शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • झापाका एक युवकमा आरडीटी पोजिटिभ

झापाका एक युवकमा आरडीटी पोजिटिभ

कोरोना भाइरसको लक्षण भने देखिएको छैन : चिकित्सक

  • बिहिबार, बैशाख ४, २०७७
झापाका एक युवकमा आरडीटी पोजिटिभ

काठमाडौँ — र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणका क्रममा झापाका एक युवकमा एन्टिबडी पोजिटिभ देखिएको छ । बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं. २ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले गाँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । ६१ जनाको परीक्षण गरिएकामा उक्त युवकमा आरडीटी पोजिटिभ देखिएको हो ।

आरडीटी पोजिटिभ देखिनासाथ युवकका परिवारका ७ जना र उनीसँग सम्पर्कमा आएका केही साथीहरुको पनि आरडीटी परीक्षण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सहायता कक्षका सचिवसमेत रहेका चम्लागाईले बताए । परिवारका सदस्य र साथीहरुको आरडीटी भने नेगेटिभ देखिएको छ । पोजिटभ देखिएका युवक, उनका परिवार, साथी र थप १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि बुधबार साँझ कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको चम्लागाईले जानकारी दिए ।

आरडीटी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट घर फर्किएका हुन् । उनमा कोभिड–१९ को लक्षण भने केही नदेखिएको चम्लागाईले बताए । आरडीटी पोजिटिभ देखिए पनि ती युवकलाई भद्रपुरस्थित आइसोलेसन वार्डमा भर्ना गरिएको छैन । उनलाई हल्दिबारीस्थित क्वारेन्टाइनमै राखिएको छ । जिल्लाका पालिकास्थित क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडीटी परीक्षण तीव्र पारिएको छ । परीक्षण गरिएकामध्ये अहिलेसम्म २ सय ३२ जनाको आरडीटी रिपोर्ट नेगेटिभ देखिएको छ । साभार कान्तिपुर

चर्चामा

सम्बन्धित समाचार