• होमपेज
  • देश/प्रदेश
  • बस दुर्घटना अपडेट यि हुन घाइते (नाम सहित)

बस दुर्घटना अपडेट यि हुन घाइते (नाम सहित)

  • आइतवार, असार ७, २०८३
सेयर गर्नुहोस् :
बस दुर्घटना अपडेट यि हुन घाइते (नाम सहित)

बाजुरा— बाजुराको बुढीगंगा नगरपालिका–१० मा आज बिहान पवनदूत यातायातको बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटना  साँफेबगर–मार्तडी सडकखण्डअन्तर्गत बुढीगंगा नगरपालिका–१० फुलौट क्षेत्रमा भएको हो। बस खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढाले चलाएका थिए। दुर्घटनाबारे बिहान ७ः३५ बजे जिल्ला प्रहरी कार्यालयमा खबर प्राप्त हुनासाथ उद्धार तथा राहतका लागि विभिन्न प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

अस्थायी प्रहरी पोस्ट रिठाबजारबाट प्रहरी सहायक निरीक्षक धनबहादुर देउवाको कमाण्डमा ७ जना, प्रहरी चौकी बार्जुगाडबाट प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको कमाण्डमा ७ जना तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको कमाण्डमा १२ जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ। घाइतेको उद्धारका लागि बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको एम्बुलेन्ससमेत परिचालन गरिएको थियो।

प्रहरीका अनुसार बसमा चालकसहित ३४ जना सवार थिए। तीमध्ये २२ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि बयालपाटा अस्पताल, अछाम रेफर गरिएको छ। सामान्य चोट लागेका केही यात्रु भने प्राथमिक उपचारपछि घर फर्किसकेका छन्। दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस घटनास्थलमै रहे पनि सडक अवरुद्ध नभएको र बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला अस्पताल बाजुरामा उपचाररत घाइतेमध्ये बुढीगंगा–२ मुस्तोला बस्ने ४२ वर्षीय देवेन्द्र रावतको दाहिने हातमा चोट लागेको छ। स्वामिकार्तिक खापर–१ साप्पाटा बस्ने ३२ वर्षीय प्रेम बिकको कम्मरमा चोट लागेको छ भने मुगुको सोरु गाउँपालिका–११ धैन बस्ने ५३ वर्षीय नन्दबहादुर शाहीको निधार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै स्वामिकार्तिक खापर–१ खोलीकोट बस्ने ३७ वर्षीय मने नेपालीको हात र खुट्टामा चोट लागेको छ।

मुगुको खत्याड गाउँपालिका–९ बस्ने ३२ वर्षीया बसा सार्कीको दाहिने हातमा चोट लागेको छ भने सोही स्थानकी ४४ वर्षीया नन्दा सार्कीको टाउकोमा चोट लागेको छ। खप्तड छेडेदह–५ बस्ने ४५ वर्षीया धना सुनारको दाहिने हातमा चोट लागेको छ भने मुगु खत्याड–६ बस्ने १८ वर्षीया सक बिकको टाउको र दाहिने घुँडामा चोट लागेको छ। सक बिकसँगै यात्रा गरिरहेका उनका २ वर्षीय छोरा अरुण बिक पनि घाइते भएका छन्।

यस्तै मुगु खत्याड–९ बस्ने ४० वर्षीय गोकुल सार्कीको छातीमा चोट लागेको छ भने २१ वर्षीया एलिना सार्कीको कम्मरमा चोट लागेको छ। स्वामिकार्तिक खापर–१ खोलीकोट बस्ने २५ वर्षीय बिनोद बिन्दास बिकको दाहिने हातमा चोट लागेको छ। बुढीनन्दा नगरपालिका–८ लमलवाडा बस्ने ४८ वर्षीय गोरे कठायतको घाँटीमा चोट लागेको छ।

घाइतेमध्ये बुढीनन्दा–२ बस्ने ८९ वर्षीय लालबिरे रावत र उनकी ७८ वर्षीया श्रीमती बिस्ना रावत दुवैको कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ। हिमाली गाउँपालिका–५ बस्ने ३५ वर्षीय डबले सार्कीको दाहिने हातमा चोट लागेको छ भने मुगु खत्याड–९ बस्ने ५० वर्षीय नन्दलाल सार्कीको दाहिने हात भाँचिएको छ। मुगु खत्याड–६ बस्ने २१ वर्षीय निकेश बिकको बाँया घुँडामा चोट लागेको छ।

त्यसैगरी बडिमालिका नगरपालिका–६ कोर्ध बस्ने ५९ वर्षीय लालसिंह साउदको कम्मर, छाती र दाहिने हातमा चोट लागेको छ। बुढीनन्दा–१० पाण्डुसैन बस्ने १९ वर्षीय आदित्य सिंहको दाहिने हातको औँलामा चोट लागेको छ भने हुम्ला सर्केघाट गाउँपालिका–४ बस्ने २२ वर्षीय हस्त धामीको कम्मर र छातीमा चोट लागेको छ। खप्तड छेडेदह–५ दोगडी बस्ने २३ वर्षीय सोबेन्द्र सुनारको कम्मरमा चोट लागेको छ।

दुर्घटनामा घाइते भएका हिमाली गाउँपालिका–४ बस्ने २७ वर्षीय नकेन्द्र मल्ललाई भने थप उपचारका लागि बयालपाटा अस्पताल अछाम पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ। बस ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक जानकारी आए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार