बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पत्रपत्रिका
  • प्रहरीको पनि समायोजन

प्रहरीको पनि समायोजन

  • शनिबार, चैत्र २, २०७५
प्रहरीको पनि समायोजन

काठमाडौं : प्रहरीलाई अब प्रदेशमा पनि समायोजन गरिने भएको छ। संघ, प्रदेश र स्थानीय तहको शान्ति सुरक्षा तथा व्यवस्थाका लागि नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गरिन लागिएको हो। प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्को प्रतिनिधिसभामा पेस गरिएको छ।

उक्त विधेयकमा प्रहरीलाई खाइपाइ आएको तलबमा २ ग्रेड थप गरी समायोजन गरिने उल्लेख छ। प्रहरीमा समायोजन गर्दा थप गरिएको ग्रेड उसले पाउने अधिकतम ग्रेडभन्दा बढी भए त्यसरी थप भएको ग्रेडसमेत दिइने विधेयकमा उल्लेख गरिएको छ।

प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरीकै

उक्त विधेयकअनुसार प्रदेश प्रहरी प्रमुख नेपाल प्रहरीकै कर्मचारी हुनेछन्। उनको खटनपटन पनि संघमार्फत हुनेछ। प्रदेश प्रहरी प्रमुखबाहेक अन्य प्रहरीलाई प्रदेश सरकारको सम्बन्धित निकाय वा अधिकारीले प्रदेशभित्रको एउटा कार्यालय वा निकायबाट अर्को कार्यालय वा निकायको समान पदमा स्थानान्तर गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रदेश प्रहरीको दरबन्दी पूर्ति हुन नसकेमा रिक्त हुन गएको पदमा सम्बन्धित प्रदेशले पदपूर्तिका लागि संघीय गृह मन्त्रालयमा माग लेखी पठाउनुपर्ने विधेयकमा उल्लेख छ। प्रदेश प्रहरी सेवासम्बन्धी कानुन बनिसकेको र प्रदेश लोक सेवा आयोग गठन भई कार्य प्रारम्भ गरेका अवस्थामा संघीय गृह मन्त्रालयलाई जानकारी दिई सम्बन्धित मन्त्रालयले प्रदेशस्तरमै पदपूर्तिको व्यवस्था मिलाउन सक्नेछ। यसरी नियुक्त भएको व्यक्तिलाई प्रदेश प्रहरीका रूपमा नियुक्ति दिनु पर्नेछ। प्रदेशको कानुन बनाउन सेवाका सर्त र सुरक्षासम्बन्धी मापदण्डसमेत विधेयकमा उल्लेख छ।

मापदण्डअनुसार प्रदेश प्रहरी कार्यालयको संगठन संरचना तथा दरबन्दी हेरफेर गर्दा प्रदेश प्रहरीमा समायोजन भएका प्रहरी अवकाश नभएसम्म बहाल रहेको पद कायम रहनेछ। प्रदेश प्रहरीको कार्यालयमा भएका नेपाल प्रहरीको दरबन्दी पनि कायम रहनेछ। समायोजन हुँदाको बखत खाइपाई आएको तलब तथा अन्य सेवा–सुविध कम नहुने कुराको सुनिश्चितता हुनु पर्नेछ।

प्रदेश प्रहरीसम्बन्धी कानुन बनाउन आवश्यक सेवाका सर्त र सुरक्षासम्बन्धी मापदण्डसमेत विधेयकमा छ।

प्रदेश प्रहरीमा समायोजन र बढुवाका लागि आवश्यक शैक्षिक योग्यता तथा सेवा अवधि पूरा गरेको प्रहरी बढुवाका लागि सम्भाव्य उम्मेदवार हुने कुराको सुनिश्चितता गर्नु पर्नेछ। प्रदेश प्रहरीमा समायोजन भएका प्रहरीले संघीय प्रहरीसम्बन्धी कानुनमा निर्धारण गरिएको सेवा अवधिभन्दा कम्तीमा दुई वर्ष बढी अवधिसम्म सेवामा बहाल रहने कुराको सुनिश्चिता गर्नु पर्नेछ।

सेवा, सर्त र सुविधासम्बन्धी व्यवस्था समायोजन हुनुपूर्वको सेवाका सर्त र सुविधाबमोजिम हुनेछ। समायोजन भएको वा खटाइएको प्रहरीको तलब भत्ता तथा अन्य सुविधा प्रदेश सरकारले उपलब्ध गराउनु पर्नेछ। कुनै कारण समायोजन भएको प्रहरी सेवाबाट अलग भए उपदान, निवृत्तिभरण, उपचार खर्च तथा सञ्चित बिदाको रकम नेपाल सरकारले व्यहोर्नेछ। समायोजन भएका प्रहरीको संघीय कानुनमा व्यवस्था भएबमोजिम पदोन्नतिको अवसर प्रदान गरिनेछ।

मन्त्रालयले ऐन प्रारम्भ भएको ३० दिनभित्र प्रहरी कर्मचारी समायोजन गर्ने गरी प्रहरी विवरण तयार पार्नेछ। मन्त्रालयले प्रहरीलाई प्रदेश प्रहरीमा समायोजनका लागि प्रत्येक प्रदेशमा समायोजन गरिने पद, दर्जा, त्यसको संख्यासहितको विवरण खुलाई समायोजनका लागि निवेदन आह्वान गरी सूचना प्रकाशन गर्नेछ। मन्त्रालयले वेबसाइटबाट निवेदन आह्वान गर्नेछ।

समायोजनको प्राथमिकता

प्रदेश प्रहरीमा समायोजन गर्दा कार्यरत पदको ज्येष्ठतालाई प्रमुख प्राथमिकताको आधार बनाइएको छ। कम्तीमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थाायी बसोवासको ठेगाना, नागरिकतामा उल्लिखित ठेगाना र उमेरको ज्येष्ठतालाई समायोजनको अधार बनाएको छ। कर्मचारीमा जस्तै प्रहरीमा पनि सम्भव भएसम्म पति/पत्नीलाई एकै प्रदेशमा पर्ने गरी समायोजन गरिने विधेयकमा उल्लेख छ।

नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना तथा दरबन्दी नेपाल सरकारले कायम गरेबमोजिम हुनेछ। संगठन संरचना तथा दरबन्दी कायम गर्न सिफारिस गर्न गृहमन्त्रालयका सचिवको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको व्यवस्था गरिएको छ। उक्त समितिले प्रतिवेदन तयार गरी सिफारिस गर्नेछ। प्रतिवेदनमा प्रदेश प्रहरीमा रहने पद तथा श्रेणीको समेतको सिफारिस गर्नु पर्नेछ। उक्त सिफारिस संगठन संरचना तथा दरबन्दी कायम गर्न मन्त्रालयले नेपाल सरकारसमक्ष पेस गर्नेछ।

समायोजन भएका वा खटाइएका प्रहरीले बाटो म्यादबाहेक १५ दिनभित्र समोजन गरिएको वा खटाइएको प्रदेशमा हाजिर नहुने प्रहरीलाई अवकाश दिने व्यवस्था विधेयकमा छ। प्रदेश प्रहरीमा समायोजन भएका प्रहरीको सम्बन्धित प्रदेशभित्र मात्र सरुवा हुनेछ। समायोजन भएका र बढुवाको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता र सेवा अवधि पूरा गरेका प्रहरी समायोजन भएको प्रदेश प्रहरीको रिक्त पदमा बढुवाका लागि उम्मेदवार हुन सक्नेछन्।

चर्चामा

सम्बन्धित समाचार