काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको बताएका छन्। उनले हत्या प्रकरणमा भेटिएका प्रमाण र सूत्रमा गम्भीर अनुसन्धान भइरहेको बताएका हुन्।
राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा नयाँ ढंगबाट अनुसन्धान थालिएको बताए।
‘अपराध अनुसन्धान गर्ने रणनीति धेरै हुन्छन्, निर्मलाका सन्दर्भमा धेरै टिमले अनुसन्धान गर्यो तर, सफल हुन सकेन’, उनले भने, ‘यहाँ कुन रणनीतिले अनुसन्धान भयो भन्ने कुरा आयो। अनुसन्धानका आफ्नै नियम हुन्छन्। त्यहीअनुसार हामी अनुसन्धान गरिरहेका छौँ। अब नयाँ ढंगबाट अनुसन्धान गर्छौँ।’
पन्तको हत्यामा दिलिप सिंह विष्टलाई अझै पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको मन्त्री थापाले स्पष्ट परे। ‘अनुसन्धानका क्रममा दिलिप सिंह विष्टसँगै सयौँको संख्यामा अनुसन्धानको घेरामा ल्याएका छौँ, मन्त्री थापाले भने, ‘धेरै कुरा मिल्छ। तर, डीएनए म्याच नै हुँदैन। अब नयाँ सूत्र र तथ्यले अनुसन्धान अघि बढाएका छौँ।’ उनले यो अनुसन्धान छिट्टै निष्कर्षमा पुग्ने बताए। ‘अनुसन्धानमा कुनै कसर बाँकी रहँदैन’, उनले भने, ‘लापरवाही गर्ने कसैलाई मन्त्रालयले छाड्दैन। छिट्टै नतिजामा पुग्छौँ।’
देशमा शान्ति सुरक्षा तथा अमनचयन कायमा गर्न सरकार क्रियाशील रहेको बताए। मन्त्री थापाले काम गर्न नसक्ने प्रहरीमाथि निगरानी बढाइरहेको समेत बताए। ‘हामीले कमजोर कार्यक्षमता भएका प्रहरीलाई निगरानीमा राखेका छौँ। काम गर्नेको मनोबल उच्च पार्दै लगिएको छ’, मन्त्री थापाले भने।