साेमबार, असार २९, २०७७
  • होमपेज
  • राजनीति
  • युवा आन्दोलन र हाम्रो जिम्मेवारी

युवा आन्दोलन र हाम्रो जिम्मेवारी

  • मंगलबार, जेष्ठ १३, २०७७
युवा आन्दोलन र हाम्रो जिम्मेवारी

भ्लादिमिर लेलिन सुपरिचित नाम हो । मात्र २७ वर्षको उमेर थियो, लेलिनको । जुन बेला उनी विश्वसामु परिचित भइसकेका थिए । २२ अप्रिल सन् १८७० मा कम्युनिस्ट आन्दोलनको चर्चाले विश्व आश्चर्य चकित थियो । तर, उमेर कलिलो भए पनि विचार र व्यक्तित्वमा कुनै अपरिपक्वता थिएन ।

जनक्रान्तिको फरक सन्देश विश्वलाई सुनाउनु थियो । कम्युनिस्ट विचारको तत्कालीन युगलाई आवश्यकताको महसुस गराउनु थियो । ती चुनौतीलाई पूरा गर्न न उमेर, न त तत्कालीन सत्तासिनहरूको शक्ति कुनै परिस्थितिले रोकेन । बरु परिवर्तन चाहनेहरूले दिल खोलेर साथ दिए ।

कारण एउटै थियो, युवा जोस, साहस र दृढइच्छा शक्ति । हो हामी पनि युवा हौं, आन्दोलनमा सरिक हुन्छौं, भइरहेका छौं । तर, परिवर्तन र समयलाई सम्बोधन गर्न सके/नसकेको मूल्याङ्कन गर्ने बेला भएको छ ।

सडकमा नारा जुलुस गर्नु, पुत्ला दहन गर्नु, कुविचारसहितको टिप्पणी सामाजिक सञ्जालमा पोख्नु र राजनीतिक अन्धभक्त बन्नुले गलतलाई पनि सही भन्नु मात्रै हाम्रो काम हो र ? हामी र हाम्रो शैलीमा समाज जोडिएको छैन र ? हाम्रो समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारी छैन र ?

समाजका अङ्ग हौं भने हाम्रो पनि जिम्मेवारी र उत्तरदायित्व बराबरी हुनुपर्छ। समाज मेरो हो, समाजका लागि केही गर्नुपर्छ भन्ने सोच राख्नु जरुरी छ । लेलिनले २७ वर्षमा विश्व हल्लाउन सक्ने तर हामीचाहिँ अरूको आलोचना र भक्तिभावमा मात्र बाँच्नु लज्जाको विषय हुनुपर्छ।

युवालाई परिवर्तनको सम्वाहक र विकासको मेरुदण्ड भनिन्छ । तर, हामीले ओजिलो शब्दमार्फत प्राप्त जिम्मेवारी पूरा गर्न सक्यौं कि सकेनौं ? समीक्षा गर्ने बेला भएको छ । देशले चाहेको के हो ? समाजले खोजेको विषय के हो ? हाम्रा भूमिका र जिम्मेवारी के हुनुपर्छ ? खुला बहसको विषय बन्नुपर्छ ।

पृथ्वीनारायण शाहले १७ वर्षको उमेरमा नेपालको एकीकरण सुरुवात गरे ।

मलेसियामा एक जना युवा २५ वर्षको उमेरमा मन्त्री बनेका छन्। हामी पनि बन्न सक्छौ र गर्न सक्छौ भन्ने मान्यता राखौं । त्यही इच्छाशक्तिले आफू बन्ने र देश बनाउने उपाय मिल्छ ।

तर, हामी अक्सर दिनभर तास, क्यारमबोड, पब्जी जस्ता खेलमा तल्लीन भएर समय व्यर्थै खेर फालिरहेका छौं । हाम्रो सोच र इच्छाशक्ति नै त्यही अरूले बनाएको प्रविधि खेलाउनमा ठिक्क छ । हामी कुरा गर्नमा सिपालु बन्यौ तर काम कहिलै गरेनौं । उपाय भन्यौं तर उत्पादन कहिल्यै गरेनौं । सिकाउने भयौं तर आफूले कहिल्यै सिकेनौं । जुन कर्मको फल हामी भोग्ने अवस्थामा छौं ।

देश लकडाउनमा बन्दी छ। अर्थतन्त्र तहसनहस छ। चुलो बाल्न अरूको भर पर्नुपरेको छ । भारतको भरोसाविना हामी बाँच्न सकेका छैनौं । भारतलाई सीमा मिच्यो भनेर गाली गर्यौ तर भारतको उत्पादन खाँदैनौं, हामी पनि उत्पादन गर्न सक्छौं कहिल्यै भनेनौं । भारतमा बस्यौं तर भारतविना बाँच्ने श्रम देशमा खर्च गरेनौं।

गफ जति ठूला र जुनसुकै गरेपनि काममा विश्वास गर्न नसकेसम्म न ममाथि उठ्छु न त तपाईं नै । लिम्पियाधुरा, लिपुलेक र कालापानीका विरुद्ध माइतीघर मण्डलामा पछि विरोध गरौंला, पहिले प्याज, आलु, बन्दा, साग र खुर्सानीसम्म त नेपालमै उत्पादन गरौं ।

