केही मानिसहरुका लागि म्यारी बोनापार्ट महिला कामुकताबारे अध्ययन गर्ने एक अग्रणी अनुहार थिइन् जबकि केही मानिसहरुका लागि उनी एक धनी महिला थिइन् जसको त्यतिबेलाका राजघराना र धनाढ्यहरुसँग सम्पर्क थियो ।
तर वास्तवमा फ्रान्सका पूर्व सम्राट नेपोलियन प्रथमकी भतिजी र ड्युक अफ एडिनबरा प्रिन्स फिलिपकी काकी म्यारी बोनापार्ट (सन् १८८२–१९६२) माथि धेरैजसो इतिहासकारको नजर परेको छैन ।
आफैं राजकुमारी रहेकी म्यारी बोनापार्टको रुची सेक्सको क्रममा महिलाको चरमसुख र उनीहरुको मानसिक स्थितीको विश्लेषण गर्नमा थियो । तसर्थ उनी एक विद्यार्थी बनिन् र समय आउँदा उनले सिग्मन्ड फ्रायडलाई पनि बचाइन् । तर यति हुँदाहुँदै उनी एक ‘स्वतन्त्र विचारधारा’ की महिला थिइन् ।
उनको जीवनी लेख्नेहरुका अनुसार उनी एक रोचक व्यक्तित्वकी महिला थिइन् जो वैज्ञानिकसँग पनि त्यति नै सहजताका साथ उभिन सक्थिन् जति राजघरानाका सदस्यसँग । उनले सधैं सेक्समा महिलाको सुखसँग सम्बन्धि प्रश्नको जवाफ खोजिरहिन् ।
Photo: Getty Image
राजकुमारी म्यारी बोनापार्टः
म्यारी बोनापार्टको जन्म पेरिसको एक चर्चित र धनी परिवारमा भएको थियो । उनी म्यारी फेलिक्स र फ्रान्सका राजकुमार रोल्याण्ड नेपोलियन बोनापार्टकी छोरी थिइन् ।
उनका हजुरबुवा फ्रान्स्वा ब्लांक एक चर्चित व्यवसायी थिए र क्यासिनो मोन्टे कार्लोका संस्थापक थिए ।
तर म्यारीको जीवन वाल्यकालदेखि नै त्रासदीयुक्त रह्यो । उनी जन्मेको बेलामा उनको स्थिती निकै नाजुक थियो । उनी निकौ गाह्रो गरी बाँच्न सफल भइन् । उनको जन्म भएको एक महिनापछि नै उनकी आमाको निधन भयो ।
उनको आफ्नो वाल्यकाल समस्या र एक्लोपनसँग जुध्दै बिताइन् ।
उनका न त कोही साथी थिए न कोही भाइ बहिनी । यस्तोमा उनी आफ्ना पितासँग धेरै समय बिताउँथिन् । उनका बुवा मानवविज्ञानी र भूगोलका ज्ञाता थिए । उनी आफ्नी हजुरआमासँग निकै डराउँथिन् ।
सानो उमेरमा नै विज्ञान, साहित्य, लेखनका साथै आफ्नो शरीरसँग जोडिएका थुप्रै प्रश्न सोधिरहन्थिन् ।
एक दिन म्यारीको हेरविचार गर्नेमध्ये एक महिला ‘मिमउ’ ले उनलाई हस्तमैथुन गरिरहेको अवस्थामा भेटिन् ।
सन् १९५२ मा मेरीले आफ्नो डायरीमा त्यतिबेला मिमउले उनलाई भनेका वाक्य लेखेकी छिन्, ‘यो पाप हो, यो स्विकार्य छैन । तिमीले यस्तो गर्यौं भने तिमी मर्नेछौ ।’
आफ्नो लेख ‘द थ्योरी अफ फिमेल सेक्युआलिटी अफ म्यारी बोनापार्टः फ्यान्टसी एण्ड बायोलोजी’ मा नेली थोम्पसन लेख्छिन्, ‘आफ्नो डायरीमा बोनापार्टले दाबी गरेकी छिन् कि उनले आठ वा ९ वर्षको उमेरमा हस्तमैथुन गर्न छोडेकी थिइन् किनभने उनलाई मिमउको चेतावनीपछि कामुकतामा आनन्द खोज्दा उनको मृत्यु हुने हो कि भन्ने डर थियो ।’
Photo: Getty Image
कम उमेरदेखि नै विद्रोही स्वभावकी उनी महिलाले कसैको अधीनता स्विकार गर्नुपर्छ भन्ने कुरा मान्न तयार नै थिइनन् ।
किशोरावस्थामा उनले अंग्रेजी र जर्मन भाषाको पढाई सुरु गरिन् तर उनकी हजुरआमा र उनका पिताले अचानक उनलाई परीक्षा दिन रोके ।
थम्पसनका अनुसार त्यसपछि म्यारीले यसका लागि आफैंलाई दोष देखाउँदै लेखिन्, ‘मेरो नाम, मेरो पद, मेरो भाग्य ! विशेषगरी मेरो सेक्समाथि धिक्कार छ ! किनभने यदि म पुरुष भएको भए उनीहरुले मलाई कोसिस गर्न रोक्ने थिएनन् !!’
त्यतिबेला महिला र पुरुषलाई यौनिकताको आधारमा नभई यौनको आधारमा हेरिन्थ्यो ।
आफ्नो जीवनको २० औं वसन्तमा प्रवेश गरेपछि म्यारीमा सेक्सको विषयमा एक भिन्न विचार थियो, त्यतिबेला उनको अफेयर आफ्ना पिताका एक सहायकसँग थियो जो विवाहित थिए । उनका लागि यो अफेयर एक किसिमको स्क्यान्डल बन्यो जुन ब्ल्याकमेलिङ र अपमानसहित समाप्त भयो ।
Photo: Getty Image
म्यारीका पिताले सोचेका थिए कि उनले आफ्नी छोरीलाई ग्रीस र डेनमार्कका राजकुमार प्रिन्स जोर्ज (सन् १८६९–१९५७) सँग गराउनेछन् । म्यारीका पिता प्रिन्स जोर्जलाई आफ्ना ज्वाईं बनाउन चाहन्थे । प्रिन्स जर्ज म्यारीभन्दा १३ वर्ष जेठो थिए ।
म्यारी उनीसँग विवाह गर्न तयार भइन् । सन् १९०७ डिसेम्बर १२ मा यी दुईको एथेन्समा विवाह भयो ।
यी दुईका दुई छोरा भए – प्रिन्स युजिन र प्रिन्स पिटर तर दुबैको विवाहमा सबैकुरा राम्रो थिएन ।
बाहिरबाट हेर्ने हो भने उनीहरुको विवाह ५० वर्ष टिक्यो तर म्यारीले छिट्टै थाहा पाइन् कि भावनात्मक रुपमा उनका श्रीमान् उनीसँग नभई आफ्ना काका डेनमार्कका राजकुमार प्रिन्स भ्लादिमीरसँग जोडिएका छन् ।
म्यारीले त्यतिबेलासम्म आफ्नो प्रेमलाई आफैंले खोज्ने निर्णय गरिसकेकी थिइन् । उनलाई आफ्नो जीवन उदासीन हुने हो कि भन्ने चिन्ता थियो । यस्तोमा आफ्नो जीवनको समस्या हल गर्ने उपायको रुपमा उनले पढ्न सुरु गरिन् ।
Photo: Getty Image
महिला कामुकताबारे अध्ययनः
ज्ञान पाउने म्यारी बोनापार्टको भोक र महिलाको कामुकता र सुखलाई सम्झने उनको इच्छाले उनको अध्ययन अघि बढ्यो ।
सन् १९२४ मा उनले एई नरजानी छद्मनामबाट एक लेख लेखिन् जसको शीर्ष थियो ‘नट्स अन द एनाटोमिकल कजेज अफ फ्रिजिडिटी इन विमेन’ अर्थात् महिलामा उदासीनताका शारीरिक कारण ।
अमेरिकाको जर्जियामा रहेको इमोरी युनिभर्सिटीमा बिहेवोरियल न्यूरोएन्डोक्राइनोलोजीका प्राध्यापक किम वालेन भन्छन्, ‘उनी यौनसम्बन्ध राख्दा कसैबाट पनि चरमसुख पाउन नसकेकोमा चिन्तित थिइन् । महिलाले हस्तमैथुनबाट मात्रै चरमसुख पाउँछन् भन्ने कुरालाई मान्न उनी तयार नै थिइनन् ।’
म्यारी बोनापार्टको मान्यता थियो कि यौनसम्बन्ध राख्दा कसैबाट पनि चरमसुख नपाउनु एक शारीरिक समस्या हुनसक्छ । उनले यो बुझ्नका लागि एक थ्योरी बनाइन् – महिलाको भजाइना र क्लिटोरिसबीच दुरी जति कम हुन्छ सेक्सको क्रममा चरमसुख पाउने सम्भावना त्यति नै धेरै हुनेछ ।
आफ्नो यो थेसिसमाथि काम गर्नका लागि उनले सन् १९२० मा पेरिसमा २४० महिलाको भजाइना र क्लिटोरिसबीचको दुरी मापन गरिन् ।
प्राध्यापक वालेनले डाक्टर एलिजाबेथ लायडसँग मिलेर म्यारी बोनापार्टको शोधको अध्ययन गरेका छन् । उनी भन्छन्, ‘उनीद्वारा प्रकाशित गरिएको शोधका अनुसार यो डाटा व्यवस्थित तरिकाले एकत्रित गरिएको नभई वास्तवमा त्यतिबेला जम्मा गरिएको थियो जब महिला आफ्नो डाक्टरलाई भेट्न गएका थिए ।’
दुबै जानकारका अनुसार भजाइनाको ओपनिङदेखि क्लिटोरिसको दुरीको आधारमा म्यारीले स्याम्पललाई तीन हिस्सामा बाँडिन् । यद्यपि, उनले यो आधारसम्म उनी कसरी पुगिन् भनेर जानकारी दिएकी छैनन् ।
इन्डियाना युनिभर्सिटीका हिस्ट्रि एण्ड फिलोसोफी अफ साइन्स विभागकी प्राध्यापक डाक्टर लोयर भन्छिन्, ‘म्यारी बोनापार्टको हाइपोथेसिस पनि रोचक थियो । उनले महिलाको शरीरको रचना भिन्न तरिकाले भएका कारण सेक्सका बेला भिन्न भिन्न प्रतिक्रियाको अनुभव गर्छन् भन्ने सिद्धान्तलाई अघि सारिन् ।’
यद्यपि, उनका अनुसार म्यारीले आफ्नो थ्योरीमा धेरैजसो महिलाको शारीरिक बनावटमा जोड दिएकी छिन् । उनले मानसिक रुपमा महिलाको परिपक्वतालाई नजरअन्दाज गरेकी छिन् ।
महिला मानसिक रुपमा बिरामी हुनु, उदासीन हुनुजस्ता त्यतिबेलाको नकारात्मक शब्दको प्रयोगजस्ता पाटोलाई पनि उनले छोडेकी छिन् ।
आफ्नो हाइपोथेसिसको आधारमा म्यारी यो मान्न थालेकी थिइन् कि यदि महिलाले आफ्नो शल्यक्रिया गरेर भजाइना र क्लिटोरिसको दुरीलाई कम गर्छन् भने उनीहरुले सेक्सको क्रममा चरमसुख पाउन सक्छन् ।
तर यो दुर्भाग्यपूर्ण हो कि यो मामिलामा उनी पूर्ण रुपमा गलत साबित भइन् ।
