सबथोक पाएर पनि केही नपाए जस्तो गर्छ
जिन्दगीले घरि घरि चित्त दुखाए जस्तो गर्छ
हावाका हातहरू हरियो कपाल सुम्सुम्याई दिन्छन्
मोडमा टक्क उभिएर पीपल निदाए जस्तो गर्छ
चाहेको भए सिंगै नदी पिउन सक्थ्यो बगरले
अरूको तिर्खा सम्झेर ओठ भिजाए जस्तो गर्छ
एकपल्ट आफ्नो मनलाई अक्षरमा उतारी हेर त
आँखा खोले जस्तो गर्छ औंला चलाए जस्तो गर्छ
गजलको गला त उहिल्यैदेखि थिचिएको छ यहाँ
गजलकार भने ठूलो स्वरले चिच्याए जस्तो गर्छ
०००
गन्तव्य भन्नु आखिर यौटा धोका रहेछ
अन्तिम ढोका पछि पनि अर्को ढोका रहेछ
किस्सा आँधीलाई पछार्ने उसकै नाममा थियो
अन्ततः जोसँग हार्यो हावाको झोंका रहेछ
जिन्दगीभर ताकिरहेँ तीर जसको छातीमा
छोएर हेरेँ मायाले पानीको फोका रहेछ
दिनभर टुक्रेर साँझ आफैंलाई बटुल्दा बुझिन्छ
यौटा मान्छे वास्तवमा कतिवटा रहेछ।
निरज भट्राई