आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • समाचार
  • बाढी पहिरोका कारण देशभर १७ जनाको मृत्यु, अझै तीन दिन भारी वर्षा हुने

बाढी पहिरोका कारण देशभर १७ जनाको मृत्यु, अझै तीन दिन भारी वर्षा हुने

  • शुक्रबार, असार २७, २०७६
बाढी पहिरोका कारण देशभर १७ जनाको मृत्यु, अझै तीन दिन भारी वर्षा हुने

काठमाडौं २७ असार । बिहीबार रातिदेखि अविरल परेको वर्षाका कारण देशभर १७ जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण काभ्रैपलाञ्चोक जिल्ला बनेपा ३ की ५५ बर्षीया गोमा दंगाल र ७ बर्षीया सोहनी दंगालको मृत्यु भएको छ । अर्की नातीनी अनुस्का र बहुहारी सुशिलाको उद्दार गरि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका–७ मा ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ । वर्षाका कारण घर भत्किदा पर्खालले लागेर मृत्य भएको हो ।
त्यस्तै टेम्केमैयुङ गाउँपालिका–९ का १४ वर्षीय जनक विकको पनि पहिरोका कारण मृत्यु भएको छ ।
रामेछाप जिल्ला रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।

पर्साको पर्सागढी नगरपालिका १ का १० बर्षीय निखिल पटेलको मृत्यु भएको छ । स्थनीय सिंग्याही खोलाले बगाएर उनको मृत्यु भएको हो ।

त्यस्तै ललितपुरमा समेत एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बागमती नगरपालिका- ३ का ११ वर्षीय सरोज तामाङ पहिरोमा पुरिएर मृत्यु भएको हो।

मकवानपुर जिल्लाको थाहा नगरपालिका – ३ की बालिका सञ्चना बलामी मृत्यु भएको छ । स्थानीय महाभीर खोलाले बगाउँदा घाइते भएकी उनको मृत्यु भएको हो । खोलाबाट उद्धार गरि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ । बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पु¥याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ । उहाँका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो ।

सिन्धुलीको फिक्कल गाउँपालिका–१ झुल्केमा पहिराले गोठसहित बगाउँदा महिलाको पुरिएर मृत्यु भएको हो । गोठमा गाईलाई खोले दिन गएकाबेला ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिराले बगाउँदा मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।

धादिङमा पहिरोले घर लडाउँदा बालिकाको मृत्यु भएको छ। गजुरी गाउँपालिका(४ की ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ । घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उहाँका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको हो । पहिराले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते हुनुभएको छ ।

त्यस्तै ओखलढुंगामा समेत वर्षाका कारण एक जनाको ज्यान गएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार