शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • किरिया खर्च नभएपछि १३ दिने संस्कार तीन दिनमै

किरिया खर्च नभएपछि १३ दिने संस्कार तीन दिनमै

  • आइतवार, फाल्गुन १९, २०७५
किरिया खर्च नभएपछि १३ दिने संस्कार तीन दिनमै

जिल्लाको दुर्गम निसीखोलास्थित एक दलित परिवारले किरिया खर्च समेत जुटाउन नसक्दा १३ दिने संस्कार नै छोट्याउनु परेको छ ।

निसीखोला गाउँपालिका–७ राजकुट मुदुङका ४५ वर्षीय लक्ष्मण विकको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा शनिबार निधन भएको थियो ।

सदरमुकामदेखि धेरै टाढाबाट उपचारको क्रममा अस्पतालमा श्रीमती सहित आएका विकको मृत्युपछि उनको शव अन्यष्टिमा समेत आर्थिक अभाव भए पछि आर्थिक सहयोग जुटाएर अन्त्यष्टि गरिएको थियो ।

ऋण जुटाएर उपचार गर्न १४ फागुनमा अस्पताल आएका विक परिवारसँग भएको रकम उपचारमै सकिएपछि शव अन्येष्टि गरेर घर फर्कनै समस्या थियो । मृतकका दाजु बलबहादुर विक भन्छन्, ‘भाइलाई अल्पायुमै गुमाउँदाको पीडा एकातिर छ, अर्कोतर्फ शव गाउँको आफ्नै घाटमा लैजाने मन हुँदाहुँदै लैजान सकिएन । धेरथोर सहयोगबाट नजिकैको कालीगण्डकीमा लगेर अन्त्यष्टि गर्न बाध्य भइयो ।’

बलबहादुरका अनुसार अब अन्यष्टि गरेर घर फर्कन र संस्कार अनुसार काजकिरिया उम्काउन परिवारलाई थप समस्या छ । परम्परा अनुसार, काजकिरिया पूरै उम्काउन सामान्यतः ४० देखि ५० हजार खर्च हुन्छ । १३ दिन काजकिरिया गर्ने संस्कारलाई विक परिवारले भने छोट्याएर तीन दिनमै सक्ने तयारी गरेका छन् ।

भाइको मृत्युको खबर पाएलगतै गाडी भाडा समेत ऋण खोजेर बागलुङ बजार आएका बलबहादुरले सबैसँग सहयोगको अपिल गरेका छन् । एक श्रीमती र चार वर्षका दुई जुम्ल्याहा छोरा–छोरी रहेका विक गत माघदेखि थला परेका थिए । ज्याला मजदुरीमा जीवन निर्वाह गर्दैआएको विक परिवारको घरमुलीको निधन भएपछि परिवारको अबको लालनपालन, शिक्षा दिक्षामा समेत समस्या हुने देखिएको छ ।

बागलुङका युवा सज्जनकुमार सिंहले भने स्थानीय संघ संस्था र व्यक्तिसँग सहयोगको अपिल गरेर काजकिरिया, छोराछोरीको शिक्षाको लागि सहयोग अभियान चलाउने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार