शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • विश्व पर्यटन दिवस: गति लियो पर्यटकीय विकासले

विश्व पर्यटन दिवस: गति लियो पर्यटकीय विकासले

सुदुरपश्चिम प्रदेशमा के के छन त याेजना

  • शुक्रबार, अशोज १०, २०७६
विश्व पर्यटन दिवस: गति लियो पर्यटकीय विकासले

सुदूरपश्चिम प्रदेश नदी, तालतलैया, पाटन, वनजङ्गललगायतका प्राकृतिक सम्पदा, धार्मिक मठमन्दिरका दृष्टिले निकै धनी प्रदेश मानिन्छ । यो प्रदेशमा पुरातात्वीक महत्वका ऐतिहासिक दरबार छन् । शुक्लाफाँटा, खप्तड राष्ट्रिय निकुञ्ज, अपीनाम्पा संरक्षण क्षेत्र, साइपाल हिमाल शृङ्खला, बडिमालिका, रामारोशनजस्ता प्राकृतिक धार्मिक स्थल छन् । मानव निर्मित टीकापुर पार्क, कर्णालीको पुल र दोधारचाँदनीको झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशका पर्यटन आकर्षणका रूपमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशलाई पर्यटनको विकास र सदुपयोगका दृष्टिले ‘भर्जिन क्षेत्र’ मानिन्छ । प्रदेश सरकारले आर्थिक समृद्धिको एक प्रमुख आधार पर्यटनलाई बनाएको छ । त्यस्तै प्रदेशका सबै ८८ स्थानीय तहले पनि पर्यटन विकासलाई आफ्ना वार्षिक नीति र बजेटमा समावेश गर्दै आएका छन् । पर्यटनको क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रले पर्यटन गन्तव्यको प्रचारप्रसार तथा विकासमा काम गरिरहेका छन् ।
नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको छ । यस प्रदेशमा विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् ।

पर्यटनमा ४२ करोड बजेट

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टका अनुसार भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरेर चालू आर्थिक वर्षमा सो मन्त्रालयले पर्यटनका क्षेत्रमा ४२ करोड २६ लाख रुपियाँ विनियोजन गरेको छ । यो वर्ष धनगढी, टीकापुर, गड्डाचौकी, झुलाघाट, दार्चुला, कर्णाली चिसापानी र बझाङमा भिजिट साइपाल सूचना केन्द्र स्थापना गरिने छन् । खक्रौला, टीकापुर, चिसापानी, सुगरखालको वरपरका क्षेत्र, रामारोशन र बडिमालिकालाई समेटेर एउटा पर्यटकीय करिडोर विकास गरिने भएको छ भने महेन्द्रनगर, महाकाली, परशुराम, झुलाघाट, उकु दरबार जोलजिवी क्षेत्र र अपीहिमाल क्षेत्रलाई समेटेर अर्काे पर्यकटीय करिडोर विकास गरिने उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी झुलाघाट, त्रिपुरासुन्दरी, दशरथचन्द नगर, देहीमाण्डौ, खोड्पे, बझाङ हुँदै साइपाललाई तेस्रो पर्यटकीय करिडोर र धनगढी, अत्तरिया, बुडर, डडेलधुराको उग्रतारा, खोड्पे, काँडा, उरैभञ्ज्याङ हुँदै कैलास पर्वत जोड्ने चौथो पर्यटकीय करिडोर विकास गरिने भएको छ । भू–स्वर्ग खप्तड क्षेत्रलाई जोड्नका लागि खुटिया, बीपीनगर, बडीकेदार, शैलेश्वरीलाई पाँचौँ पर्यटकीय करिडोर बनाइएको छ ।
चालू आर्थिक वर्षमा गत वर्ष भएका विस्तृत अध्ययन प्रतिवेदनअनुसार कैलालीको खक्रौलामा कैलाश पर्वत प्रवेशद्वार र कैलालीकै गर्भा दरबार पुनःनिर्माण गरिने सो मन्त्रालयका पर्यटन विकास अधिकृत भोजराज पाठकले बताउनुभयो ।
मन्त्रालयले सङ्घीय सरकारको सुदूरपश्चिम प्रदेशमा तय गरेको १०० गन्तव्यभित्रका गन्तव्य स्थलको विकास, प्रचारप्रसार र संरक्षणमा पनि ध्यान दिने जनाएको छ । सङ्घीय सरकारले कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थललाई गन्तव्य स्थलमा राखेको छ ।

