बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • समाज
  • साहित्यको नयाँ विधा साइनो के र किन ?

साहित्यको नयाँ विधा साइनो के र किन ?

  • सोमवार, चैत्र ३, २०७६
साहित्यको नयाँ विधा साइनो के र किन ?
बिष्णु पादुका
कोहोलपुर,बाँके
नेपाली समाजमा साइनो शब्द अपरिचित होइन । कुनै पनि ब्यक्तिलाई पहिचान सहित सम्बन्ध जनाउने अर्थमा बुझिन्छ ।तर साहित्यमा साइनो नामाकरण र यसको प्रयोग नौलो हो । साइनोलाई परिभाषित गर्ने बिभिन्न मत हुन्छन् नै । अझ ब्यापकताका लागी केही लेख्न मन लाग्यो ।
उसो त नेपाली साहित्य साँघुरो छैन । पढ्ने लेख्ने बिधा र पुस्तकको अभाव पनि छैन । छ त केवल इच्छाशक्तिको अभाव । जीविकोपार्जनकै लागि भए पनि प्रतिस्पर्धाको भेलमा हेलिनुपर्ने आजको युग अस्तित्व बोधको खोजी गर्न भुलिएको भान हुन्छ । बिकासको नाममा भएका निर्माणको उपयोगिता र आयुका बारेमा कसैलाई सोच्न सम्म फुर्सद छैन । प्रकृतिका बिरुद्द गएको विश्व मानव समुदाय दिनानुदिन आर्थिक बृद्दिको लागि लालायित छ । यसै ब्यस्तता माझ छोटो समयमा पढ्न लेख्न सकिने कविताको नयाँ बिधा जन्म्यो साइनो । प्राध्यापक छायादत्त न्यौपानेको मानसिकतामा ७-८-९ को तीन पदिय कविता फुरेर नयाँ नाम साइनो जुर्‍यो । फेसबुकमा आयो । सबैलाई  नौलो लाग्यो । केशव ज्ञवाली, खेमलाल पोखरेल, बाल कुमार क्षेत्री , मिना डाँगी संगै धेरै साथिहरुमाझ यो लेखनमा रुचि बढ्दै गयो । छलफल र चर्चा हुँदै गयो । भाव व्यङ्ग्य बिम्ब अलंकार साहित्यका प्रमुख पक्ष हुन् । यीकुरालाई नछोडिकन एउटा नया नौलो र मौलिक बिधा स्थापित हुन पुग्यो । यो आलेख लेखिदा सम्म साइनो सम्बन्धि धेरै कुरा आए । बिभिन्न अन्तरक्रिया छलफल लेख निबन्ध कविता मुक्तक साइनोकै श्रीवृद्धिको लागि लेखेको पनि भेटियो ।
साइनो के हो ?
  साइनो एउटा सम्बन्ध हो । सेतु हो ।पुल हो । देखिने ठोस बस्तु र नदेखिने भावना जोड्ने सरल सेतु । जन्म जीवन ,मृत्यु र मरण ,ताप र प्रकाश ,रङ्ग र सुन्दरता, भोजन र स्वाद , जस्ता अनगिन्ती बिषयहरुको सेरोफेरोमा साइनो लेखिदै गयो ।
 यस भित्र लेखिने ७-८-९ को संरचना र तीन पद ” गुच्छा ” को आफ्नै महत्व छ । सात आठ नौँ सम्पूर्ण अंकगणितका उच्चतम अंक हुन् । सात शुरु आठ मध्य र नौ अन्तिम । नौ देखि माथी आउने अन्य सबै अंक पुनराबृती मात्रै हुन । साइनोको संरचना हेर्दा त्यस भित्र  सात देखि नौं शब्दमा पूरा भएको साइनो उत्कृष्ट देखिएको छ । निपात र संयोजक प्रयोग भएको साइनो भन्दा अन्य चोटिलो र स्वादिलो देखियो । हलन्त र आधा अक्षरको गणना नभए पनि अत्यधिक आधा अक्षर र हलन्त प्रयोग हुने शब्दको संयोजनमा सकभर कमि भएको साइनोमा धेरै भाव लुकेको देखियो ।
