सोमवार, मंसिर २०, २०७८
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • गाँजाको रसायनबाट कफी, स्याम्पू र तेल उत्पादन गर्न होडबाजी

गाँजाको रसायनबाट कफी, स्याम्पू र तेल उत्पादन गर्न होडबाजी

  • बिहिबार, चैत्र २१, २०७५
गाँजाको रसायनबाट कफी, स्याम्पू र तेल उत्पादन गर्न होडबाजी

विकसित मुलुकहरूमा गाँजा खुला गर्ने लहर चलेका बेला यसमा पाइने रसायन स्याम्पू, कफी, शरीरमा लगाउने तेल लगायत थुप्रै घरायसी सामग्रीमा प्रयोग हुन थालेको छ।

‘सिबिडी’ (क्यानाबिडिओल) भनिने यो रसायन गम्मी बियर्स (एक प्रकारको चकलेट) देखि कुकुरहरूको खानामा समेत प्रयोग हुन्छ।

पछिल्लो समय अमेरिकी बजारमा कफी पसल, कृषि बजारदेखि डिपार्टमेन्ट स्टोरहरूमा समेत यो रसायन बिक्री हुन्छ। कानुनी रूपमा गाँजा बिक्री गर्ने केन्द्रहरूमा पनि पाइन्छ।

‘सिबिडी रातारात फैलिएको हो,’ क्यालिफोर्नियास्थित गाँजा अनुसन्धान तथा लगानी फर्म ‘द आर्कभ्यु ग्रुप’ का प्रमुख कार्यकारी ट्रोय डेटनले भने, ‘गाँजासँग सम्बन्धित हरेक क्षेत्रमा यो नयाँ आकर्षण बनेको छ। उत्पादक, उपयोगकर्ता र विशेषगरी उद्यमीहरूले रूचाइरहेका छन्।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बरमा एक कृषिसम्बन्धी कानुन पास गरेका थिए। त्यसमा गाँजाबारे पनि उल्लेख छ। त्यो कानुनले सिबिडीको मात्रा धेरै भएका गाँजा उत्पादन वैधानिक गरेको थियो। यसले सिबिडिको बजार ह्वात्तै बढ्यो।

गाँजाका धेरै प्रजाति हुन्छन्। संसारमा मुख्य दुई प्रजाति खेतीपाती हुन्छ। एउटामा ‘टिएचसी’ (टेट्राहाइड्रोक्यानाबाइनोल) उच्च हुन्छ। यसको सेवनले मान्छेलाई झुम्म बनाउँछ। मुख्यतया गाँजा खाने र औषधि बनाउने भनेको यही प्रजातिको हो।

अर्को प्रजातिको गाँजामा सिबिडी बढी हुन्छ। यो रसायनले मान्छेलाई धेरै झुम्म बनाउँदैन। विशेषगरी यो प्रजातिको गाँजा शारीरिक दुखाइ र तनाव कम गर्न सहयोगी मानिन्छ।

Related image
गाँजामा पाइने रसायन सिबिडी मिश्रित कस्मेटिक सामग्री।

सिबिडीको बजार आकासिँदै गए पनि खाद्य तथा औषधि प्रशासनले यसको व्यापारीकरणबारे कुनै निर्णय गरिसकेको छैन। सिबिडी मिसिएका उत्पादन बजारमा कसरी नियमन गर्ने भन्नेबारे कुनै टुंगो लागेको छैन।

ब्रुकिङ्स संस्थालाई हालै दिएको एक अन्तर्वार्तामा खाद्य प्रशासनका अधिकारी स्कट गोटलिवले नियमनको निम्ति सबै प्रक्रिया सकिन केही वर्ष लाग्ने बताएका छन्। उनका अनुसार सिबिडी मिसिएका उत्पादनलाई पूर्ण रूपमा कानुनी मान्यता दिन अनुसन्धान बाँकी छ।

खाद्य तथा कस्मेटिक उत्पादनमा भने सिबिडी मिश्रणबारे कुनै अनुसन्धान नै नभएको होइन।

गत वर्ष खाद्य प्रशासनले नै सिबिडी मिसिएको औषधिलाई मान्यता दिएको थियो। यसले ‘इपिलेप्सी’ नामको रोग कम गर्न मद्दत पुर्याउने पुष्टि भएको थियो। त्यसपछि भने अरू कुनै औषधिले मान्यता पाएको छैन।

गाँजा अनुसन्धाता फर्म ‘द आर्कभ्यु ग्रुप’ का प्रमुख कार्यकारी डेटन पनि यसमा अझै अनुसन्धान हुनुपर्ने मान्यता राख्छन्।

सिबिडी मिश्रित उत्पादनहरूको निश्चित मापदण्ड र गुणस्तर कायम हुनुपर्ने उनी बताउँछन्। यी उत्पादन कति सेवन गर्ने भन्नेबारे पनि यथेष्ट अनुसन्धान नभएको उनको भनाइ छ।

‘यो जति उत्साहजनक हुँदै गएको छ, चुनौती पनि बढ्दै छ,’ उनी भन्छन्, ‘मापदण्ड कायम गर्न परीक्षण एकदमै जरूरी छ। नभए सिबिडीको प्रभाव हल्ला र चर्चामा मात्र सीमित हुन्छ। यिनको वास्तविक प्रभावकारिता थाहा हुँदैन। यसले हल्ला र वास्तविकताबीच फरक छुट्याउनै मुश्किल हुँदै जान्छ।’

