• होमपेज
  • समाचार
  • संसद विघटनबारे संविधानसभामा भएको सहमतिको अभिलेख झिकाउन माग

संसद विघटनबारे संविधानसभामा भएको सहमतिको अभिलेख झिकाउन माग

  • आइतवार, माघ ४, २०७७
संसद विघटनबारे संविधानसभामा भएको सहमतिको अभिलेख झिकाउन माग

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका निवेदकहरूले संसद विघटन सम्बन्धी संविधानसभामा भएको सहमतिको रेकर्ड झिकाउन माग गरेका छन् ।

रिट निवेदक मध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार संवैधानिक इजलासमा यस्तो माग राखेका हुन् । २०४७ सालको संविधानको धारा ५३ को (४) मा स्पष्ट रुपमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार दिइएको थियो ।

त्यो अधिकारको पटक–पटक दुरुपयोग भएपछि २०७२ मा संविधान जारी गर्दा संविधानले प्रधानमन्त्रीको त्यो विशेषाधिकार हटाउने निर्णय गर्‍यो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिने कुरा संविधानसभामा बकाइदा सहमति भएको छ, त्यो अभिलेख झिकाइयोस् ।’

संविधानसभाका समितिहरूले त्यतिबेलाको छलफलको अभिलेखीकरण समेत गरेको त्रिपाठीको भनाइ छ । त्यो रेकर्ड झिकाउँदा विधायिकी मनसाय बुझ्न सजिलो हुने उनको बुझाइ छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आवश्यकता अनुसार संविधानसभामा भएको अभिलेख झिकाउने बताए । संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू विश्वेम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपनाप्रधान मल्ल र तेजबहादुरी केसी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै सर्वोच्चमा दायर भएका रिटमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली लगायतले १३ रिट दर्ता गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार