बुधबार, जेष्ठ १६, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बोल्ड एन्ड ब्युटिफुल

बोल्ड एन्ड ब्युटिफुल

  • बिहिबार, फाल्गुन १६, २०७५
बोल्ड एन्ड ब्युटिफुल

पहिले हिन्दी सिरियलका प्रेरणा, कोमलिका, कसौटी, कुमकुम स्टाइलका साडी, कुर्ता, ब्लाउज, लेहेँगा खोज्थे । अहिले इन्स्टाग्राम, फेसबुक हेरेर र आफैँ गुगलमा सर्च गरेर त्यहीअनुसारका ड्रेस तयार पार्न बुटिक पुग्छन् ।

काठमाडौँ — पछिल्लो दशक अन्तर्राष्ट्रिय जगत्मा नेपालको ब्रान्डिङ गर्नेमा सबैभन्दा अगाडि पर्छन्, प्रबल गुरुङ । उनी ड्रेस डिजाइनर हुन् । राजधानीमा हुर्केर नयाँदिल्ली हुँदै न्युयोर्क पुगेका उनी अहिले विश्व फेसन बजारका ठूला डिजाइनर बनेका छन् । उनी पछिल्लो दशक नेपालप्रति निक्कै मोहित देखिएका छन् । उनको डिजाइनमा मुस्ताङमा देखेको लामो बस्त्र, नेवारको हाकुपटासी, तराईको थारू पहिरन, चेलीहरूका पाउजुदेखि बौद्ध गुम्बा, म्हाने र स्तूपहरूमा सजाइने ध्वजाले न्युयोर्क फेसन विकको रन—वे तताइरहेको छ ।

न्युयोर्क फेसन विकमा पछिल्ला दुई शोमा प्रबलको बौद्ध परम्पराबाट प्रभावित रन—वेसँगै उस्तै डिजाइनका पहिरनको समीक्षकहरूले खुबै तारिफ गरे । फेसन दुनियाँको उनको उचाइ दैनन्दिन बढिरहेको छ । अरू नेपाली डिजाइनर उनकै सिर्जनाको नजिकसमेत पुग्न सकेका छैनन् । यसबीचमा नेपाली फेसन बजारले भने ठूले फड्को मारिसकेको छ । ‘दशकअघिसम्म पनि बुटिक पेसै गर्न मानिस हच्किन्थे । उच्च वर्गका मानिस मात्र डिजाइनका सौखिन थिए । थोरैमात्र मध्यम वर्गका मानिस बुटिक छिर्थे,’

सन् २००४ मा काव्या बुटिकबाट डिजाइनरको करिअर सुरु गरेकी रमिला नेमकुलले भनिन्, ‘अहिले जोकोही पनि डिजाइन गरिएको पहिरन लगाउन चाहन्छन् । सानोतिनो पार्टीदेखि कार्यालयसम्मै पनि डिजाइन गरिएका पहिरनमा जाने हरेक व्यक्तिले चाहना गर्न थालेका छन् । बजार पनि बढिरहेको छ ।’

सन् २००० दशकमा नेपालमा बुटिक सुरु भएको थियो, जहाँ डिजाइनरहरूले पहिरन तयार गर्छन् । सन् २००१ तिर राजेश धाख्वले चाहट बुटिक सुरु गरे । यो नै नेपालको पहिलो बुटिक हो । केही महिनाभित्रै संगीतले मेहर कलेक्सन र तरुणिका महतोले तरुणिकाज सञ्चालनमा ल्याए । कुपन्डोल, ललितपुरका यिनै तीन बुटिकबाट उपत्यकामा डिजाइनरको युग सुरु भएको मानिन्छ । त्यस बेला धरानमा हेमा राईको स्प्लेन्डर बुटिक र उत्तम बनेपाली बुटिक स्थापित भइसकेका थिए । अहिले कुपन्डोल क्षेत्रमा मात्रै बुटिकको संख्या करिब एक सय पुगेको छ । कुपन्डोलबाट फेसनको बजार लाजिम्पाटमा पनि तानिएको छ । राजधानीबाहिर धरानपछि पोखरा, बुटवल र चितवनमा पनि बुटिकको संख्या बाक्लिएको छ ।

