार, जेष्ठ १७, २०७७
क्वारेन्टाइन बनाउने निर्णय भएपछि शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय

लकडाउनमा भारतबाट आएका नागरिकलाई राख्न क्वारेन्टाइन बनाइएपछि जाजरकोट भेरी नगरपालिका– ६ का बासिन्दाले शिक्षककै नेतृत्वमा विद्यालय भवन भत्काएका छन् । भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्दा कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले विद्यालय भत्काएका हुन् ।

भेरी नगरपालिकाले भारतलगायत विभिन्न मुलुकबाट आएका स्थानीय बासिन्दालाई राख्न स्थानीय कृष्ण प्राथमिक विद्यालयको भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वडा कार्यालयले विद्यालयमा विदेशबाट आएकालाई राख्न खोज्दा शिक्षककै अगुवाइमा विद्यालय नै भत्काइएको वडाध्यक्ष शशि बुढाले बताए । ‘शिक्षक जयबहादुर शाहीको नेतृत्वमा स्थानीय बासिन्दाले विद्यालय भत्काइदिए । क्वारेन्टाइनका लागि गरिएको व्यवस्थापनका सबै सामग्री पनि फालेका छन्,’ उनले भने । शिक्षक शाही छिमेकी गाउँ भेरेस्थित लक्ष्मी माविमा कार्यरत छन् ।

स्थानीय बासिन्दाले विद्यालयको छानो र पर्खाल भत्काएका हुन् । नगरपालिकाले बस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको स्थानीयको आरोप छ । तर, विद्यालयनजिक बस्ती नभएको वडाध्यक्ष बुढाले बताए । ‘नगरपालिकाको निर्देशन, अधिकांश गाउँलेको सहमति र वडास्तरीय कोरोना रोकथाम समितिको निर्णयअनुसार क्वारेन्टाइन बनाएका थियौँ,’ वडाध्यक्ष बुढाले भने, ‘हातहतियारसहित आएका गाउँकै मान्छेले विद्यालय भत्काए ।’ यसमा शिक्षक शाहीसँगै स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र बले घर्तीलगायतको प्रमुख भूमिका रहेको उनले बताए ।

क्वारेन्टाइन बनाउने विद्यालय भत्काएपछि भारतबाट फर्किएका स्थानीयलाई व्यवस्थापन गर्न समस्या भएको छ । विद्यालय भत्काएको विषयमा सोधपुछ गर्दा उल्टै आफूलाई पनि ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष बुढाको गुनासो छ ।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र स्थानीय सरकारको कामलाई अवरोध पुर्‍याउनेलाई कारबाही गरिने बताए । ‘विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जोसुकै भए पनि कारबाही गर्छौँ,’ उनले भने । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाबारे बुझ्ने बताए ।

लकडाउनको समयमा पनि भारतका विभिन्न सहरबाट जाजरकोटवासी फर्किने क्रम जारी छ । अहिलेसम्म आएकालाई सदरमुकाम खलंगा तथा आसपासका क्षेत्रका विद्यालय र सरकारी भवनमा राख्ने गरिएको छ । संख्या बढ्न थालेपछि गाउँपालिकामा क्वारेन्टाइन बनाउन लगाइएको थियो । देशबाहिर रहेका करिब पाँच हजार जाजरकोटवासी गाउँ फर्किने अनुमान गरिएको छ । #नयाँ पत्रिका

चर्चामा

सम्बन्धित समाचार