प्राध्यापक वालेन भन्छन्, ‘महिलाको शल्यक्रिया कुनै आपतभन्दा कम थिएन । केही महिलाले त्यहाँ केही अनुभव नै गर्न छाडे । तर म्यारीलाई आफ्नो थ्योरीमा यति विश्वास थियो कि उनले आफ्नो पनि शल्यक्रिया गराइन् । तर त्यसले उनलाई कुनै लाभ दिलाएन ।’
तर म्यारीले त्यसपछि पनि हार मानिनन्, उनले एक पटक होइन, तीनपटक शल्यक्रिया गराइन् ।
डाक्टर लोयड सम्झाउँछिन्, ‘जब तपाईं क्लिटोरिस वरिपरिको नसा काट्नुहुन्छ, त्यहाँ तपाईंको संवेदनशीलता धेरै हुँदैन । यसले ठिक विपरित काम गर्छ किनभने तपाईंले थुप्रै महत्वपूर्ण नशा काटिदिनुहुन्छ ।’
उनी भन्छिन्, ‘ यौनसम्बन्धका बेला चरमसुख पाउनका लागि शल्यक्रिया मात्रै एउटा विकल्प भएको म्यारीको मान्यता थियो ।’
सिग्मन्ड फ्रायडसँग गहिरो दोस्तीः
यति सब हुँदा पनि म्यारी बोनापार्टले हार मानिनन् । उनले यौनकुण्ठा र सेक्सको समस्यासँग जोडिएको आफ्नो प्रश्नको जवाफ खोज्न जारी राखिन् ।
उनी सन् १९२५ मा एक चर्चित मनोविश्लेषकसँग भेट गर्नका लागि विएना गइन् जसको पेरिसको मेडिकल सर्कलमा निकै चर्चा थियो । उनी थिए सिग्मन्ड फ्रायड ।
थोम्पनस आफ्नो लेखमा भन्छिन्, ‘फ्रायडमा उनले त्यो भेटिन् जुन उनी वर्षौंदेखि खोजिरहेकी थिइन् । उनले एक नयाँ व्यक्ति भेटिन् जसलाई उनी प्रेम गर्न सक्थिन् र जोसँग उनी काम गर्न सक्थिन् ।’
म्यारी बोनापार्ट सुरुमा उनकी बिरामी बनिन् तर चाँडै नै मनोविश्लेषणमा म्यारीको रुची बढ्दै गयो र दुबै निकै राम्रा साथी बने । पछि म्यारी उनकी विद्यार्थी बनिन् ।
स्विटजरल्याण्डको युनिभर्सिटी अफ लुजेनमा मनोविज्ञानका प्राध्यापक रेमी अमोरेक्स भन्छन्, ‘उनी फ्रान्सकी महिला थिइन् जसले मनोविश्लेषणको अध्ययन गरिन्, त्यो पनि फ्रायडसँग ।’
उनी भन्छन्, ‘फ्रायडलाई पनि उनीसँग समय बिताउन मज्जा लाग्थ्यो किनभने उनी न त ‘खतरनाक महिला’ थिइन् न नै कुनै प्राज्ञिक । यी दुईको भेट हुँदा फ्रायड सत्तरी वर्षका थिए र म्यरी एक रोचक, बुद्धिमान र धनी घरकी महिला थिइन् वने उनीसँग बहस गर्न सक्थिन् ।’
मनोविश्लेषणको क्षेत्रमा पेरिसमा म्यारी बोनापार्ट एक चर्चित नाम बनेकी थिइन् । यहाँसम्म कि राजकुमारीको रुपमा उनी आफ्नो धिकारिक डायरीमा आफ्नो बिरामीबारे पनि लेख्न सफल रहेकी थिइन् । जब अस्ट्रियामा जर्मन नाजीले हमला गरे तब उनले फ्रायडको जीवन बचाइन् ।
आफ्नो पैसा र प्रभावको प्रयोग गर्दै म्यारीले फ्रायड र उनको परिवारलाई विएनाबाट निकालेर लण्डन पुर्याइन् जहाँ उनले आफ्नो जीवनको अन्तिम वर्ष बिताए ।
सन् १९३८ मा बीबीसीलाई दिएको अन्तरवार्तामा सिग्मन्ड फ्रायडले बीबीसीलाई भनेका थिए, ‘जब म ८२ वर्षको थिएँ तब मैले विएनामा भएको आफ्नो घर छोडिदिएँ । त्यतिबेला जर्मनीले हमला गरेको थियो । त्यहाँबाट बेलायत आएँ, आशा गर्छु यहाँको स्वतन्त्र हावामा आफ्नो अन्तिम सास फेर्नेछु ।’
Photo: Getty Image
एक स्वतन्त्र सोच भएकी महिलाः
व्यावसायिक परिपक्वताले अन्ततः म्यारी बोनापार्टलाई महिला कामुकतामा आफ्नै सिद्धान्तको विरोध गर्नका लागि प्रेरित गर्यो ।
प्राध्यापक वालेन भन्छन्, ‘म्यारीले आफ्नो सिद्धान्तलाई पूर्ण रुपमा खारेज गरिन् ।’
उनी भन्छन्, ‘सन् १९५० मा उनको एक किताब प्रकाशित भयो जसको नाम थियो ‘फिमेल सेक्सुआलिटी’ । यसमा उनले पहिले गरेको आफ्नो अध्ययनको सिद्धान्तलाई पूर्ण रुपमा खारेज गरिन् ।’
उनी भन्छन्, ‘यसमा उनले सेक्समा महिलाको चरमसुख पाउन उनको शरीरको संरचनासँग नभई यसको नाता पूर्ण रुपमा मनोवैज्ञानिक हुने बताएकी थिइन् । त्यतिबेला उनले मनोविश्लेषणमा काम गरेको २५ वर्ष पुगिसकेको थियो ।’
प्राध्यापक वालेनले म्यारी बोनापार्ट एक क्रान्तिकारी महिला भएको मान्यता राख्छन् । उनी भन्छन्, ‘पछि उनले आफ्नो मन परिवर्तन गरेपनि म मान्छु कि उनको वास्तविक शोध आफैंमा उल्लेखनीय थियो ।’
प्राध्यापक डाक्टर लोयड भन्छिन्, ‘म्यारी बोनापार्ट आकर्षक व्यक्तित्वकी महिला थिइन् । उनको जीवन दुःखले भरिए तर उनी मेरो लागि एक हिरोइनजस्ती थिइन् ।’
उनी भन्छिन्, ‘उनी आफ्नो शरीरसँग खुसी थिइनन् र महिला यौनिकताको विषयमा उनी आफ्नो समयभन्दा निकै अघि थिइन् ।’
प्राध्यापक रेमी अमोर्याक्ले थुप्रै वर्षसम्म पेरिसमा म्यारी बोनापार्टको कामको अध्ययन गरेका छन् । उनले भने, ‘उनी एक अद्भूत महिला थिइन् । उनलाई साहित्यबारे ज्ञान थियो र राजनीतिबारे पनि । उनको शाही व्यक्तित्वसँग पनि निकै राम्रो सम्पर्क थियो । २० औं शताब्दिको सुरुवातका चर्चित व्यक्तित्वलाई चिन्दथिन् ।’
उनी भन्छन्, ‘उनी महिलावादी अभियानकी पनि एक चर्चित अनुहार थिइन् ।’
अमोर्याक्स भन्छन्, ‘म्यारी बोनापार्ट अन्त्यमा यो नतिजामा पुगिन् कि ‘महिलामा कामुकतालाई हेर्नका लागि उनको तरिका पितृसत्तात्मक थियो किनभने चरमसुख पाउने एउटा मात्रै तरिका छ भन्ने कुरालाई उनले मानेकी थिइन्’।’
यद्यपि, उनी यो पनि भन्छन्, ‘उनी आफ्नो सोचको स्तरमा स्वतन्त्र पनि थिइन् र जटिल पनि । हामी उनलाई एउटा यस्तो महिलाको रुपमा याद गर्न सक्छौं जसले सिग्मन्ड फ्रायडलाई चुनौती दिइन् ।’
स्रोतः बीबीसी