खप्तडका छेउछाउ होमस्टे सञ्चालन
डोटीको दिपायल सिलगढी नगरपालिकाले सिलगढीस्थित शैलेश्वरी मन्दिर नजिकै ४० फिटको पूर्णकदको दुर्गा माताको विशाल मूर्ति निर्माण गरिरहेको छ । मूर्ति निर्माणपछि सिलगढीस्थित शैलेश्वरी मन्दिर दर्शन गर्न आउने र सिलगढी हँुदै खप्तड घुम्न जाने पर्यटकका लागि आकर्षणको केन्द्र हुने अनुमान छ । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मसालीले भन्नुभयो, नगरपालिकाको आर्थिक विकासका लागि पर्यटन विकास महत्वपूर्ण हो भन्ने कुरामा सहमत हुँदै डोटी दरबारको जीर्णोद्धार, झिक्राना–सिलगढी सडक कालोपत्रे, नगर क्षेत्रमा पार्क निर्माणलगायतका कामको सुरुआत गरेका छौँ । दिपायल सिलगढी नगरपालिकाले यसअघि नै पर्यटन प्रवद्र्धनका लागि सेती नदीमा ¥याफ्टिङ सञ्चालन गरिसकेको छ ।
डोटीका खप्तडसँग जोडिएका स्थानीय तहले होस्ट सञ्चालन, पर्यटक पथ निर्माणलगायतका कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।

एसियाकै लामो गुफाको गुरुयोजना
एसियाकै लामो दाबी गरिएको पताँल भूमेश्वर गुफा र सधैँ स्थिर रहने तलाउको संरक्षण र प्रचारप्रसारका लागि सुर्नया गाउँपालिकाले गुरुयोजना बनाउने बनाउने भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टका अनुसार संसारका २०० गुफाको अध्ययन गरिसक्नुभएका फ्रान्सका गुफा विशेषज्ञ मोरिस दुसेनले तीन वर्षअघि पताँल भूमेश्वर गुफाको ८०० मिटरसम्म अध्ययन गर्नुभएको थियो । उहाँका अनुसार दक्षिण एसियामा यो दोस्रो लामो गुफा हो । गुफाभित्र बत्ती र अक्सिजनको अभावले थप अध्ययन हुन नसकेको हो । माथि तलाउ र तलतिर गुफा रहेको अनौठो दृश्य रहेको यो गुफा प्रचारप्रसार हुन सके आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हुन सक्ने बताइएको छ ।

योजनाबद्ध पर्यटन विकास
कैलालीका स्थानीय सरकारले गुरुयोजनाअनुसार पर्यटन विकास गर्ने नीति अवलम्बन गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले योजनाबद्ध पर्यटन विकास गर्न आआफ्नो क्षेत्रमा भएको प्राकृतिक, धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण र प्रचारप्रसारमा ध्यान दिन थालेका छन् । नेपाल र भारतीय तिर्थालुहरूको आस्थाको केन्द्र बनेको बेहडाबाबा मन्दिर र घुम्नका लागि उपर्युक्त रहेको जाखोर ताललाई जोडेर धनगढी उपमहानगरपालिकाले पर्यटन विकासको कार्यलाई अगाडि बढाएको छ ।
विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी तालको संरक्षण र विकासका लागि गुरुयोजनाको खाका तयार भएको छ । गुरुयोजनाको खाका प्रस्तुत गर्दैै बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास वोर्डले बिहीबार घोडाघोडी ताल क्षेत्रको पर्यटन विकास र जैविक विविधता संरक्षण सम्बन्धमा सरोकारवालासँंग सुझाव लिएको छ ।
तराईको गर्मी छल्नका लागि आन्तरिक र भारतीय पर्यटकका लागि उचित गन्तव्य भएको खानीडाँडाको विकासका लागि पनि चुरे गाउँपालिकाले प्रयास गरिरहेको जनाएको छ ।

