प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको बताएका छन् । ‘हरेक दिन नयाँ–नयाँ कामको थालनी भइरहेको छ, सरकार देशलाई संमृद्धिको मार्गमा डो¥याउदैछ,’ उनले भने । प्रधानमन्त्री ओलीले मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र संमृद्धिको उत्सव मनाउँदै गर्दा अझैपनि राजतन्त्र चाहने मुर्खहरु छन् भन्दै हँसाए ।
भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को उद्घाटन गर्दै ओलीले युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न कार्यक्रमले सहयोग पु¥याउने बताए । ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको बताए ।
मुलुकमा सरकार विरोधी केही तत्वहरु सक्रिय भएको र क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्नेहरुलाई सफल हुन नदिने बताए । ओलीले सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गरे । उनले कार्यक्रमसँग आवद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गरे ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए । उनले चालु आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सन्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सन्चालनकालागि बजेटको व्यवस्था गरेको बताए । ‘कार्यक्रमले श्रमप्रति सम्मान गर्छ, गरिबी, अभाव र बेरोजगारीको अन्त्य गर्छ,’ उनले भने ।
भक्तपुरका चार वटै नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रममा बोल्दै सांसद महेश बस्नेतले कार्यक्रमबाट भक्तुपुरका करिब ७ सय बेरोजगार युवालाई रोजगारी मिलेको बताए ।