आइतवार, जेष्ठ २०, २०८१
  • होमपेज
  • देश
  • सशस्त्र प्रहरी ‘हाई अलर्ट’ मा, उच्च मनोबलका साथ काम गर्न आईजीपी खनालको निर्देशन

सशस्त्र प्रहरी ‘हाई अलर्ट’ मा, उच्च मनोबलका साथ काम गर्न आईजीपी खनालको निर्देशन

  • शनिबार, असार २८, २०७६
सशस्त्र प्रहरी ‘हाई अलर्ट’ मा, उच्च मनोबलका साथ काम गर्न आईजीपी खनालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले कुनै पनि प्रकारको विपद् प्रकोपको जोखिम भएमा उच्च मनोबलका साथ छिटोभन्दा छिटो उद्धार कार्यमा परिचालित हुन निर्देशन दिँदै एपीएफ एकाईहरुले आ–आफ्नो कार्यालयमा रहेका उद्धार सामाग्री तथा जनशक्तिलाई तयारी अवस्थामा राख्नसमेत भनेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले देशभर रहेका एपीएफ एकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट लाइभ भिडियो स्ट्रीमिङ तथा सशस्त्र प्रहरी सञ्चार मार्फत शुक्रबार प्रत्यक्ष सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् ।

कुनै पनि प्रकारको विपद् प्रकोप भएमा उद्धार कार्यमा शिघ्र परिचालित हुनुपर्ने आवश्यकता औल्याउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘कुनै प्रकारको विपद् भएमा सम्पूर्ण एपीएफ एकाईका प्रमुखहरुले एपीएफ टोली छिटोभन्दा छिटो परिचालन गर्नु होला, त्यसो भएमा पीडितलाई उद्धार गर्ने कार्यमा सफलता प्राप्त हुन सघाउ पुग्दछ ।’

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले आफ्नो कार्यमा प्रभावकारिता ल्याउन सूचना प्रविधिको अधिकतम उपयोग गर्ने लक्ष्यका साथ कामकारवाहीहरु गरिरहेको उल्लेख गर्दै परिणाममुखी कार्यसम्पादनका लागि आधुनिक उपकरणको उपयोग भइरहेको र यसबाट अपेक्षाकृत उपलब्धी हासिल भइरहेको बताए । उनले इमानदारी एवं वफादारीपूर्वक दायित्व निर्वाह गर्न निर्देशन दिँदै सीमा सुरक्षा लगायत सशस्त्र प्रहरी कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउँदै लगिने र सो कार्यको सुरुवात भइसकेको उल्लेख गरे ।

उनले सशस्त्र प्रहरी कार्यसम्पादनमा शिघ्र परिचालित भई सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्धार कार्यमा कृयाशील रहन देशभर कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा तथा सुशासन कायम राख्ने एवं सीमा सुरक्षा लगायत औद्योगिक सुरक्षा तथा राजश्व संकलनमा समन्वयका साथ सहयोग एवं सहकार्य गर्दै अगाडि बढ्न निर्देशन दिँदै जिम्मेवारीका क्षेत्रहरुमा यथाशिघ्र परिचालित भई परिणाममुखी कार्यसम्पादन गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

यसैगरी संघीय सरकारको अभिन्न सुरक्षा अंगको रुपमा रही कार्य सम्पादन गर्न, गम्भिर प्रकृतिका सुरक्षा चुनौतीहरुलाई सामना गर्न, तालिमका माध्यमबाट दक्ष तथा सक्षम जनशक्तिको विकास गरी अनुशासित, व्यावसायिक तथा ईमानदार राष्ट्रसेवक निर्माण गर्न एवं अभैm प्रभावकारी रुपले शान्ति सुरक्षा कायम गर्न देशका सवै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपालको आवश्यकता महसुस गरी गत वर्ष नै संगठनको पुनर्संरचना गरिएको कुरा समेत उल्लेख गरे । जस अनुसार ४५ जिल्लामा स्थायी र १३ जिल्लामा अस्थायी गरी ५८ जिल्लामा मात्रै संगठनको उपस्थिति रहेकोमा हाल ६० जिल्लामा स्थायी र १७ जिल्लामा अस्थायी गरी ७७ वटै जिल्लामा परिचालित भएको तथा पाँच वटा बाहिनीमा तीन वटा थप गरी ८ वटा बाहिनी बनाइएको, पाँच वटा तालिम शिक्षालय रहेकोमा ६ वटा तालिम शिक्षालय थप गर्ने तर्फ कामकारवाही भईरहेको, २७ वटा गणमा ९ वटा थप गरी ३६ बनाईएको, २१ वटा सीमा सुरक्षा कार्यालयहरुलाई गणमा स्तरोन्नती गरिएको, ३८ गुल्महरुमा १८ वटा थप गरी ५६ स्थायी गुल्म बनाइएको छ ।

यसैगरी गुल्ममा फरक–फरक जनशक्ति रहेकोमा समान रुपमा जनशक्तिको संख्या १ सय ६० बनाइएको, १७ वटा आश्रित गुल्म थप गरिएको, सीमा सुरक्षा कार्यलाई संवेदनशील रुपमा लिई ८७ वटा बोर्डर आउट पोष्टमा १९ वटा थप गरी १ सय ७ पु¥याइएको तथा थप ४ वटा स्थापनाको क्रममा रहेको, करीब १० हजारको जनशक्ति रहेको तराईमा १५ हजार जनशक्ति परिचालन गरिएको, बोर्डर आउट पोष्ट स्थापना र कमाण्डरको परिचालनलाई सहज बनाईएको तथा युनिट सरुवा प्रणालीलाई प्रभावकारी बनाउन पहल गरिएको कुरा समेत सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उल्लेख गरे । उनले आवश्यकता अनुसार बोर्डर आउट पोष्टको संख्या वृद्धि गरिँदै लगिने तथा उत्तरी सीमातर्फ समेत बोर्डर आउट पोष्ट स्थापना गरिँदै लगिने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा विभिन्न कारणले रिक्त हुने पदहरुमा बढुवा तथा नयाँ भर्ना प्रकृयाबाट पदपूर्ति गर्दै लगिएको बताउँदै संगठनले पारदर्शी ढंगले सरुवा बढुवा कार्य गर्दै आएको कुरा समेत उल्लेख गरे ।

सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार क्षमता अभिवृद्धि गर्नेतर्फ पहल भइरहेको बताउँँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले बहालवाला तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी एवं तिनका सन्तति तथा आमनागरिकलाई उपचार सेवा प्रदान गर्दै आएको एपीएफ अस्पतालाई स्तरोन्नति गर्दै सात वटै प्रदेशमा समेत क्रमिक रुपमा अस्पताल स्थापना गर्दै लगिने बताए । उनले शिक्षाको महत्वमाथि प्रकाश पार्दै हाल पहिलो चरणमा प्रदेश नम्बर २ को सप्तरी जिल्लामा नेपाल एपीएफ स्कुलको स्थापनाको सुरुवात भइसकेको तथा आगामी दिनमा सात वटै प्रदेशमा एपीएफ स्कुलको स्थापना गरी सशस्त्र प्रहरी कर्मचारीका सन्तती एवं स्थानीय जनताका सन्ततीहरुलाई स्तरीय शिक्षा प्रदान गरिने बताए ।

चर्चामा

सम्बन्धित समाचार