जबसम्म हामी आत्मनिर्भर र कृषिमा अब्बल सावित हुँदैनौं । नचाहेर पनि भारतको सामु झुक्नुपर्नेछ । झुक्नु पर्ने मात्र होइन, भएको अर्थतन्त्र पनि उसैलाई बुझाउनु पर्नेछ । यसकारण पनि युवा आन्दोलन उत्पादनका लागि हुनुपर्छ । हामी उमेर पर्खी बस्ने कि उत्पादन ? एकपटक सोच्नुपर्छ ।

म पनि तपाइँ जस्तै उमेरको युवा। तर, देखिने काम न मैले गर्न सकेको छु, न तपाइँहरूले नै । अपवादबाहेक हामी ठूलो युवा जमातले देखिने गरी केही गरिरहेका छैनौं । गरेका छौं त केवल बेकामे गफ र युट्युबमा भाइरल हुने काम । गरेका छौं त हामीले माइतीघर मण्डलामा जाने, नारा जुलुस गर्ने र फर्किने । त्यो पनि सभ्य र संस्कारी शैलीमा होइन ।

हाम्रो काम अरूलाई दोष दिने, गाली गर्ने र विरोध गर्ने मात्र भएको छ। राज्य सत्ता जोसुकै विचारधाराको होस्, सचेत युवाले राम्रो काममा समर्थन गर्न सक्नुपर्छ । मैले पनि बाजुरा जिल्ला बालअधिकार मञ्चको अध्यक्षदेखि नेपाल युवा सञ्जाल सुदूरपश्चिम प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिरहेको छु ।

मेरो सिकाइ जीवनका लागि महत्वपूर्ण उपलब्धि हो। तपाईंहरू आबद्ध संस्थाको सिकाइ पनि महत्वपूर्ण नै छ होला । तर, समीक्षाको विषय हामीले सिकेको सिपलाई हामीले कुन क्षेत्र र उत्पादनमा लगाएका छौं भन्ने हो ।

हाम्रै लागि लक्षित युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद् र अन्य युवाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरू छन् । तर, अपेक्षाकृत उपलब्धि हात पार्न सकेका छैनौं । कारण एउटै हो, हामीले कुरा सुन्यौं, कुरा सुनायौं, आफै‌ँबाट सुरुवात कोही कसैले गरेनौं । हामी त सबै जना जान्ने मात्र छौं । विश्व दुनियाँ बारे सहजै व्याख्या गर्न सक्छौं।

चीन, भारत, अमेरिका, जापान, कोरिया सबै देशका प्रविधिबारे सुरिला गफ दिन सक्छौं । अर्थतन्त्रको सविस्तार व्याख्या गर्न सक्छौं । अरू देशको उत्पादनको बारेमा खुलेरै प्रशंसा गर्न सक्छौं। तर, हामीले के गर्यौं कहिल्यै भन्ने सकेका छैनौ‌ं।

बरु हामीले देशले गरेन, सरकारले गरेन, कर्मचारीले गरेन, भन्नमै हाम्रो दैनिकी बितिरहेको छ। हामी युवा आन्दोलन देश परिर्वतनको मेरुदण्ड हो, मैले माथि नै भनिसकेको छु । तर, हामीले आन्दोलन केलाई भन्ने ? आन्दोलनको स्वरुप कस्तो हुने । समीक्षा गर्नु जरूरी छ।

जिन्दावाद मूर्दावाद मात्रै आन्दोलन हो कि ? उत्पादन र आत्मनिर्भर उत्पादन हो । शिक्षा आर्जनका प्रमाण पत्र देखाउनु मात्रै योग्य जनशक्ति हो कि ? प्रमाणविना जीवन खुसी साथ बाँच्ने सिप हुनु योग्यता हो । यसबारेमा हामी किन ध्यान दिन सकिरहेका छैनौं ?

समय फेरिएको छ । कोरोनाको संक्रमणले विश्व थलिएको छ । मान्छे कसरी बचाउने भन्ने मात्र समस्या छैन, पहिलो कुरा त मानव जाति बाँच्ने के खाएर भन्ने छ। उत्पादनका खानी देशमै महामारीले ठूलो संकट पैदा गरेको छ। अब ती देशबाट पैसा तिरेरै पनि मागअनुसारको खाद्यान्न पाउने अवस्था छैन ।

चिया पसलमा सरकारको आलोचना गरी बस्ने दिनको अन्त्य कोरोनाले गरिदिएको छ । हामी सचेत कहिल्यै हुने थिएनौं, कोरोनाले धेरै कुराको पाठ सकाएको छ। उत्पादन अहिलेको पहिलो आवश्यकता हो। विद्यार्थी राजनीति गर्नेदेखि युवाका आवाज भन्नेहरू सबैले अब कुर्लिएर होइन, गरेर देखाउने बेला भएको छ।

कोरोनाको महामारीपछिको जटिल अवस्थामा अब युवा उत्पादनमा लाग्नुपर्छ । उत्पादक कार्यमा जोडिनुपर्छ । नत्र हामी हिजो जस्तो थियौं, आज र भोलि पनि त्यस्तैमा सीमित हुनेछौं । गफ र विरोधले मात्रै न राष्ट्र समृद्ध हुन्छ, नत राष्ट्रवाद मौलाउन सक्छ। यो सोच्ने, गर्ने र देखाउने बेला हो, सबै लागौं, समृद्धि र उत्पादनको आन्दोलन युवाबाटै सुरु गरौं, यसैमा राष्ट्रवाद देखिनेछ ।

चर्चामा

सम्बन्धित समाचार