आजको युगका कविता बिम्बमा बोल्ने हो । अर्थ्याउनु पर्ने अवस्था रहनु हुँदैन । यसो भन्दैमा पुरै क्लिस्टताको प्रयोग पनि अरूचिकर हुन्छ । भाव र व्यंग्य सिधा शब्दमा दिनु चटक देखाउनु मात्रै हो । कुनैपनी एउटा साइनो कम्तिमा तिनोटा अर्थ बोध दिने भयो भने त्यो उत्कृष्ट देखिन्छ । उत्कृष्टताको मापन के ? प्रश्न उठ्न सक्छ । साइनो लेखन प्रतिस्पर्धा हो ? यी दुबै प्रश्नको एउटा मात्रै जवाफ छ । पाठकको रुचि । कविता श्रुति बिधा पनि हो । यसको बाचन शैली पनि अझै स्थापित भएको छैन । लगातार दोहोर्‍याए पढिनु या उल्टो (७-८-९अनि ९-८-७) दोहोर्‍याएको पनि पाइएको छ । विभिन्न स्थानमा वाचन गर्दा भिन्न भिन्न स्वाद र तर्क सुन्न पाइयो ।
साइनोलाई अझै पनि हाइकुसँंग तुलना गरिएको देखिन्छ तर साइनो र हाइकुमा संरचनागत र भावगत भिन्नता स्पष्ट छ  । हाइकु लेख्ने हाइजीनहरुबिचनै साइनो मौलाएको देखिन्छ । त्यसैले पनि नयाँ पाठक तथा सर्जकहरु विच साइनो र हाइकु विच समानता देखिएको भान हुन्छ । कुनै पक्षबाट पनि साइनोलाई हाइकुसँग नजोडौं ।  साइनोको आफ्नै भावभूमी र संरचना छ । अर्थ छ । तिनोटा गुच्छा को भिन्न साधारण अर्थ लाग्छ भने समुच्चयमा तिनोटै पदले मुल एउटा साइनोको परिभाषालाई पुष्टि गर्दछन् । हजारौं साइनो प्रकाशमय भै सकेको बर्तमान अवस्थामा साइनोको प्रचार र यसलाई स्थापित गर्नु सम्पूर्ण साइनोकार ,साइनर या सर्जकको प्रमुख भूमिका हो ।
आफुले प्रकाशमा ल्याउने साइनो दशौं पटक पढेर शब्द खेलाएर बाचन गरेर अरुलाई देखाएर सुनाएर मात्रै सार्वजनिक गरिएको साइनो शसक्त हुने अनुभव मैले गरेको छु । उसो त साहित्यका बिज्ञमाझ साइनो अझै हेरौं को स्थितिमा देखेको छु । साइनो संगै साहित्यका सबै बिधा मस्तिष्कमा आउने झंकार हुन् । कुनै तत्क्षणका लागि सान्दर्भिक हुन्छन् ।कुनै कालजयी । यो कुरा लेखकीय क्षमतामा निर्भर हुन्छ । ब्यक्तिगत कुण्ठा मतभेद आक्रोसमा पनि साहित्य प्रयोग हुने गरेको इतिहास नयाँ नौलो होइन । भाव बिम्बमा कटाक्ष हुनु साहित्यको सौन्दर्य हो । बिसंगती बेथिति पछौटेपन सामाजिक संस्कार जस्ता विषय समसामयिक हुन् । यीनकै सेरोफेरोमै हो साहित्य लेखिने । ब्यक्तिगत दुख कष्ट भोगाइहरु पनि यस्तै परिवेशसँग जोडिएर आउँछन् । आफ्नो कुरा अरुको जीवनसँग मेल खान्छ अनि पाठकलाई छुन्छ भने त्यही हो साहित्य । साहित्यको बुझाईको दायरा संकुचित मानिए पनि पाठकको रुचि पहिलो प्राथमिकता हो । सर्जकलाई अब्बल लागेको कुरा पाठकलाई पनि आहा हुनै पर्छ भन्ने बाध्यताको बोझ सर्जकले पाठकलाई बोकाउन मिल्दैन ।
 सर्जक र पाठक विचको साइनो अचम्मको छ । सामान्य रूपमा लेखिएका कति पुस्तक अधिक रुचाइएको देखिन्छ भने मेहनतगरेर लेखिएका ठुला ठुला पुस्तक पनि पाठकको आँखामा नरुचेको पनि देखिएको छ ।
आजको युगमा किताब पढ्ने संस्कृति लोप हुँदै गएकोमा सर्जक र प्रकाशन संस्थाको चिन्ता प्रष्ट देखिएको छ । आधुनिक पुस्ता फेसबुकका लाइक कमेन्ट गन्दै ब्यस्त छ । सर्जकहरु पनि एउटा किताब पढेर दुइटा किताब लेख्ने होडमा लागेको झैँ प्रतीत हुन्छ । आफ्नो किताब स्तरीय अरुको वाइहात भन्ने प्राचीन संस्कृति अझै ब्याप्त छ । यसै मेसोमा हामी माझ आयो नविनतम बिधा साइनो ।
 ” मान्छे छैन इमानी
   न सहरमा छ धन
   न त झोपडिमा पिसानी ।”
         प्रा. छायादत्त न्यौपाने ” बगर”
 यो साइनो सामाजिक सञ्जालमा सार्बजनिक भएपछि उहाँको बृत्तमा जोडिनु भएका केशव ज्ञवाली, खेमलाल पोखरेल, हरि चौंलागाई, उद्दव पोख्रेल, सुरेन्द्र शाही “गुलाब कान्छो”, बालकुमार क्षेत्री, मीना डाँगी, हरि चौलागाईं, सुरेस काफ्ले “बिदारक”, हेमन्त तिवारी, धातानन्द शर्मा, हरिचन्द्र ढकाल, कृष्ण पौडेल, बद्री उप्रेती, कृष्ण बाउसे, हरिभक्त पौडेल, सीता शर्मा, सीता पौडेल, महानन्द ढकाल, विनोद नेपाल, चिरञ्जीवी ढकाल, चन्द्रवती अधिकारी, सन्तोष कार्की, प्रमोद भट्टराई,आरती अकुलिन, शोभाकान्त रिजाल, थोमस थापा, कमला भण्डारी ढकाल, सोमनाथ लुइँटेल “रवि”, शान्ति अधिकारी पोखरेल, संतोष खत्री, मीना कोइराला पोखरेल, सीता सुबेदी पन्थी, तारा काफ्ले, दुर्गा सारु, कविता घर्ती, पार्वती बराल, बाबुराम न्यौपाने “उत्स”,शबिता भट्टराई, केशव पन्त, छविलाल खड्का, निरञ्जना चन्द, खेमलाल पोखरेल, लक्ष्मी नारायण जोशी, कमला गौतम, प्रकाश घायल, गिरिराज डल्लाकोटी, पशुपति राई, अंबिका कार्की ज्युले अनवरत साइनो लेख्दै हुनुहुन्छ । कसैको नाम छुटेको भए र क्रमबद्दता नमिलेको भए म अनभिज्ञ हुन सक्छु । अन्यथा लिनुहुनेछैन ।
छोटो समयमा साइनोले यति धेरै सर्जक जन्माउनु साइनो बिधाको अधिक उपलब्धि हो । साइनो संसार फेसबुक पेज र साइनो चौपारी सञ्चालनमा ल्याउँदै निरन्तर अन्तर्कृया, साइनो प्रेषण र साइनो सम्बन्धि थप आलेखहरु सार्वजनिक गरेर साइनोको इतिहासमा एउटा अद्वितिय भुमिका निभाउनु हुने बालकुमार क्षेत्री, सुरेन्द्र शाही “गुलाब कान्छो” ,सुरेश काफ्ले “बिदारक” र साइनो प्रणेता छायादत्त न्यौपानेलाई इतिहासले कहिल्यै बिर्सने छैन । यसबाहेक साइनो सम्बन्धि लेख रचना प्रकाशन प्रशारण गर्न अहोरात्र खटेर लाग्ने सर्जकहरु हुनुहुन्छ । नियमित रूपमा साइनो पेजमा आएका जानकारीले यसको पुष्टि गर्दछ ।
“उछिन्ने ध्याउन्न त्यो
 एकसरो हिँडिरहेँ
 साथीहरु बिर्सने दाउ !”
-छाया दत्त न्यौपाने “बगर”
( मित्रता माथिको व्यङ्ग्य )
कोस्टक भित्र बिषयबस्तु दिइए पनि प्रस्तुत साइनोलाई अर्को अर्को कोणबाट पनि बुझ्न बुझाउन सकिन्छ । साहित्य लेखन यस्तै हुनुपर्छ भनेर निर्देशन दिनु बौद्धिक मुर्खता हो । एउटा स्वीकृत वृत्तमा रहेर सिर्जना गर्नु कुनै धार्मिक भिड या लर्कन होइन । हरेकले चेतनाको ज्वालाले अन्धकार चिर्ने र नयाँ गोरेटो खोज्ने हो । जीवनका आयाममा कोहि अघि पछि देख्नु जीवनकै लागि घातक हो । ब्रह्माण्डको आयुको तुलनामा हामी एकपलका होइनौं । त्यसैले साहित्य दौड होइन । सरलताको तरलता हो । बुझाइ हरेकको फरकहुनु नै संसारको सौन्दर्य हो । यो कुराबाट साइनो कसरी अलग रहन सक्छ । देश काल परिस्थितिका याचक हामी एउटा भिडमा उभिएका छौँ हाम्रा अघि अरबौ र पछि पनि अरबौं मानिस छन् । एउटा वृत्त भित्रको मर्यादा कायम गर्दै साहित्य सिर्जना गर्नु नै सर्जकको कर्तव्य हो । सरल आँखाले नदेखिने कुरा कविको आँखाले देखेमा मात्रै उ कवि हुन सक्छ । नत्र लेख्ने त लाखौँ हुन्छन् । त्यसैले कविता लेख्दा आफैलाई बिर्सेर लेख्नु जरुरी देख्छु म । मेरो बुझाई गलत पनि हुन सक्छ । कहिलेकाही विचार सम्प्रेषण पनि गलत सावित हुन्छ । तर साहित्यमा त्यो नै अन्तिम अपराध मानिदैन । हरेककुराको सुधार हुन्छ । साहित्यमा यो अपवाद हुँदैन । झन् साइनोमा त हुनु हुँदैन भन्ने मेरो मनसाय हो । साइनो नै यस्तो बिधा  हो जसले जुनसुकै तह तप्दा र हैसियत र दुरिलाई नामेट पारेको छ । नयाँ साहित्यको साइनो जोडेको छ ।
साइनो देखिने बस्तु नै होइन । नदेखिएरै यसले आफ्नो महत्व बोकेको छ । बिधागत नामाकरण नै यसको गहिरो पक्ष हो । नेपाली मन मुटुको स्पन्दन बनेर भविष्यमा यसले एउटा स्थान बनाउने छ बिधागत रूपमा । यसका लागि हामी नै सर्जक हामिनै पाठक भएर मात्रै अवस्य हुने छैन । विश्व ब्यापी दायरा त कायम भएकै छ साइनो सर्जकको आवासिय दुरिले तर सुरुचिको दायरा फराकिलो पार्न बाँकी नै छ । यसका लागि सिर्जना नै मुल कुरा हो ।
आगो र आक्रोश ,पानी र सितल, आवेग र संयम , भूगोल र भावना , दुरि र दुश्मनी , चिनारी र चिन्ता ,आत्म र आत्मियता, आत्मसात र आत्मघात , दृश्य र दृस्ठिकोण को बृत्तमा साइनो आउँदै गर्दा साइनो प्रतिको लगाव र मायाले यतिसम्म लेख्न घचघच्यायो । साइनो लेखनमा जुट्नुहुने सबैमा नमन गर्दै बिदिएँ ।अस्तु ।

चर्चामा

सम्बन्धित समाचार