हनिमुन मनाउनेलाई तीन हजार पुरस्कार
साँफेबगर नगरपालिकाले चालू आर्थिक वर्षमा ७० लाख रुपियाँ पर्यटन क्षेत्रको विकासमा विनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, आगामी चैत्र महिनादेखि खप्तडमा हनिमुन मनाउने जोडीलाई तीन हजार रुपियाँ पुरस्कार प्रदान गर्ने नगरपालिकाको योजना छ ।
अछामकै रामारोशन गाउँपालिकाले अघिल्लै वर्षबाट रामारोशन पर्यटन क्षेत्र गुरुयोजना तयार गरी पर्यटकीय क्षेत्रमा काम गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा १० जनालाई होमस्टे तालिम, डुङ्गा खरिद, पर्यटन सूचना केन्द्रलगायतका कामका लागि गाउँपालिकाले ६० लाख रुपियाँ विनियोजन गरेको छ । अछामकै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले चौरपाटीबाट खप्तड जान नजिक र सहज भएकाले यसलाई मुख्यद्वारका रूपमा विकास गर्न २५ लाख रुपियाँ छुट्याएको बताउनुभयो ।

टीकापुर पार्कमा ५० लाख बजेट
कैलालीको टीकापुर सधैँ पर्यटकका लागि आकर्षण बन्दै आएको छ । टीकापुर बङ्गला, तथा पार्कको अवलोकन गर्न जुनसुकै मौसममा पनि देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक आउने गर्दछन् ।
टीकापुर नगरपालिकाले टीकापुर पार्कलाई विशेष महŒव दिएर संरक्षण तथा पूर्वाधार निर्माणमा ध्यान दिएको छ । पार्कको प्रवेशद्वार, घेराबार तथा पार्कभित्रका भवनको संरक्षणमा समेत नगरपालिकाले विशेष ध्यान दिएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो ।
नगरपालिकामा एक वडा एक बगैँचा कार्यक्रम लागू गर्न थालेको छ । त्यसैगरी वडा नम्बर ७, सत्तीस्थित पुराताŒिवक महŒवको पद्मप्रकाशेश्वर महादेव मन्दिर र वडा नम्बर ७ कै ढुङ्गानाटोलस्थित डल्फिन क्षेत्रलाई जोडेर नेपाल सरकारले ‘टीकापुर पर्यटकीय सर्किट’ घोषणा गरेको छ । टीकापुर नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि एक करोड ८१ लख ७५ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

पर्यटन पूर्वाधारमा दार्चुला
दार्चुलाका नौवटै स्थानीय तहले पर्यटन गन्तव्य पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसारको क्षेत्रमा योजना सञ्चालन गरिरहेका छन् । सदरमुकामसमेत रहेको महाकाली नगरपालिकाले तातोपानी क्षेत्र विकास, छापरी भ्यु टावर निर्माण र डुङरी मन्दिरलाई पर्यटन गन्तव्य बनाउन विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको छ ।
दार्चुलाको अपीहिमाल गाउँपालिकाले पदयात्राका लागि मकरीगाडदेखि शिद्धमकरीकोटसम्म आठ हजार २०० खुट्किला निर्माण गरिरहेको छ । सुर्मासरोवर र अपीहिमालमा पर्यटक भिœयाउन प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । त्यस्तै ब्यास गाउँपालिकाले ब्यास गोतु तातोपानी, शिद्धटोपी, रानिकोट्टा, ब्यास गुफा, शिवताल, व्रह्म मन्दिरलगायत पर्यटकीय क्षेत्र विकासका लागि बजेट विनियोजन गरेको छ ।
बडिमालिकामा केबलकार
प्रसिद्ध बडिमालिकासम्म केबलकार सञ्चालन, पोरखेगढीको संरक्षण तथा कालाजग्रा गुफातालको संरक्षण र भ्यु टावर निर्माण कार्य भइरहेको बडिमालिका नगरप्रमुख पदम बडुवालले बताउनुभयो । नगरप्रमुख बडुवालले बडिमालिका केबलकारका लागि सम्भाव्यता अध्ययन भइसकेको र कुनै कम्पनीले केबलकार बनाउने आँट गरेमा नगरपालिकाले बजेट व्यवस्थापन गर्ने बताउनुभयो । जिल्लाको हिमाली गाउँपालिकामा रहेको रानीसैन हिमाल र तालहरूको संरक्षणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

याे समाचार अाजकाे गाेरखापत्र दैनिकमा  प्रकाशविक्रम शाह/कैलाली, गोकर्ण दयाल/बैतडी, अविनाश चौधरी/धनगढी, दिलबहादुर सिंह/डोटी, शिवराज ढुङ्गाना/अछाम, छविलाल जैसी/टीकापुर, लोकेन्द्र जोशी/दार्चुला, चाँदनी आचार्य/लम्की र लक्ष्मीराज पाध्याय/बाजुराले    सयूक्त रूपमा याे समाचार  लेख्नुभएकाे छ ।

 

चर्चामा

सम्बन्धित समाचार