अनुसन्धानका अतिरिक्त यससम्बन्धी व्यवसाय गर्नेलाई बैंकको सहयोग पाउन मुश्किल भएको पनि इभान एनम्यान बताउँछन्।

इभान गाँजा उद्योगका निम्ति वित्तीय र करबारे सल्लाह दिने कम्पनी ‘एमजिओ/इएलएलओ नेसनल क्यानाबिज अलाइन्स’ का प्रमुख कार्यकारी हुन्।

‘हामीले ती ग्राहकसँग कुराकानी गरिरहेका छौं, जसलाई बैंकको सहयोग पाउन गाह्रो भएको छ। हामी आफैंले गाँजा व्यवसायमा सहयोग गर्न चाहने केही बैंक र ऋण दिने कम्पनीहरूसँग कुराकानी गरिरहेका छौं,’ इभान भन्छन्, ‘दुवै पक्ष संघीय सरकारले स्पस्ट र कार्यान्वयन हुने खालका बैंकिङ मापदण्ड बनाइदियोस् भन्ने चाहन्छन्।’

गाँजा उत्पादन गर्ने उद्यमी र यसमा सहयोग गर्न चाहने बैंक दुवैलाई सरकारी कानुन र मापदण्डको प्रतीक्षा छ। यसले उनीहरूको काम सहज र वैधानिक बनाउँछ।

Image result for cbd products
गाँजामा पाइने रसायन सिबिडी मिश्रित कस्मेटिक सामग्री।

बैंक, नियमन र मापदण्ड लगायतका बाधा भए पनि ‘आर्कभ्यु ग्रुप’ ले सिबिडी मिश्रित उत्पादन राम्रो तरिकाले बिक्रीवितरण गर्न सफल भएको छ। अमेरिकामा आगामी पाँच वर्षमा आर्कभ्युका सिबिडी उत्पादनले वैधानिक रूपमा बिक्रीवितरण भइरहेको गाँजालाई प्रतिस्थापन गर्ने आकलन छ।

केही अरू उत्पादकहरू ग्राहकले आफूमाथि विश्वास गरून् भन्ने चाहन्छन्। यसैमध्ये एक हुन् डेन्भरस्थित ‘ब्यालेन्स्ड हेल्थ बोटानिकल्स’ का प्रमुख कार्यकारी चेज टरविलिंगर। डोनाल्ड ट्रम्पले कानुन पास गर्नुअघि थुप्रै बैंक तथा ऋण प्रदायक कम्पनीले चेजको कम्पनीसँग काम गर्न अस्वीकार गरेका थिए।

‘अब यो वर्षदेखि विस्तारै हाम्रा समस्या समाधान हुँदै जान्छ भन्ने लागेको छ,’ चेजले भनेका छन्, ‘पहिले ठूल्ठूला बैंकमा हाम्रो खाता थियो। त्यो बेला सबै बन्द गरिदिए। अहिले भने तिनै कम्पनी हामीलाई ऋण दिन बोलाइरहेका छन्।’

सन् २०१५ मा स्थापना भएको ‘सिबिडिइस्टिलरी’ कम्पनीले सुरूमा गाँजाबाट निकालिएको सिबिडी मिसिएको शुद्ध पाउडर बेच्थ्यो। यो पाउडर खाना, पेयपदार्थ, तेल वा शरीरमा लगाउने क्रिम/लोसनमा मिसाउन मिल्थ्यो।

कम्पनीले तेल, रक्सीमा मिसाएर, क्याप्सुल र गम्मीहरू पनि बनाउन थालेपछि यसको बजार बढेको थियो।

सन् २०१६ मा कम्पनीले दुई लाख अमेरिकी डलर बराबरको सिबिडी मिश्रित उत्पादन बेचेको चेजले जानकारी दिए। गत वर्ष ४ करोड १० लाख डलरको कारोबार गरेको कम्पनीले यो वर्ष अन्त्यसम्म ८ करोड डलर कारोबार गर्ने अनुमान छ।

‘हामी अब ठूलो कम्पनी हुँदैछौं। १०१ जना कर्मचारी छन्। पचासै राज्यमा हाम्रा उत्पादन बिक्रीवितरण हुन्छन्,’ चेजले भने, ‘सिबिडीबारे कानुनी मापदण्ड नभएकाले हामी आफैं तीन पटकसम्म उत्पादन परीक्षण गर्छौं।’

केही कम्पनीले सबिडी मिश्रित फेसवास, मास्क, मोस्चराइजर क्रिम लगायत उत्पादन थालेका छन्।

घरपालुवा कुकुर र बिरालोको खानामा पनि सिबिडीको प्रभाव देखिएको छ। कुकुर, बिरालो लगायत अन्य जनावरहरूको तनाव र दुखाइ कम गर्न यो सहयोगी हुने भनिन्छ। केही कम्पनीले यही आधारमा जनावरका खाना तयार पार्न थालिसकेका छन्।

Image result for austin and kat cbd
कुकुरका निम्ति बनाइएको गाँजामा पाइने रसायन सिबिडी मिश्रित खाना र तेल।

सिएनएनको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार