काठमाडाैं, १२ मंसिर । ललितपुरको लेले, नल्लुखोला, देवीचौरका सामुदायिक वन, पाखाभरि केही दिनदेखि अवैधरूपमा उत्खनन गर्ने क्रम बढ्दो छ। वन र पाखाभरि ढुंगा उत्खनन गर्न भारी उपकरण स्काभेटरको प्रयोग दिन प्रतिदिन बढिरहेको हो।
जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गरेको भोलिपल्टै वनभरि स्काभेटर चढ्न थालेको स्थानीय बताउँछन्। नल्लुखोलामा मात्रै ३५ भन्दा बढी स्काभेटरले वनपाखामा ढुंगा उत्खनन गरिरहेका छन्।
तस्वीर : नेपाल समाचारत्र
गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित जिल्लास्तरीय सुरक्षा प्रमुखलगायतको टोलीले लेले, नल्लुखोला र देवीचौरमा सञ्चालित ढुंगाखानीको अनुगमन गरेको थियो।
अनुगमनसँगै गोदावरी नगरपालिकाको एक पत्रको आधारमा वनको दोहन हुने क्रम बढ्दो रहेको स्थानीय बताउँछन्। ‘जहाँ त्यहीं वन र सार्वजनिक जग्गा देखिन्छ। यस्तो अवस्थामा खानी सञ्चालनका लागि नगरले कसरी भन्न सक्छ होला। अचम्मै लागिरहेको छ।’ –नल्लु खोलाका एक स्थानीयले बताए।
अनुगमनको केही दिनपछि नगरप्रमुख महर्जनले एक व्यवसायीको ढुंगाखानी सञ्चालनमा सहयोग गरिदिन जिल्ला वन कार्यालयलाई सम्बोधन गरेर पत्र पठाउनुभएको थियो। उक्त पत्र देखाउँदै अन्यले पनि वनमा स्काभेटरको प्रयोग गरी ढुंगा उत्खनन कार्य गरिरहेको स्थानीय बताउँछन्। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।