शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • ‘एक्सन’मा प्रेम सञ्जेल, ‘ठग’हरूलाई धमाधम दण्डित गर्दै

‘एक्सन’मा प्रेम सञ्जेल, ‘ठग’हरूलाई धमाधम दण्डित गर्दै

  • मङ्लबार, बैशाख २४, २०७६
‘एक्सन’मा प्रेम सञ्जेल, ‘ठग’हरूलाई धमाधम दण्डित गर्दै
विराटनगर : पैसा कमाउने लोभमा ऋण गरेर र २१ वर्षीय कलिलो छोरा पुष्पमणिलाई युएई पठाएका सुन्दर हरैंचा-५ का भोजराज गौतम वैशाख ५ गते छटपटिँदै श्रम कार्यालयमा आइपुगे । उनी छट्पटिनुको कारण थियो, छोरामाथिको यातना र बन्धक जीवन । यहाँबाट जाँदा उनका छोराले न त भनेजस्तो काम पाए, न त पारिश्रमीक नै। उनी मात्रै होइन, सँगै गएका तीनजनाको अवस्था पनि उस्तै थियो । खोलाको डिलमा बसेका उनीहरूलाई छिमेकी महेन्द्र तामाङले म्यानपावर कम्पनीमा पुर्याएका थिए । सरकारले १० हजारमै पठाउने व्यवस्था गरेको छ । तर तामाङले एक लाख ७० हजारको दरले रकम असुलेको खुलेको छ। तामाङले रकम लिएको कागजात देखाउँदै गौतम श्रम कार्यालयका प्रमुख प्रेम प्रसाद सञ्जेलको च्याम्बरमा पुगेका थिए । आफ्नो बुवाको काजकिरिया सकेको १५ दिनपछि अर्थात् भदौ २२ गते युएई पुगेका रविन पराजुलीको अवस्था पनि गौतमको जस्तै थियो । सेतै बस्त्र लगाएकी आमा सीता पराजुलीलाई कलिलो छोरा बन्धक बनेको खबरले मर्माहत बनाएको थियो । कार्यालय प्रमुख सञ्जेलको पहलमा दुवै पीडितलाई झिकाइयो । र पीडक भनिएका महेन्द्र तामाङबाट त्यो रकम असुलियो पनि। आइतबार पीडितद्वयलाई सञ्जेलकै टेबल अगाडि खनखनी एक लाख ६० हजारको दरले रकम गन्न लगाइयो र सहमति भयो । पीडितले न्याय पाएको बताए भने पीडक तामाङले अबदेखि त्यसो नगर्ने भन्दै माफी मागे । उद्योगीलाई पनि कस्दै मोरङको साविक टंकी सिनवारी गाविसस्थित पायनियर वायर्स प्रालिले २३ वर्षअघि श्रम कार्यालय विराटनगरको रोहबरमा गरेको सहमति पालना नगरेको भन्दै मजदुरले सञ्जेलसमक्ष निवेदन दिए । उक्त उद्योगमा काम गर्ने क्रममा मजदुर मोहम्मद सलाउद्दीन २०५१ सालमा गर्डरलोहोले थिचेर सख्त्त घाइते भएका थिए । ८÷१० क्वीन्टलको गार्डरलाई क्रेनले उठाउने क्रममा चिप्लिएर उनको खुट्टामा खसेको थियो । त्यसपछि उनको खुट्टा अहिले पनि राम्ररी चल्दैन । त्यसबेला उनी १९ वर्षका थिए । जवान अवस्थामा घाइते बनेका उनी ६ महिनाको उपचारपछि घर फर्किए । उद्योगसँग २०५२ कात्तिक १० गते घाइतेलाई क्षतिपूर्ति र काममा पुनर्वाहाली गर्ने सहमति भएको थियो । त्यसबेलादेखि उनी उद्योग धाइरहेका छन्। तर २३ वर्ष बितिसक्दा पनि उनले न त क्षतिपूर्ति नै पाए न त पुनर्वाहाली नै भयो । त्यसबेलाको श्रम कार्यालयको रोहवरमा भएको सहमतिको कागज लिएर उनी पुनः श्रम कार्यालयका वरिष्ठ अधिकृत प्रेम सञ्जेलको शरणमा पुगे । सञ्जेलले त्यसबेलाका श्रम कार्यालयका कर्मचारी र ट्रेड युनियनका नेताहरुले लापरवही गर्दा सलाउद्दीनले न्याय नपाएको बताए । ‘त्यतिबेलै उनलाई न्याय दिन सकिन्थ्यो, श्रम कार्यालयका कर्मचारी र मजदुर नेताहरुले लापरवाही गरेको देखियो,’ सञ्जेलले भने, ‘२३ वर्ष अगाडि दिने भनेको क्षतिपूर्ति रकमको सावाँ ब्याज हिसाब गरेर असुलउपर गर्न वा सहमति गर्न उद्योगलाई निर्देशन गर्छु ।’ सलाउद्दीन त उदाहरण मात्रै हु्न्, भ्रष्टाचारविरोधी छवि बनाएका प्रेमप्रसाद सञ्जेल श्रम तथा रोजगार कार्यालय विराटनगर आएपछि दैनिक उजुरी लिएर आउने श्रमिकको भिड बढ्न थालेको छ । यससँगै फैसला पनि पीडितको पक्षमा धमाधम भइरहेको छ । ठग्ने फन्दामा धनपालथान गाउँपालिकाका राजनकुमार राजवंशीले क्यानडा पठाइदिन्छु भनेर सुनवर्सी नगरपालिकाका–६ जना युवासँग ४ लाखका दरले २४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको सञ्जेलले जानकारी दिए । उनलाई पक्राउ पुर्जी जारी गरेर प्रहरीले पक्राउ गर्न नसकेपछि मालपोतबाट घरजग्गा नै रोक्का गरिएको छ । वैदेशिक रोजगारीमा ठगिएका दैनिक ५ वटासम्म र श्रमको उचित ज्याला नपाएको उजुरी दैनिक २ जनासम्म उजुरी लिएर श्रम कार्यालयमा आउने गरेको सञ्जेलले बताए । तर कर्मचारी अभावमा अझै चाहेजस्तोे काम गर्न नसकेको उनले बताए । गत साउन २९ गते सामाजिक सुरक्षा ऐन २०७४ र भदौ १९ गते श्रम ऐन २०७४ जारी भएको थियो । ऐन जारी भएपनि उद्योग, निजी विद्यालय, अस्पताल, सेक्युरिटी कम्पनी र एयरलान्यसमा कार्यरत कर्मचारी, कामदार तथा मजदुरले अझै त्यो सुविधा पाउन नसकेको उनले बताए ।
थाहा खवरबाट

चर्चामा

सम्बन्धित समाचार