केही वर्षअघिसम्म भ्यालेन्टाइन्स डे, दसैं र तिहारताका तथा नयाँ वर्षका बेला हरेक साताजस्तै फेसन शो हुने गथ्र्यो । यस्ता फेसन शो पातलिएको छ । फेसन बजार भने बढिरहेको छ । डिजाइनर्स शो, आईईसी फेसन विक नेपाली डिजाइनरहरूका लागि सबभन्दा राम्रो प्लेटफर्म हो । दशकअघि सुरु भएका यी शोहरूमा उनीहरूमा सिर्जनालाई नजिकबाट निकाल्न सकिन्छ । तिनै डिजाइनरहरूका कलाको बजारले छलाङ मारिरहेको छ । त्यसैले त विवाहको सिजनमा एक–दुई सातामा ड्रेस तयार पार्न पनि गाह्रो हुन्छ ।

१२—१३ वर्षअघि नमुना कलेज अफ फेसन टेक्नोलोजी र इन्डियन एजुकेसन सेन्टर (आईईसी) ले फेसन/ड्रेस डिजाइनको कोर्स सुरु गरेपछि डिजाइनरको संख्या ह्वात्तै बढ्न थाल्यो । अहिले पनि यी दुईबाट बर्सेनि सयभन्दा बढी डिजाइनर निस्कन्छन् । ती सबै विद्यार्थी फेसन बजारमा छैनन् । नेपालमा डिजाइनर उत्पादनको श्रेय भने यिनै दुई संस्थालाई जान्छ ।

खुश्बु डंगोल, मनीष राई दुलहीको ड्रेस डिजाइनका लागि खुबै चर्चित छन् । विजय गौतम साडीका लागि । केही डिजाइनर नेपाल चिनाउने पहिरन ‘मेड इन नेपाल’ मा फोकस छन् । फिनल्यान्ड र भारतमा डिजाइनमै स्नातकोत्तर गरेपछि कुपन्डोलमै कासा बुटिक थालेकी रमिला नेमकुलसँगै युवी थापा, बिना घले, तेन्जिङ छेतेन भुटिया चल्तीका डिजाइनर हुन् ।

दशकअघिसम्म कलाकारको लोकप्रियताका आधारमा हिन्दी सिरियलका प्रेरणा, कोमलिका, कसौटी, कुमकुम स्टाइलका साडी, कुर्ता, ब्लाउज, लेहेँगा खोज्थे । अहिले ट्रेन्ड फेरिएको छ । इन्स्टाग्राम, फेसबुक हेरेर र आफैँ गुगलमा सर्च गरेर त्यहीअनुसारका ड्रेस तयार पार्न फेसन पारखीहरू बुटिक पुग्छन् । एउटा कुनै पार्टीमा सहभागी भएपछि त्यसको फोटो फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा अपलोड गर्छन् । र, त्यसमा लगाएको पहिरन अर्को पार्टीमा दोहोर्‍याएर लगाउन चाहँदैनन् । किनभने त्यही पहिरन लगाएर अर्को पार्टीमा गएको फोटो सोसल मिडियामा दोहोर्‍याउन चाहँदैनन् । यस्ता व्यवहार विशेषत: महिलामा बढी रहेको र त्यसले फेसनको बजारलाई बृद्धि गरिरहेको बताउँछन् डिजाइनरहरू ।

महिलाहरू विशेषत: पार्टीका लागि हयान्डवर्क गरिएका पहिरन बढी रुचाउँछन् । हयान्डवर्क र त्यसमा प्रयोग गरिने कच्चा पदार्थका आधारमा डिजाइनरले पहिरनको मूल्य तोक्ने गर्छन् । कच्चा पदार्थ भारतबाटै आयात गरिन्छ । त्यसलाई यहाँ कुनै रूप दिएर डिजाइनले आफ्नो ढाँचामा ढाल्ने गर्छन् । सेलिब्रेटीको पहिलो रोजाइ नयाँ डिजाइनका पहिरन भइहाल्छ नै । सर्वसाधारण मानिस केही वर्षअघिसम्म पनि बिहेलगायत पार्टीहरूका लागि मात्र डिजाइन गरिएका पहिरन लगाउँथे । अहिले भने स्मार्ट देखिन कार्यालय जाँदासमेत डिजाइन गरिएका पहिरन लगाउन चाहन्छन् ।

पश्चिमी शैलीका फेसन त्यसमा पनि फर्मल वेयरमा केन्द्रित रहेकी डिजाइनर रमिला भन्छिन्, ‘नेपाली फेसनको बजार अलि बढी वेस्टर्नतिरै ढल्किएको छ । बढी कन्फिडेन्ट देखिन अफिसियलहरू फर्मल वेयर चाहन्छन् । यस्तो ट्रेन्ड पछ्याउनेमा ३५ देखि ५० वर्षसम्मका कार्यरत महिला छन् । उनीहरूमा खर्च गर्न सक्ने क्षमता पनि हुन्छ ।’ फर्मल वेयर चाहनेहरू भलादमी देखिने रङका पहिरन चाहन्छन् भने टिन एजर्सको रोजाइ उज्यालो रङतिर हुन्छ, जसको कारण अरूलाई आफूतिर आकर्षित गर्न सकियोस् ।

नेपाली फेसनको बजार लगभग महिलाकै बजार भने पनि हुन्छ । पुरुषका लागि कुनै त्यस्तो विशेष बुटिक नेपालमा खुलेको छैन । भएका सयौं बुटिकमा पुरुषका ड्रेस विरलै बनाइन्छ । पुरुषलाई मुख्य ध्यान दिएर खोलिएका बुटिक छैनन् । पुरुषहरू बजारमा जे उपलब्ध छन्, त्यही पहिरन लगाउन बाध्य पनि छन् । विदेशको फेसन बजारमा भने महिलाजस्तै पुरुषका लागि पनि डिजाइनका विकल्प र रोजाइ प्रशस्तै हुने गर्छन् । नेपालमा पुरुषहरू स्मार्ट देखिन फिटिङ पहिरन लगाउने गर्छन् । यसका लागि पनि बुटिकभन्दा बढी टेलरिङ सेन्टर धाउनुपर्ने बाध्यता छ पुरुषलाई । महिलालाई भने बुटिकमै एकदमै धेरै रोजाइका ड्रेस बनाइन्छ ।

पार्टीका लागि पुरुषहरूको पहिलो रोजाइ सुट हुन्छ । महिलाका लागि साडी र लेहेँगा बढी । अनि गाउन, वान पिस । फ्युजन गरिएका कुर्ता नियमित ड्रेसजस्तै भइसकेको छ । सामान्य बजारको तुलनामा डिजाइन गरिएको ड्र अलि महँगै पर्न जान्छ । पार्टी वेयर साडी लेहेँगाको मूल्य ४० हजार रुपैयाँदेखि सुरु हुन्छ । महिला औसतमा ८०—९ हजार पर्ने पहिरन रोज्छन् । महँगो ड्रेसको मूल्य कति पर्छ त ? त्यसमा सीमितता नहुने डिजाइनरहरू दाबी गर्छन् । अरूभन्दा पृथक् देखिने प्रयासमा पनि फरक डिजाइनका ड्रेसको माग उच्च हुन्छ । अमेरिका, अस्ट्रेलिया, बेलायत, हङकङ, सिंगापुरमा पनि नेपाली समुदाय बढ्दो छ । त्यहाँ हुने भेटघाट र चाडपर्वमा पनि पहिरन नेपालबाटै झिकाइन्छ । यसले पनि नेपाली फेसनको बजार बढिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार